बाबुरामको विभाजन

बाबुरामको विभाजन

डा. बाबुराम भट्टराईको पार्टी फेरि फुटेको छ । पार्टीको एउटा हिस्सा फुटेर माओवादीमा गएको खबर भर्खरै सार्वजनिक भयो । तैपनि, केही छैन । डा. बाबुरामको पार्टीमा आएको यो फुट सम्भवतः अन्तिम हुनुपर्छ । यसपछि अब अर्को फुट हुन्न होला । किनभने फुटेर जानलाई पनि केही कार्यकर्ता त हुनुपर्छ । फुटको नियमै यही हो । अब कार्यकर्तै बाँकी छैन भने को फुट्ने ?

बाबुरामको पार्टीले धेरै फुट व्यहोरिसक्यो । उहाँको पार्टीमा सबैभन्दा बढी घटित हुने राजनीतिक गतिविधि भनेकै फुट हो । बाँकी त पारिवारिकै भन्दा फरक नपर्ला । यसो हुनुको प्रमुख कारण हो, उहाँको पार्टीको जन्मदाता पनि फुट नै थियो । उहाँले फुटेरै पार्टी गठन गर्नुभएको थियो ।

अतः टुट्नु र फुट्नु यो पार्टीको जन्मसिद्ध अधिकारै हो । यति धेरै टुटफुटपछि अब मलाई त यहाँसम्म शंका भइसक्यो कि भोलि गएर उहाँको आफ्नै नामसमेत विभाजन भएर ‘राम’ अर्कोतिर लाग्ने, ‘बाबु’ मात्रै उहाँसँग बाँकी रहने हुन पनि के बेर !
 

टिप्पणीहरू