उपराष्ट्रपतिपुत्रलाई पक्रेको भए...
घटना ठूलो, अनुसन्धानचाहिँ काँचो, अर्थात् अपुरो ! यसरी सुन तस्करीमा संलग्न थुप्रै प्रतिवादी चोख्खिएका छन् ।
प्रहरीले बयान लिइनुपर्ने र कागज गराइनुपर्ने मान्छेहरू खोज्दा राजनीतिक नेतृत्वले ती मान्छेलाई एक शव्द केही नसोध्न र नखोज्न दबाब दिएपछि त्यस्तो भएको हो । नत्र, अहिले चर्चामा आएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) का छोराहरू जितेन्द्र, दिपेशसहित बिद ल्याबका मालिक तथा माओवादी चार जना मन्त्रीका पिए भीमकान्त भण्डारी, नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदाका अध्यागमन प्रमुख झलकराम अधिकारीहरू जोगिने थिएनन् । प्रतिवादी बनाउनका लागि आवश्यक कानुनी र घटनाका सन्दर्भ (अंग) पुगेर पनि चोख्याइएका छन् । र, उनीहरूको कसुरको स्तर अहिले थुनामा रहेका चिनियाँ मूलका दावा छिरिङजत्तिकै रहेको प्रहरीहरूको ठहर छ ।
अनुसन्धानकर्मीहरू भन्छन्, ‘६१ केजी सुन प्रकरणमा दावाको विशेष भूमिका देखिन्न ।’ उनी जोडिएको प्रसंग हो, ९ केजी इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाएर ल्याएको सुनको मामिला । विमानस्थलमा सुटकेश र पासपोर्ट रोकेको दिन त्यसको फोटो चिनियाँ तस्कर वाङ दावाजिनले खिचेका थिए । त्यो कुरा माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुलसम्म पुग्यो । उनको प्रयासले सुन पास हुन नसकेपछि तस्करको समूह दावाको सम्पर्कमा गयो । र, दुईवटा सुटकेशको फोटो उनलाई पठाइयो । त्यही आधारमा जोडेर सुन प्रकरणमा सोलोडोलो ढंगले मुछिएको छ ।
उनैसँग जोडिने जीवन चलाउने नामक व्यक्ति अहिलेसम्म फरार छन् । उनको सम्पर्क दावासँग देखिन्छ । दावाले ‘मसँग सुन ल्याउने चाइनिज पार्टी छ, मिलाउनुपर्यो जीवन दाइ’ भनी एसएमएस लेखेका छन् । जीवनले ‘ओके’ भनेका छन् । अहिले गृहमन्त्री रवि लामिछानेलाई जीवनको यति खोजी छ कि प्रहरीलाई सारा काम छोडेर भए पनि तिनलाई ल्याउनु भन्ने आदेश दिएका छन् । उनलाई अन्तिममा तीव्र दबाबका बीच मिसिलमा नाम पारेर फरार देखाइएको हो । भीमकान्त, दिपेश, जितेन्द्र, झलकरामहरूलाई पनि त्यसरी नै कागज गरेर छोडियो । तर, यी सबै उक्त घटनामा जोडिँदा पासाङ, वर्षमान, नारायणकाजीसम्मका पात्र अनुसन्धानको दायरामा आउँछन् । झलकरामलाई त शुद्ध नारायणकाजीकै दबाबमा कागज नगरी छोडिएको हो । यस्तै हो, नक्कली भुटानी शरणार्थी प्रकरणमा मञ्जु खाँणदेखि आरजु राणासम्मको संलग्नता । राजनीतिक दबाबमा अनुसन्धान उनीहरूतर्फ लैजान दिइएन ।
जुटेका प्रमाणअनुसार चिनियाँ नागरिकलाई एउटा नागरिकता बनाएबापत दावामार्फत १० लाख रूपैयाँसम्म असुलिएको छ । उनको काम यस्तै गरेर पैसा कमाउने हो । जस्तो कि, उनले चलाएको ठमेलस्थित होटल भियनामा कोही चाइनिज देख्यो भने उनी पैसा असुल्न अनेकथोक गर्थे । एक रातका लागि केटी मिलाएर चाइनिजसँग ५० हजार रूपैयाँ लिने र केटीलाई १० हजार दिएर ४० हजार आफूले राख्ने उनको पेशाजस्तै हो । वाङ दावा जिन नेपालको विमानस्थलबाट हिँडिसकेका छन् । शंकास्पद मान्छेलाई देशबाहिर जान दिनुअघि उनको राहदानी राख्नुपर्नेमा उल्टै दिएर पठाइएको छ । झलकराम अध्यागमनमा हुँदा होटल भियना उनको अफिसजत्तिकै थियो । दावा जिन र झलकरामबीच वीच्याटमा गरिएको कुराकानीलाई प्रहरीले प्रमाणस्वरूप संकलन गरेको छ ।
पहिले पूर्वउपराष्ट्रपतिका छोराहरूको नाम आएपछि प्रहरीले सोधपुछ गर्न बोलायो । त्यसमध्ये दिपेश गए । उनले पुराना मोबाइल सेटहरू लुकाए । एउटा टुकटुके मोबाइल बोकेर जाँदा त्यसबाट संकलन गरिनुपर्ने प्रमाणहरू फेला परेनन् । घटना तात्तातो हुँदैमा गरिनुपर्ने अनुसन्धान मिडियामा समाचार आएपछि गरिनुको घाटा हो, अभियुक्त मुक्त हुनु ।
(साभार जनआस्था साप्तहिक बाट)
टिप्पणीहरू