जिबीलाई समात्ने कि आफैं आउन दिने ?

जिबीलाई समात्ने कि आफैं आउन दिने ?
सुन्नुहोस्

विभिन्न सहकारीमार्फत अर्बौं रकम अपचलन गर्न उक्साउने साथी गृहमन्त्री, उक्सिने मान्छे अपराधीका रूपमा ‘फरार’ । ‘तिर्छु, हिजो चैत र अब असारसम्म समय चाहियो’ भन्दै आएका फरारलाई अब रविले समाउलान् कि समय देलान् ? हेर्न बाँकी नै छ ।

अहिलेका गृहमन्त्री रवि लामिछानेको सम्पूर्ण योजनाअनुसार जिबी राईलाई अध्यक्षका रूपमा अगाडि सार्दै चलाइएको ग्यालेक्सी फोर के टेलिभिजनका पत्रकार १० महिनादेखि बेतलबी छन् । मंसिर मसान्तदेखि त अफिस नै बन्द छ । मुद्दा श्रम अदालतमा छ । एक मालिक फरार छन्, अर्का मालिक मन्त्री !

अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलमार्फत नेपाल प्रहरीले जिबी राईका विरुद्ध रेडकर्नर नोटिस जारी गरेपछि पनि गृह मन्त्रालयमा जिबीको तर्फबाट एउटा सन्देश निरन्तर आइरहेको छ । यसअघि नारायणकाजी श्रेष्ठ मन्त्री हुँदैदेखि आएको उक्त सन्देश जिबीकै पार्टनर रवि मन्त्री हुँदा त झन् नआउने कुरै भएन । तर, जिबीको सन्देश सुनिन्छ कि प्रहरीको पत्राचार कार्यान्वयन हुन्छ ? प्रतीक्षाको विषय बनेको छ ।

जिबीको सन्देश छ, ‘रोक्का भएको खाता खोलिदिए सबैको हिसाब मिलाउँथें !’ बाहिर १६–१७ अर्बको घोटाला भनी प्रचार गरिए पनि करिव साढे तीन अर्बको तिरन्तारन भएको जिबीका मान्छेहरूको दावी छ । त्यसनिम्ति साढे सात अर्बको धितो सुरक्षित रहेको भनिएको छ । तर, विभिन्न राजनीतिक भूमिकामा रहेका व्यक्तिहरू जिबीका ऋणी छन्, जो उनको मामिला नमिलोस् भन्ने चाहन्छन् । उनीहरूले एकदेखि २–३ करोडसम्म ऋण लिएका छन् । यदि जिबीले तिर्नुपर्ने रकम तिर्छु भनेका आधारमा मौका दिइयो भने स्वयं जिबी त कानुनी झमेलाबाट मुक्त होलान् । तर, त्यसपछिको झमेलामा ती पहुँचदार राजनीतिक व्यक्ति मुछिने कारण मामिलालाई झन्झन् जटिल बनाइएको बताइन्छ । 

त्यसमाथि काठमाडौं महानगरपालिकाले जिबीको सहकारीमा छापा मारेर हिसाब किताब राखिएको हार्डडिस्क लगेको छ । भनिन्छ, त्यहाँको डेटा डिलिट नहोस् भन्ने जिबी चाहन्छन् । यदि उनलाई समातेर ल्याएमा सीधै जेल जाने हो । त्यसो गर्दा बचतकर्ता डुब्ने भए । कतिपय इमान्दार बचनकर्ताले सामान्य जीवनमा आए फिर्ता गथ्र्यो भन्ने आश राखेका छन् । तर, ऋण लिएका पहुँचवालाहरू पैसा पचाउनका निम्ति उनी जति अप्ठेरोमा पर्दै जान्छन्, त्यति नै हौसिरहेका छन् । त्यसैले नयाँबानेश्वरको प्रिमियर कलेजमा पढिरहेका छोरालाई मलेसियाको सोही नामको कलेजमा लगे । आफू कुनै पनि बेला समातिन सक्ने र छोराको बिचल्ली हुने कारण फेरि उनलाई काठमाडौं नै फर्काए । 

रवि अझै पनि जिबीसँग भयभित छन्, ‘कतै आफ्नो पोल खोलिदिने त हैनन् ?’ त्यसैले कतिपय प्रहरी अनुसन्धानकर्मीको शंका छ, रवि गृहमा रहुञ्जेल उनी जोगाइन्छन्, समात्न दिइँदैन । त्यसमाथि सहकारी घोटाला प्रकरणमा ग्यालेक्सी टिभीबारे चर्चा हुनुअघि रवि आफैंले ३०–३२ करोडमा कम्पनी किन्न खोजेका थिए । रविले त्यसो भन्दा जिबीले व्यंग्यात्मक शैलीमा सोधे, ‘लगानी कति करोड भएको थियो, बिर्सिनुभयो ?’ नाम फेरेर भए पनि चलाउन सकिन्छ कि भनेर जिबीसँग मध्यस्थ भूमिका खेल्ने मान्छे रविले अहिले पनि लगाइरहेका छन् ।

तर, त्यही नामको टेलिभिजन चलाउँदा सहकारी प्रकरणकै कारण राम्रा पत्रकार नफर्किने भए । त्यसमाथि असोजमा कुमार रम्तेल पक्राउ परेका छन् । त्यसबेलासम्म रवि आफू पछाडि बसेर लगानी जुटाउनसक्छु भन्नेमा थिए । यो योजना असफल भएपछि युवराज कँडेलहरूलाई अगाडि सारेर नवीन ढुंगानासहितका पत्रकारलाई सीधाकुरा नामक अनलाइन न्युज पोर्टल चलाउन लाए । संसदीय समितिमा रहेर सुनकाण्डका बारेमा जे–जे सूचना संकलन हुन्थ्यो, ती सबै सूचना उक्त अनलाइनलाई दिने गर्थे । चिनियाँ नाागरिकसँग भएका कुराकानी, राजश्व अनुसन्धानका तत्कालिन महानिर्देशक झलकराम शर्मासँगका प्रसंग– यी सबै सूचनाका स्रोत रवि थिए, साधन न्युज पोर्टल थियो । 

अहिले ग्यालेक्सी टिभीमा गीतमात्रै बजिरहेको छ । श्रम अदालतबाट दुईवटा चिठी गइसक्यो । टेलिभिजनको जनशक्ति व्यवस्थापन शाखा (एचआरकी) की हाकिम भूमि खतिवडा श्रेष्ठ नियमित अफिस जान्छिन् । उनी ठगी प्रकरणमा पक्राउ गरेका कुमार रम्तेलतिरकी स्टाफ हुन् । अपरेशन हेर्ने सन्तोष ढकाल, लेखा हेर्ने सञ्जय अधिकारी पनि नियमित काममा छन् । त्यसमध्ये भूमिले गोरखा मिडिया नेटवर्कको नामबाट टिभी नचलेपछि ग्यालेक्सी डिजिटल नामक नयाँ कम्पनी चलाउन प्रयास गरिरहेकी छन् ।

रविले ग्यालेक्सीमा भिœयाएका विपिनकुमार आचार्यहरूले टोखामा लिटिल च्याम्प्स, सारेगमा जस्ता कार्यक्रम तयार पार्ने एक स्टुडियो सञ्चालन गरिरहेका छन् । उनले ग्यालेक्सीकै स्वामीत्वमा रहने ‘डोको’ नामक एप्स बनाए । अहिले रविसँगको मिलेमतोमा त्यसको सम्पूर्ण आम्दानीमा एक्ला हकदार बनेका छन् । पहिला जिबीहरूले यस्ता कुराको ख्याल गरेनन् । अहिले अरुले बसी बसी त्यो आम्दानी खाइरहेका छन् । विपिनको स्टुडियो रविको योजनाअनुसार ग्यालेक्सीकै बजेटबाट तयार भएको हो । त्यहाँका कर्मचारी पनि गोरखा मिडियाकै हुन् । त्यहाँका उत्पादन डिजिटल प्लेटफर्ममा हाल्ने काम भइरहेकै छ । प्लेटफर्ममात्रै हैन, आम्दानी पनि आफ्नो पोल्टामा गयो ।

विपिन पहिला क्रिएटिभ डाइरेक्टर थिए । प्रशान्त अर्याल समाचार प्रमुख भएर जानुअघिसम्म उनले टेलिभिजनबाट प्रशारण हुने समाचारमा समेत आफ्नो हस्तक्षेप चाहन्थे । प्रशान्त गएपछि ०७८ असोज १५ मा टेलिभिजन प्रशारण हुन थाल्यो । विपिनलाई समाचार प्रशारणअघि हेर्न दिने कि नदिने भन्ने कुरामा प्रशान्त र रविको नोकझोँक नै चल्यो । प्रशान्तले न्युज रूपमा कुनै पनि हस्तक्षेप मान्दिनँ भनेपछि रवि हच्किए । तर, विपिनले खोेचे थाप्ने काम जारी राखे । त्यसपछि टक्सन गाडी र साढे १३ लाखको सुविधा छोडेर प्रशान्त ०७९ को दशैंपछि टेलिभिजनबाट अलग भए, लुरुलुरु हिँडेर बाटो लागे । 

अहिले ग्यालेक्सीका पीडित पत्रकारहरू अन्यत्र सेटल भइरहेका छन् । अंगराज तिमल्सिना, राजेन्द्र भट्ट र गोविन्द कुँवर एपि वनमा गए । समाचार वाचिका ब्रेजिना देवकोटा हिमालय टेलिभिजनमा, तुलसी अर्याल न्युज २४ मा, कार्यक्रमतर्फका आशुतोष अर्याल प्राइममा गए । बिहान ‘गुड मर्निङ ग्यालेक्सी’ चलाउने टिम हिमालय टेलिभिजनमा गयो । पत्रकार रामबहादुर रावल टेलिभिजन बन्द हुनुअघि नै नेपाल खबर अनलाइनमा गए ।

यसरी काम गर्ने पत्रकार, प्राविधिक र अन्य कर्मचारीलाई धुलिखेल लगेर रविद्वारा आफ्नोमात्र हैन, बालबच्चाको शिक्षा, स्वास्थ्यसहित कुनै पनि कुराको चिन्ता गर्नुपर्दैन भनिएको संस्था आज टाट पल्टियो । ‘पाँच वर्ष कतै जान्न, दुई वर्षमा लगानी फिर्ता हुन्छ’ भन्ने रविले जिबीलाई सात महिना पनि साथ दिएनन् । ‘पसिनाको मूल्य’ बुझेर बाटो लागे । 

टिप्पणीहरू