हङकङको आइडी र नेपालकाे कागज

हङकङको आइडी र नेपालकाे कागज
सुन्नुहोस्

देशको स्वाभिमान, राष्ट्रियता सबै बिर्सिएर जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ०७४ सालमा कुनै वस्तुको किनबेच गरेजस्तै नागरिकता र राहदानी खरिद–बिक्री भयो । तत्कालीन प्रजिअ शिव सिंखडाले त्यो वातावरण बनाए । अहिले तत्कालीन अधिकृत झपेन्द्रराज खरेल र सुब्बा रामचन्द्र अर्याल पक्राउ परेका छन् । 

गृह मन्त्रालयको छानबिन टोलीले दावा छिरिङ भनिने निमा तामाङको नागरिकता मात्रै अध्ययन ग¥यो । सोही दिन बिक्री भएका २० वटाभन्दा धेरै नागरिकताबारे खोजबिन नै गरेन । अहिले विदेशी ९ सहित नेपाली २ जना नागरिकता काण्डमा पक्राउ परेका छन् । तैपनि, तत्कालीन प्रजिअ सिंखडालाई अनुसन्धानमा तानिएको छैन ।

सोही वर्ष ३ सय ५० वटा नागरिकता खरिद–बिक्री भएको ०७५ सालमा कार्यरत प्रजिअ कृष्ण राउतले बनाएको छानबिन समितिले फेला पारेको थियो । तत्कालीन गृहसचिव प्रेमकुमार राईले उक्त फाइल दराजमा राखेका थिए । उनको सरुवा भएसँगै फाइल पनि गायव भयो । जिल्लामा पनि उक्त प्रतिवेदन हरायो ।

चितवन स्थायी घर भई काठमाडौँमा बसोबास गर्ने राजु गुरुङले प्रहरीसमक्ष सिडियो कार्यालय काभ्रेका कर्मचारीमार्फत नागरिकता र राहदानी ३–४ लाख रूपैयाँमा किनेको बयान दिएका छन् । प्रहरीलाई बयान दिँदा उनले काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकतासमेत साथमै ल्याएका थिए । 

सक्कलीलाई सास्ती

हालकी प्रजिअ रुद्रादेवी शर्माले नागरिकतामा निर्णय गर्न डराउँदा एक सयभन्दा धेरै जिल्लावासी हैरान छन् । कोही आमा मरेका, कोही बाबु मरेका, कोही बेपत्ता भएका, प्रतिलिपि लिन आएका थुप्रै ब्यक्तिलाई नागरिकता सहजै दिइएको छैन । गुनासै गुनासा बोकेर पर्खेका ब्यक्तिहरूसँग कुरा गर्ने फुर्सद पनि छैन शर्मालाई । नागरिकका समस्या फुकाउनुभन्दा अदालतबाट आदेश लिएर आउनु भन्दै फर्काउन थालेको अधिकारकर्मीहरुको पनि गुनासो छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू