सेनापतिहरुको कस्तो हुँदैछ स्वास्थ्य

सेनापतिहरुको कस्तो हुँदैछ स्वास्थ्य

नेपाली सेनाका होनहार प्रशिक्षक पाइलट सुवर्ण बिष्ट अकस्मात बितेपछि बिरामी प्रधानसेनापतिहरूको स्वास्थ्यबारे पनि चिन्ता व्यक्त हुन थालेको छ । नेपाली सेना दिवसकै दिन भूपू महासेनानी (कर्णेल) सुवर्ण विष्टको हृदयाघातको कारण निधन भएको थियो । केही दिनदेखि भाइरल ज्वरोले सताएका उनलाई जण्डिस (कमलपित्त) ले समेत ग्रसित तुल्याएको बताइन्छ । उनी शरीरमा हल्का असहजताको शंका लागेपछि आफैँ गाडी हाँकेर घर नजिकै ह्याम्स अस्पताल पुगेका थिए । अस्पताल गएको २ घण्टाभित्र उनको देहावसान भयो । बिष्टलाई ‘डेडिकेटेड सिपाही’को रुपमा सबैले सम्मान र स्मरण गरेका छन् । २९ बेसिकका उनी मिलनसार र भद्रका साथै सुदूरपश्चिम जिल्लावासीका लागि सहयोगी र मनकारी भनी चिनिएका थिए । 

यसबीच पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवाल, छत्रमानसिंह गुरुङलगायतको स्वास्थ्यमा देखिएको समस्याबारे चासो र चिन्ता व्यक्त गरिएको छ । रुक्माङ्गत कटुवालको सैनिक अस्पताल छाउनीमा हप्ताको ३ पटक डायलसिस हुने गरेको छ । एउटै मात्र मिर्गाैलाले काम गरिरहेको र उच्च रक्तचापलगायत अन्य विभिन्न रोगले पनि च्यापेको कारण प्रत्यारोपण गर्न पनि सम्भव नभएको स्रोतले जनाएको छ । किड्नी प्रत्यारोपण गर्ने प्रयासस्वरुप थाइल्याण्डको अस्पतालमा समेत पुगेका थिए । तर, चिकित्सकले आइपर्ने खतराका कारण दाता उपलब्ध हुँदा पनि मिर्गाैला फेर्न सकेनन् । तापनि, दृढ इच्छाशक्तिकै कारण अझै उत्साहित रहन सम्भव भएको नजिकबाट बुझ्नेहरूले बताएका छन् ।

अर्का पूर्वप्रधानसेनापति छत्रमान गुरुङलाई चाहिँ पार्किन्सन रोगले सताएको छ । उनी यो रोगको उपचार गर्न दुई हप्ताअगाडि बैंकक गएका थिए । मुखबाट खाना निल्न नसक्ने भएकाले पेटमा प्वाल पारेर खुवाउने गरिएको छ । यसपछि भने स्वास्थ्यमा सुधार देखिएको बताइन्छ । शारीरिक रुपमा ठीकै देखिए पनि उठेर हिँडडुल गर्न सक्ने अवस्था भने छैन । गुरुङ तेक्वान्दोका ब्ल्याकबेल्ट पनि हुन् । विश्वप्रसिद्ध मुक्केवाज मोहम्मद अली पनि यो रोगबाटै उमेर ढल्केपछि ग्रसित छन् । 

अवकाशप्राप्त तीनतारे जर्नेल बालानन्द शर्माकी जीवनसंगिनी प्यारालाइसिस रोगबाट निदान पाउन नियमित उपचार गराइरहेकी छन् । यसैगरी, पूर्वप्रधानसेनापति गौरवसमशेर जबरा रोगले साताए पनि हिँडडुल गर्दै छन् । जबरा बेला–बेला फलोअप भन्दै भारततिर जाने गरेका छन् । केही समयअघि प्रधानसेनापति प्रभुराम शर्माको मिर्गाैलामा पत्थरी देखिएको र उनलाई प्याराथाइराइड भएको थियो । भारतको मेदान्त अस्पतालमा सर्जरी तथा उपचार गरेपछि अहिले रोगमुक्त भएका छन् । 

छाउनी अस्पतालमा रुक्माङगत कटवाल, छत्रमान सिंह गुरुङलगायत हाइ प्रोफाइल बिरामीले सेवा लिएपछि अस्पतालको शाखमा सकारात्मक प्रभाव परेको बताइन्छ । त्यहाँ नियमित रुपमा प्रतिदिन २ हजार ५ सयदेखि ३ हजार बिरामीले सेवा लिने गरेका छन् भने दैनिक ४ सय ९० जना बिरामी बेडको क्षमता भएको अस्पतालमा दैनिक ५० देखि ७५ जनासम्म नयाँ भर्ना हुने गरेका छन् । औषधि लिन २–३ घण्टा पर्खनुपर्ने अवस्था अन्त्य भएको छ । १५–२० मीनेटभित्रै औषधि वितरण गर्ने प्रभावकारी प्रणाली अपनाइएको सेवाग्राहीले बताएका छन् ।

पहिला निःशुल्क औषधि लिन ३ दिनको समय खर्चिएर बाहिरबाट सेवाग्राही आउँथे भने यो प्रणाली लागू भएपछि एक दिनमै फर्किने अवस्था बनेको छ । त्यसैगरी, बिहानै ८ बजेदेखि ओपिडी सेवा शुरु गरिएको छ भने सरसफाइदेखि प्रयोगशालालगायत अन्य क्षेत्रमा सुधारको अनुभूति गरिएको बताइन्छ । अस्पतालमा नेपाल सरकारको स्वास्थ्य नीति र सैनिक कल्याणकारी कोषको रकमको ब्याजबाट प्राप्त सहयोगका सबै औषधि निःशुल्क वितरण हुँदै आएको छ । नेपाली सेना शान्ति मिसनमा जान थालेपछि गुणसमशेर जबराले कोष स्थापना गरेका थिए । त्यतिञ्जेलसम्म तल्लो तहका सैनिकले नेपालीमा र उच्च तहका अधिकृतले डलरमा तलब थाप्ने गर्थे । अहिले सैनिक कल्याणकारी कोषमा करिब ८० अर्ब रुपैयाँ रहेको बताइन्छ । करिब १० लाख नेपालीले उक्त अस्पतालबाट यो कोषबाट लाभान्वित भएका छन् । 

यसैगरी, सैनिक अस्पतालबाट रक्षा मन्त्रालयको जिम्मेवारी पाएका राजनीतिक नेताले पनि स्वास्थ्य लाभ गरेका छन् । त्यहाँ रक्षामन्त्री हरि उप्रेतीले पित्तथैलीमा भएको पत्थरीको सर्जरी र पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रोस्टेटको शल्यक्रिया गराएका थिए ।
 

टिप्पणीहरू