टिकट थन्क्याएपछि देशविदेशमा तनाव

टिकट थन्क्याएपछि देशविदेशमा तनाव
सुन्नुहोस्

नेपालीमा एउटा चर्चित उखान छ, ‘छोरा पाउनु कहिले कहिले, भोटो सिउनु अहिले ।’ हुलाक टिकटको हकमा पनि यही भएको छ । हतारहतार मन्त्रीले टिकटमा टाँचा त लगाइन् तर बिक्री वितरणमा कहिले आउने हो ? टुंगो छैन । नेपालमै टिकट छापेर प्रयोगमा ल्याउने भनी तामझामका साथ उद्घाटन त गरियो, कार्यान्वयनमा आउने संकेत भने देखिँदैन । 

फागुन ५ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमै छापिएको ११ अलग–अलग डिजाइनको टिकटमा टाँचा लगाएर उद्घाटन गरिन् । कार्यक्रममा पूर्वमन्त्रीद्वय रामकुमारी झाँक्री, दिनानाथ शर्मालगायत पनि पुगेका थिए । 

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडसँगको सहकार्यमा हुलाक सेवा विभागले वि.सं.२०१६ सालपछि पहिलोपटक मुलुकमै टिकट छापेको हो । दशकौंपछि मुलुकमै टिकट छापिँदा कलेक्टरहरू निकै उत्साहित भएका थिए । तर, उनीहरूको उत्साह अहिले हतोत्साहमा परिणत भएको छ । विगतमा नेपालले भारत, बंगलादेश र लातभियासँग टिकट खरिद गर्दै आएको थियो । 

विभागका अनुसार हाललाई एक करोडभन्दा बढी थान टिकट छापिएको छ । एउटा टिकट छपाइ शुल्क ९५ पैसा र कूल एक करोड २५ लाख रूपैयाँ लागत लागेको छ । टिकटमा माओवादी शहिद रामवृक्ष यादव, वाम आन्दोलनकी नेतृ साहना प्रधान, दङ्गाली साहित्यिक व्यक्तित्व तथा राजनीतिज्ञ नेत्रलाल पौडेल ‘अभागी’, प्रजातान्त्रिक आन्दोलनका योद्दा कामी बुढा, नई प्रकाशनको रजत महोत्सव, त्रिपुरासुन्दरी देवी मन्दिर, औषधीय गुण भएका मरौठीसहित पाँच प्रकारका जडीबुटी अंकित छन् । 

टाँचा लगाएको महिना दिन हुन लागिसक्दासमेत बिक्रीमा नल्याइएपछि कलेक्टरले असन्तुष्टि जनाएका छन् । पहिले–पहिले टाँचा लगाउनेबित्तिकै बिक्री वितरणमा आउँथ्यो । कलेक्टरले नयाँ टिकट बजारमा आउनेबित्तिकै आफ्नो ‘कलेक्सन’ मा राखिहाल्थे । कसले पहिले टिकट हात पार्ने भनेर हानथाप नै चल्थ्यो । विडम्बनापूर्ण कुरा के छ भने विभागका कर्मचारीलाई टिकट कसरी वितरण गर्ने भन्ने जानकारी नै छैन । 

टिकट छापिएपछि विदेशमा बसेर ‘कलेक्सन’ गर्नेहरूलाई पनि पठाउनुपर्ने हुन्छ । ती नेपालीले कहिले कुन टिकट कार्यान्वयनमा थियो ? भनी संकलन गर्ने गरेका छन् । तर, टिकट नै बिक्री–वितरणमा नल्याएपछि पर्खाइमा बसेकाहरू रुष्ट बनेका छन् । विभागले समयमै टिकट बिक्री नगर्दा यसअघि पनि ठूलो परिमाणमा थन्किएर काम नलाग्ने नै भएको थियो । 

यता, सूचना मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले टिकटको बिक्री शुरु भए/नभएको जानकारी नभएको बताए । पहिलेको स्टक बाँकी रहेकाले पनि नयाँको बिक्री नथालिएको हुन सक्ने उनको भनाइ छ । उनले भने, ‘अहिलेसम्म त टिकट बिक्रीमा आउनुपर्ने हो । पुरानै स्टक बाँकी रहेकाले बिक्री नगरिएको पनि हुन सक्छ । मलाई यसबारे खासै जानकारी छैन ।’

विभागका महानिर्देशक प्रदीपराज अधिकारीले भने आठ प्रकारको टिकट बिक्री वितरणमा आइसकेको दाबी गरे । अन्य तीन प्रकारको टिकट पनि बजारमा पठाउने तयारी भइरहेको जानकारी दिए । त्यस्तै, उनले टिकट छपाइको कार्यलाई निरन्तरता दिने बताए । सकेसम्म जनक शिक्षासँग र त्यहाँबाट नभएमा सुरक्षण मुद्रण केन्द्रसँग समन्वय गरेर टिकट छापिने उनको भनाइ छ । 

सरकारी स्तरबाट उत्पादन गर्दा अलिक लागत पनि घट्ने, टेण्डरको झण्झट पनि हट्ने, यहींको मेशिन र जनशक्तिको प्रयोग हुन्छ । आउने आर्थिक वर्षको साउनमा पुनः टिकट छाप्ने तयारीमा छौं’, उनले भने ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू