मर्चवारमा किन अरु हाकिम बस्दैनन् ?

मर्चवारमा किन अरु हाकिम बस्दैनन् ?
सुन्नुहोस्

रूपन्देही क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने तीन पालिकालाई मर्चवार भन्ने गरिन्छ । उक्त क्षेत्रका कोटहीमाई, समरीमाई र मर्चवारी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरु जान रुचि देखाउँदैनन् । यसर्थ एक जना हाकिमले तीनै वटा पालिका चलाइरहेका छन् । झविलाल भट्टराई नामक ती हाकिमले मर्चवारी र कोटहीमाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गरिरहेका छन् भने समरीमाई गाउँपालिकामा पनि उनकै इशारामा काम हुने गर्छ । सरकारी कर्मचारी काम चोर हुन्छन्, कामै गर्दैनन् भन्ने प्रचलन छ तर झविलाललाई सबैतिर भ्याइनभ्याइ छ ।

समरीमाईको पनि योजना, कार्यक्रम आन्तरिक रूपमा यिनैले हेर्ने गरेका छन् । यद्यपि, समरीमाईमा राकेश चौधरी प्रमुख प्रशासकीय अधिकृत छन् । चौधरीको काम भनेको झविलालको लाइनमा कोसँग कति उठाउने भन्ने मात्रै छ । झविलाल मर्चवारी र कोटहीमाईको हाकिम हुनुपहिले समरीमाईमा थिए । यसरी तीनवटै पालिकामा झविलाल दिनहुँ बुटवलबाट अपडाउन गर्छन् । मर्चवारबाट बुटवल करिब ३५ किमि टाढा छ । तेल खर्चको हिसाब भने कसैले राख्दैन । 

जसले ३० प्रतिशत दिन्छ उसको काम मीनेट भरमै तोक लगाएर, टिप्पणी उठाएर कार्यदेश दिनसमेत भ्याउने गरेका झविलाल स्थानीय सेवाग्राहीको काम गर्नुपरेमा एउटा मान्छे दुई ठाउँम कसरी भ्याउने भन्दै झर्किने गर्छन् । ‘मन लाग्दा आउँछन्, मन नलाग्दा आउँदैनन् । आफूखुशी छ । मन्त्रालयमा कुरा त भइरहेको छ अर्को मान्छे पठाउने भनेर, खै कहिले आउँछन् !’ पालिका पदाधिकारी भन्छन् ।

मर्चवारीको तीनवटै पालिकाका उपाध्यक्ष उनको शैली अत्यन्तै अव्यावहारिक र अपारदर्शी रहेको बताउँछन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै हाकिम खटन–पटन नगर्दा देशका अन्य पालिकामा पनि समस्या बल्झिँदै गएको छ । प्रमुख प्रशासकीय अधिकृत पालिका नजिकै बस्ने, स्थानीय जनताका कामलाई समयमै अगाडि बढाउने गरी खटिनुपर्छ । कानुनतः उनको हस्ताक्षरबिना कुनै काम हुँदैन, कुनै भुक्तानी हुँदैन । यसैले टुरिस्ट हाकिम राखेर पालिकाको कामको प्रगति खोज्नु आकाशको फल आँखा तरी मर भनेझैँ हो । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू