हाय राम, न्याय क्षेत्रमा यस्तो काम !

हाय राम, न्याय क्षेत्रमा यस्तो काम !
सुन्नुहोस्

नेपालको न्याय क्षेत्रमा जसले हान्यो उसले जान्यो भन्ने उखान बेलाबेला चरितार्थ हुने गरेको छ । न्यायाधीश नियुक्तिमा हुने चलखेल र पक्षपातका कारण यस्तो उखानले भाका टिपेको हो ।

वैशाखमा एक र जेठमा एक जना घर गएपछि सर्वोच्च अदालतमा ४ जना न्यायाधीशको पद रिक्त हुनेछ भने रिक्त पदमा कसले बाजी मार्छन् भन्ने अड्कलबाजी गर्न निकै सकस छ । अहिले न्यायपरिषद्का सदस्य रामप्रसाद भण्डारी विदेश गएका छन् ।

उनी चैत १५ गतेयता फर्कने सम्भावना नभएका कारण परिषद्को बैठक बस्न सकेको छैन । मुख्य न्यायाधीशहरूबाट लैजाँदा नृपध्वज निरौला एक नम्बरमा छन् भने २ नम्बरमा लोहितचन्द्र साह छन् । तापनि, यिनै न्यायाधीशहरू सर्वोच्च अदालतको न्यायाधीश हुन्छन् भनेर ठोकुवा गर्न सकिने अवस्था भने छैन । मापदण्ड फेरिने र बेलाबेला विवादित हुने गरेकाले यस्तो भनिएको हो । 

टेकप्रसाद ढुंगाना र महेश शर्मा पौडेल मुख्यन्यायाधीश नै नभई सर्वोच्च अदालतमा पुगेका थिए । केही महिनाअघि उच्च अदालतमा नियुक्त गर्दा जिल्लाबाट १ नम्बरमा रहेका कृपासुर कार्कीले नै बढुवा पाएनन् । न्याय क्षेत्रमा यस्तो मनमौजी मापदण्डको चलन भने विश्वनाथ उपाध्यायकै पालादेखि शुरु भएको थियो ।

०४८ सालमा उपाध्यायले भाइ केदारनाथलाई प्रधानन्यायाधीश बनाउनका लागि छानीछानी बढुवा गरेका थिए । त्यसबेला वरिष्ठ कृष्णजंग रायमाझी थिए । त्यसैगरी वकिलबाट सर्वोच्चमा लगिएका वैद्यनाथ उपाध्यायलाई पनि लाइन मिलाइएको थियो । तर, उनलाई भने मीनबहादुर रायमाझीले पेले ।

०६६ सालमा बैद्यनाथलाई पछि पारेर सुशीला कार्कीलाई रायमाझीले अघि ल्याई साटो फेरेको चर्चा अहिले पनि न्यायालयमा हुने गरेको छ । त्यसबेला प्रकाश वस्तीलाई समेत पेलपाल गरी घर जान बाध्य बनाइएको थियो । खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष हुँदा सर्वोच्चमा पद खाली हुँदाहुँदै मुख्य न्यायाधीश केशरीराज पण्डितलाई तलैबाट घर जान बाध्य पारिएको थियो ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू