सत्ता पालैपालो प्रचण्ड, माधव र ओलीले चलाउने अर्को सहमति
शेरबहादुर देउवाले ‘हुँदैन यार हुँदैन, म त्यस्तो कहाँ गर्छु’ भन्दै प्रस्तावलाई ठाडै अस्वीकार गर्नुभयो । एकचोटि–दुईचोटि हैन, पटक पटक त्यस्तो भनेपछि केपी ओली थाक्नुभयो । र, अर्को उपाय निकाल्नतिर जुट्नुभयो ।
त्यो उपायअनुसार, प्रचण्ड र ओलीले २–२ वर्ष प्रधानमन्त्री चलाउन सम्झौता भैसकेको पनि हो तर अब बीचको सवा १ वर्ष माधव नेपाल काँग्रेससँगको पूर्व लिखतअनुसार नै सत्तारुढ हुने बाचाकबोल भएको छ ।
पुरानो सत्तारुढ गठबन्धनमा गत साता आएको संकट र नयाँ गठबन्धन निर्माण हुनुपूर्वको दृश्य हो यो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत साता एकाएक गठबन्धन टुटाउने तहको भूमिका खेलेपछि हतप्रभ अवस्थामा आफ्ना सहकर्मीसँग कुरा गर्ने क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले उक्त कुराको खुलासा गर्नुभएको हो । स्वाभाविक थियो, ओलीलाई गठबन्धन भत्काएर राजनीतिको केन्द्रमा आफू हावी हुने चाहना रहनु ।
किनभने, ०८४ को चुनावसम्म पुग्दा उहाँको उमेर हुने, ७८ वर्षको । त्यसअघि नै एकचोटि प्रधानमन्त्री बन्नुपर्ने, भारतसँग बिग्रँदो सम्बन्धमा सुधार ल्याउनुपर्ने, विभाजित पार्टी, कार्यकर्ताका भत्किएका मन जोड्नुपर्नेसहितका निजी कार्यभार उहाँसामु हुने नै भयो । त्यसैले चार–पाँच महिनापहिल्यै संसदको बाँकी अवधीभित्र आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने प्रस्तावसहित शुरुमा देउवासँग कुरा गर्नुभयो ।
यो कुराको खुलासा अहिले बल्ल देउवाले गर्नुभयो, आफ्नो ‘कोर टिम’ सँग । बहुदलीय राजनीतिमा सबभन्दा ठूलो र दोस्रो हैसियतको दलबीच सत्तासहकार्य गर्ने कुरा आफैंमा नैतिक नहुने, त्यसमाथि जुन किसिमले प्रचण्डसँगको सहकार्य जारी छ, त्यसमा कुनै पनि समस्या नआएको बेला देउवाले ओलीको प्रस्ताव स्वीकार गर्नुभएन । र, जवाफ दिनुभयो, ‘म कसैलाई धोका दिएर काम गर्ने मान्छे होइन ।’ तर, समय कति निष्ठुर भएर आयो भने, आफूले दिन्न भनेको धोका अरुबाट खानुपरेको छ । त्यसैले हतप्रभ हुँदै सहकर्मीसँग पेश हुनुभएको थियो ।
कांग्रेसको देउवा खेमामा चलेको चर्चाअनुसार, कुनै देखावटी वा निश्चित व्यक्तिहरूको कारणले मात्रै यो सत्ता गठबन्धन भत्किएको होइन । एउटा मन्त्री वा सानातिना कुरामा मतभेद भएर गठबन्धन नै बदल्ने कदम चालिएको होइन भन्नेमा उनीहरू विश्वस्त छन् । तर, खास कारण के हो त ? अहिलेसम्म यकिन गर्न सकेका छैनन् ।
एउटा मन्त्रीसँग कुरा नमिलेको थियो भने प्रधानमन्त्रीय पद्दतीमा उसलाई कुनै पनि बेला बर्खास्त गर्न सकिन्थ्यो । गठबन्धन फेर्नलाई निहुँ नै खोज्नुपरे मन्त्री निकालेर पनि बाँकी कुरा गर्न सकिन्थ्यो । अर्को कोणबाट पनि चर्चा चलेको छ, १० महिनापछि सरकार छोड्नुपर्ने थियो । नछोड्नका लागि वा अलिक बढी समय टिक्नका लागि पो हो कि ? तर, यी सतही कारण नभएर भित्रभित्र ठूलो कारण, दबाब वा प्रभावमा यस्तो भएको उनीहरूको निश्कर्ष छ ।
विभिन्न व्यवहारमा केही नमिलेजस्तो भान परेर तत्कालिन रक्षामन्त्री तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले दुई दिनअघि प्रचण्डसँग सोधेका थिए, ‘तपाईंलाई केही अप्ठेरो महसूस भएको, एमालेसँग मिलेर जान मन लागेको पो हो कि ?’ प्रचण्डले ‘त्यस्तो कुरा सोचेकै छैन, हुनै सक्दैन’ भन्ने जवाफ दिनुभयो । तर, भित्रभित्रै वर्षमान पुन र शंकर पोखरेलहरूले साउती मार्न थालिसकेका रहेछन् ।
जबकि, एक महिनाअघि राष्ट्रियसभाको निर्वाचनमा कृष्ण सिटौलालाई उम्मेदवार बनाउनुपर्छ भनेर कुरा ल्याउने पहिलो व्यक्ति स्वयं प्रचण्ड नै हुनुहुन्थ्यो । सदस्यमात्रै हैन, राष्ट्रियसभाको अध्यक्ष नै बनाउनुपर्छ पनि भन्नुभएको हो । तर, एक महिनापछि ९० डिग्री बदलिने के खेलखण्ड आइलाग्यो ? कांग्रेसबृत्त कारणको खोजीमा छ ।
भनिन्छ, ओलीकै हठ, दम्भ र अहंकारले हुँदाखाँदाको दुईतिहाइ नजिकको सरकार ढल्यो । पार्टी फुट्यो । संसदीय मोर्चामा एकपछि अर्को गर्दै क्षति भयो । कहिल्यै नहारिने भनिएका कतिपय स्थानीय तहको नेतृत्व गुम्यो । ०७४ को तुलनामा समानुपातिकतर्फ आठ प्रतिशतले मतको क्षति भयो । हुँदाहुँदा आफ्नो एकल वर्चस्व स्थापित भएको भनिएको आफ्नै पार्टीभित्र आफूपक्षीय र आफूविरोधी गरी दुईखाले धार देखिन थाल्यो ।
र, घर्किंदो उमेर, आगामी भूमिका र जिम्मेवारी सम्झिएर होला, ओली आफैं आफ्नो भूमिकालाई मध्यबिन्दुमा ल्याउन बाध्य हुनुभएको छ । नाम सुन्दा ‘मुख कुल्ला गर्छु’ भन्ने माधव नेपालसँग अहिले दिनैपिच्छेजस्तो कुरा भइरहेको छ । ‘सम्बन्ध सुधारौं, मिलेर, मिलाएर जाऔं’ भन्ने भाषा निस्किन थालेको छ ।
पछिल्लोपटक गएको शनिबार बबरमहलस्थित होटल बसेरामा माधव–केपी भेट भएको भनिन्छ । त्यसदिन माधव त्यहाँ एउटा टोलीसँग भेटौं कि नभेटौं भन्ने द्विविधाका बीच पुग्नुभएको थियो । त्यसरी पुग्दा ओली भेटिनुभयो । लुम्बिनीमा संसारकै सबभन्दा ठूलो बुद्धमूर्ति बनाउने प्रस्तावसहित केही चिनियाँ र मलेसियन नागरिकको एउटा टोलीले उहाँको समय मागेको थियो ।
गत वर्ष दिवंगत उहाँका भाइ सरोज अध्यक्ष थिए । शुरुमा समाजवादी, पछि एमाले भएका विष्णु पन्थी पनि त्यसका हर्ताकर्ता हुन् । उक्त टोलीलाई केही औपचारिक जवाफ दिएर बिदा गरेपछि आफ्नै निकटस्थसँग कुराकानी सकेर घरतिर निस्कन खोज्दा ओली पुग्नुभयो । तर, पार्टी मिलाइहालौँ भन्ने गरी केही कुरा भएन । सम्बन्ध सुधार्ने, विगतका तिक्ततालाई बिर्सिने र राम्रो काम गर्ने भन्नेमात्रै कुरा भइरहेको एक नेताले बताएका छन् ।
वामपन्थीहरूका बीचमा विकसित सहकार्यले अब केपी र माधव दुबै प्रधानमन्त्री बन्ने निश्चित भएको छ । उहाँहरूबीच भएको सहमतिअनुसार, प्रचण्डले प्रधानमन्त्री पद छोडेपछि बाँकी रहेको अवधी माधव र ओली आलोपालो प्रधानमन्त्री हुनुहुने छ । त्यसक्रममा एक वर्षका निम्ति पहिला माधव र बाँकी दुई वर्षका निम्ति ओली प्रधानमन्त्री हुँदै उहाँकै सरकारले ०८४ को चुनाव गराउने भन्ने सहमति छ । यदि, यही सहमतिअनुसार भयो भने वाम एकता, गठबन्धन वा सहकार्यले देशलाई केही फाइदा होला ।
नत्र, फेरि पनि प्रचण्ड वा माधवबाट धोका भएछ भने ओली कांग्रेससँगको गठबन्धनबाट भए पनि प्रधानमन्त्री हुने देखिन्छ । पहिला प्रचण्ड र माधवलाई धोका नदिनका लागि ओलीको कुरा नमानेको कांग्रेस आफैंले उनीहरूबाट धोका पाएपछि ओलीले मिलौं भन्दा नाइँ भन्ने अवस्था नहुने राजनीतिक विश्लेषकहरू बताउँछन् ।
टिप्पणीहरू