सिर्फ १ मतको खेल हो सरकार

सिर्फ १ मतको खेल हो सरकार
सुन्नुहोस्

अदालतको आडमा तीन चिरा बन्न पुगेको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का घटकहरूको चरम शत्रुता न्यूनीकरण भएसँगै अहिले वाम एकताको छलफल शुरु भएको छ । तर, यसमा पनि ‘विगतकै भूल’ दोहोरिने हो कि भनेर एक अर्कामाथि शंकै शंका ब्याप्त छ ।

काभ्रेका प्रतिनिधिसभा सदस्य एवं एमाले पोलिट्ब्युरो सदस्य पूर्वमन्त्री गोकुल बाँस्कोटाले लेखेका छन्–‘गाउँ गाउँ पुग्दा विगतमा तातो दूधले मुख पोलेकाले यसपटक मोही पाउँदा पनि बिस्तारै बिस्तारै डराएर पिउनुपर्ने अवस्था रहेको कार्यकर्ताले सुनाउन थालेका छन् ।’

शंकै शंकाबीच चरम शत्रुता बोकेर हिँडेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीलाई साक्षी राखेर गरेको कुराकानीको सञ्चार तल्लो तहसम्म छ । तर, माधवमाथि ओली र प्रचण्डले पटक पटक धोका दिएको भन्दै समाजवादी विक्षिप्त जस्तै छ । उसका नेताहरूले भन्ने गरेका छन्, ‘इमान्दार व्यक्तित्वका माधवमाथि भइरहेका अन्यायको बदला धोकाधडी नै हो कि भन्ने लाग्न थालेको छ र त्यो हामीलाई पनि आउँछ ।’ समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले अहिले यही लाइन बोकेर हिँडिरहेका छन् । 

जे–जस्तो आशंका र षड्यन्त्र भए पनि अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका घटकहरूले एकै ठाउँ उभिने अवसर पाएका छन् । सरकारमा भएको सहकार्यलाई वाम एकतामा लैजान कति दिन लाग्ला ? त्यो त हेर्न बाँकी छ । तर, राजनीतिको अन्तिम गन्तव्य नै सत्ता हो भन्ने बुझेका वामपन्थीसँगै अन्य दल मिलेर ७ वटा प्रदेशकै सरकारमा चेन्जफेन्ज ल्याउन खोजिएको छ । 

सरकारमा महत्वपूर्ण हिस्सा बोकेको घण्टी चुनाव चिह्नवाला राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेशमा सांसदहरू छैनन् । त्यसो हुँदा प्रदेशका सरकारहरू बनाउन गाह्रो परिरहेको छ । सबैभन्दा गाह्रो त बागमती प्रदेश सरकारमा देखिएको छ । सरकार बनाउनका लागि माओवादी, एमाले र समाजवादी मिल्दासमेत १ मत पुग्दैन । राप्रपा सरकारमा नजाने भएपछि एकमतका लागि हाम्रो नेपाली पार्टीसँग यी वामपन्थीहरूले सहयोग माग्नुपर्ने देखिन्छ ।

लौरो चुनाव चिह्न रहेको सोसँग २ जना सांसद छन् । लौरोका सांसदहरूसमेत समेटेर परिचालन गर्दा बल्ल गठबन्धनसँग बहुमत पुग्छ । एमालेको २७, माओवादीको २१, समाजवादीको ७ जना सांसद जोड्दा कूल ५५ हुन्छ । ११० सदस्यीय संसदमा बहुमत पुर्‍याउन ५६ सांसद चाहिन्छ । लौरोको समर्थन प्राप्त भएमा ५७ जना मिलेर सरकार बनाउन सकिने सहज अनुमान वामपन्थीले गरेका छन् । ‘हाम्रो नेपाली पार्टीलाई सरकारमा ल्याउन सबैले प्रयत्न गरेका छन्, उनीहरू आउँछन् भन्ने पनि अपेक्षा हो’, नेकपा एकीकृत समाजवादीका नेता ललित बस्नेतले भने । 

अहिले माओवादी केन्द्रका नेता शालिकराम जम्कटेलको नेतृत्वमा बागमती प्रदेशमा सरकार छ । कांग्रेसका ६ मन्त्रीले राजीनामा दिएका छन् । समाजवादीका दुई मन्त्री बहालमै छन् । अब एमाले र हाम्रो नेपाली पार्टीसमेत सहभागी भई मन्त्रालय भागबण्डा र हेरफेर गरिनेछ । यसपटक पनि माओवादीकै नेतृत्वमा प्रदेश सरकार रहनेगरी माओवादीले गृहकार्य गरिरहेको छ ।

गठबन्धनमा एमाले ठूलो दल भएकाले मुख्यमन्त्री पाउनुपर्ने मागसहित छुट्टै गृहकार्यमा छ । दुबै दलबीच कुरा नमिल्दा यसअघि आन्तरिक मामिला तथा कानून मन्त्री बनिसकेका कृष्ण खनाल मुख्यमन्त्री बन्न तयार छन् । यद्यपि, यी सबै विषय केन्द्रले निर्धारण गर्ने हुँदा केन्द्रीय निर्देशन पर्खेर दलहरू बसिरहेका छन् ।

हाम्रो नेपाली पार्टीको लौरो साथ छोड्ने र कांग्रेस, राप्रपाले अर्काे गठबन्धन बनाउने हो भने वामपन्थीहरू हेरेको हेर्‍यै  हुने अवस्था पनि छ । संसदमा कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, समाजवादीको ७, नेमकिपाको ३, हाम्रो नेपालीको २ जना सांसद छन् । 

टिप्पणीहरू