मन्त्री क्वार्टरमा भीमकान्त मख्ख

मन्त्री क्वार्टरमा भीमकान्त मख्ख
सुन्नुहोस्

एक्लै ठमठमी हिँड्न नसक्ने, दैनिक आठ किसिमका औषधीको सहारामा बाँचेको जीवनलाई कष्टमाथि कष्ट थपिएको छ । सन्दर्भ कृष्णबहादुर महराको हो, जो अहिले सुन प्रकरणमा पक्राउ परी उपचारका निम्ति नर्भिक अस्पताल भर्ना गरिएका छन् । 

महरा र उनका छोरा राहुलले आफूलाई फलफूल व्यापारी भनी चिनाउने वाङ दावाजिनले होङसी र ह्वासिन सिमेन्ट फ्याक्ट्रीमा कार्यरत साथीहरुका निम्ति ल्याएको विद्युतीय चुरोट भन्सारले अड्काइदियो, तपाईंहरु निकट त्यहाँका हाकिम अरुण पोखरेललाई भनेर छुटाइदिनु प¥यो भनी ढाँट्दै, छल्दै गरेको अनुरोध पत्याएको भरमा पटक पटक फोन गरेका थिए ।

‘होला त’ भन्दै  गरिएको त्यही फोनले आज महरालाई कष्टमाथि कष्ट दिएको हो । यसअघि छोरा राहुल पक्राउ परिसकेका थिए । वकिल लगाएर र धरौटी बुझाएर उनलाई छिटो छुटाउन महरा केही समयअघि दाङ गए । मुद्दा लड्न पैसा चाहिन्छ । उनी पैसाकै खोजीमा दाङ पुगेका थिए । तर, आफैंले गुन लगाएका व्यापारीहरुले समेत पत्याएनन् । त्यसपछि काठमाडौं फर्किए । सरकार फेरियो । नयाँ गृहमन्त्री आए । छोरा छुटाउने चिन्तामा रहेका महरालाई तुरुन्त समात्नु भनी नयाँ गृहमन्त्रीले आदेश दिए । फेरि पनि महरा पैसा खोज्न रोल्पा र दाङतिरै जाने भनी हिँडेका थिए, तर कपिलवस्तुमा समातिए । 

पक्राउ पर्नु ३ दिनअघि पेरिसडाँडास्थित पार्टी मुख्यालयमा देखिएका थिए, हिँड्नै नसक्ने अवस्थामा । उनी कार्यालयबाट निस्किएको देखेर ड्राइभरले वरै गाडी ल्याए । त्यसपछि पिएसओले खुट्टा उचालिदिए, अनि गाडीमा चढे । कुनै बेलाको भरभराउँदो अनुहार त्यसदिन कागती निचोरेजस्तो थियो । कारण हो, भर्खरै ग्ल्याण्ड टिबीको अपरेशन हुनु । टिबीको औषधी खाएपछि शरीर फरक किसिमले घट्दै थियो । औषधीकै कारण युरिक एसिड बढ्यो र हिँड्न गाह्रो भएको थियो । 

विडम्बना, उही काण्ड लागेका नायब सुब्बा भीमकान्त भण्डारी अर्थमन्त्रीको क्वार्टरमा खानपिन गर्दैै थिए, पार्टी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको हातमा भने हत्कडी लगाइँदै थियो । यही काण्डमा आरोपित र माओवादी ४ मन्त्रीका पिए भीमकान्त भण्डारीलाई जनआस्थाले महरा समातिएको दुई दिनअघि, अर्थात् शनिबार पुल्चोकस्थित अर्थ मन्त्री वर्षमान पुनको निवासमा देखेको थियो । उनी ओनसरी घर्तीका निम्ति केही सामान लिएर गएका थिए । मन्त्रीसँग एकछिन गोप्य वार्ता पनि गर्न भ्याए ।

छोरा समातिएपछि घरको कचकचले महरा यसै पनि दिक्दार थिए । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग छोरा र आफूलाई सुनकाण्डमा नफसाइदिन सहयोग मागिरहेका थिए । तर, कुनै सहयोग पाएनन्, बरु छोरा राहुल समातिए । हिजो आफू सत्ता र शक्तिमा हुँदा पार्टी र प्रचण्डलाई सफल बनाउने नै महराहरु हुन् । आज आफू कमजोर हुँदा उनै प्रचण्डले वास्ता गरेनन् । त्यसमाथि छोरा समातिएपछि त बोलचाल पनि कमै थियो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू