धर्मका आडमा चेलीबेटी बिगारिन्छ यहाँ धमाधम

धर्मका आडमा चेलीबेटी बिगारिन्छ यहाँ धमाधम

– सुकृति पौडेल

अचेल गल्ली–गल्लीमा भेटिन्छन् आशाराम बापुहरू । धर्मको आडमा अपराध कर्ममा मुछिएका आशाराम बापु, गुरमित सिंह, चन्द्रस्वामी, रामपाल, नित्यानन्द स्वामी र स्वामी भीमानन्दजस्तै नेपालका लिटिल बुद्ध रामबहादुर बम्जनझैँ अर्काे एक धर्म गुरुबाट बर्बादी भोगिरहेकी एक चेली हुँ ।

एक धर्काे सिन्दूरका कारण धेरै चेलीको जिन्दगी आवाद भएको छ । र, यही सिन्दूरका कारण धेरै चेली बर्बाद पनि भएका छन् । दुनियाँका अगाडि धर्मका ठुल्ठूला प्रवचन दिने गुरुकै कारण आँशुको तलाउमा डुबुल्की मारिरहेको ३ वर्ष बित्यो । तीन वर्षअगाडि मेरो थर बदलियो सुकृति पौडेलबाट भुसाल । 

भरतपुर ५ मेरो माइती घर, जन्मघर छाडेर पराइ (श्रीमान्) घर दलदले पुगेँ । जाँडरक्सी नछुने, प्रसिद्ध भागवत वाचक, झट्ट हेर्दा शालिन, भद्र । देश विदेशमा नाम चलेका कथावाचक शीतलकृष्ण महाराज भुसालसँग विवाहको टुंगो लाग्यो । एकअर्काेलाई जान्ने–बुझ्ने प्रयास भएन । मेरो भिनाजु र उहाँको मामाद्वारा विवाहको कुरा चल्यो र राजी मञ्जुरीमा नै विवाह भयो, लकडाउनताका । भन्छन्, जन्म, मृत्यु र विवाह पूर्वनिर्धारित हुन्छ । कोही रहरले जन्मेका हुँदैनन् । र, उस्तै हो विवाह पनि । कहाँका केटीको सिउँदो, कहाँको केटाले विवाहमण्डपमा सातफेर घुमेर रंगाइदिन्छ र कसम खान्छ सातै जुनी सँगै मर्ने, सँगै बाँच्ने तर त्यो कसम सात वर्ष पनि टिक्दैन । त्यही विवाह मण्डपमा रंगाइदिन्छ एक धर्काे सिन्दूर हालेर । र, त्यही सिन्दूरले जीवनभर सास्ती, पीडा र आँशु दिन्छ । यस्तै भयो मेरो जीवनमा पनि । 

वैशाखमा विवाह भयो । ६ महिनापछि भारतको बृन्दावदन गयौँ । त्यहाँ पुग्नुअघि उनलाई ईश्वरकै रूपमा पुजेको थिएँ, हेरेको थिएँ । थाहा थिएन भित्री रूप । सम्बन्ध नर्मलै चलिरहेको थियो । जब असली व्यवहार र दुश्चरित्र देखा पर्न थाल्यो । प्रतिवाद गर्दा ममाथि जाइलागे । एउटा सामान्य मान्छेको रुममा नहुने कुराहरू देखेँ । त्यसपछि सक्ड भएँ । कोठा सफा गर्दै गर्दा कथावाचकले शिरमा लगाउने पकडी भेटियो । खुल्दुली लाग्यो । के होला त्यसभित्र ! एउटा बाकस रहेछ । झनै कौतुहलता भयो र खोलेर हेर्दा कन्ट्रासेभ्टिभ डिभाइस भेटेँ । प्रश्न गर्न सकिन । दिनभर झोक्राएर बसेँ । बेलुका उहाँलाई ‘यो के हो ?’ भनेर सोधेँ । जवाफ आयो ‘मेरो होइन’ । दराज उहाँको, दराजको पनि गोप्य ठाउँमा लुकाएर राखेको चिज कसको हुन्छ ? अनेकन महिलाको फोन आउँथ्यो । फोन आउँदा शंका गर्नुपर्ने कुनै कारण थिएन । त्यसमाथि पेशा नै त्यस्तै थियो । भक्तहरू पुरुषभन्दा महिला धेरै हुन्थे । उहाँको मोबाइलमा परस्त्रीहरूसँग एकदमै घटिया प्रकारका म्यासेजहरू देखेँ । यसले झनै चकित बनायो ।

सम्झाएँ, विगतमा विवाह नगर्दा जे–जे भयो भयो, अब त्यसलाई बिर्सिएर आजबाट यस्तो नगर्नुहोस् । समाजमा यत्रो मान–सम्मान र प्रतिष्ठा छ, एकै क्षणमा धुलो हुन्छ । सम्झाउन खोज्नु मेरो गल्ती भयो । तँ एउटाले मलाई पुग्छ भनेर उल्टै हातपात भयो । आखिर जीवनमा मनको नेटवर्क नै नमिलेपछि अरू के मिल्न सक्थ्यो ? यद्यपि, उहाँप्रति आदर, सम्मानमा कमी थिएन न त माया र प्रेममै मबाट केही कसुर थियो । सोच्थें, एकदिन ढुंगा पनि रसाउनेछ । तर, प्रतिदिन मप्रति हिंस्रक बन्न थाले । म आफ्नै भाग्यलाई सरापेर बाँच्न विवश । शारीरिक र मानसिक यातना कति भोगें भनेर साध्य छैन । यता, बुबा आमालाई लाग्थ्यो छोरीले भगवान्जस्तो ज्वाइँ पाएकी छ । घुमाउनका लागि वृन्दावन लगेका छन् । उता उनले दिएका टर्चर र व्यवहारका कारण बाँच्न मन लाग्न छाडेको थियो । आफ्नो पीडा कसैलाई खुलेर भन्न सक्ने स्थिति थिएन । न त भन्दा पत्याउने नै स्थिति थियो । एक जना मात्र महिलासँग यस्तो अनैतिक सम्बन्ध र म्यासेज थियो भने गएर भेटेरै सम्झाउन सक्थेँ । तर, त्यस्तो सम्बन्ध धेरै महिलासँग देखेँ । यस्तो गलत काम नगर्नुहोस् भन्दा रक्ताम्य हुनेगरी कुटपिट गर्थे । गर्भ बसेको तीन महिना भएको थियो, भ्रुणहत्या गर्न विवश बनाइयो । सहँदै गएँ । किनकि विवाहलाई निर्वाह यसरी नै गर्नुपर्दो रहेछ कि भन्ने लाग्थ्यो । यी पीडा माइती पक्षलाई पनि केही भन्न सक्ने स्थिति थिएन । 

विवाहपूर्व सोचेकी थिएँ, ‘दुनियाँलाई ज्ञान विज्ञान र धार्मिक कथा सुनाउँदै हिँड्ने मान्छेसँग घरबार गर्न पाउँदा राम्रै होला । म पनि श्रीमान् र बच्चाको हात समाउँदै आउने–जाने गर्नेछु माइती । तर, सोचेजस्तो कहाँ हुनेरहेछ र जीवन ? शुरुवाती दिनदेखि नै उल्टो घुम्न थाल्यो चक्र । एउटै बिच्छ्यौनामा सुतेर पनि कोसौं टाढा रह्यो मन । लाग्थ्यो, एकदिन ढुंगा पनि रसाउनेछ तर जब असली नियत थाहा पाएँ झनै टेडिँदै गए उनी मसँग । तीर्थयात्रापश्चात् घर फर्केर आयौँ साउन २३ गते, मेरो माइती भरतपुर–५ समीचोकमा । श्रीमान् महाराजाको जन्मोत्सव रात्रिको समयमा भव्यसँग मनाइएको थियो । बिहान घर (दलदले नवलपुर) मा बुवालाई भेटेर तिमीलाई लिन आउँछु भनेर गए ।

घरपरिवारसँग राम्रै गरी बिदावारी भएर गएको । लिन आउलान् भनेर प्रतीक्षा गर्दै थिएँ । तर, म्यासेज पो आयो । उक्त म्यासेज पढेर बेहोस भएँ । भोलिपल्टै भिनाजुको मोबाइलमा भ्वाइस म्यासेज आएको रहेछ– जिल्ला अदालत नवलपुरमा डिभोर्सको केस फाइल गरेको । दिदीले घरमा बुवा–आमालाई यो कुरा सुनाउनुभयो । यो अप्रत्यासित र अकल्पनीय खबर सुनेर एक्कासि बेहोस भएँ । १०–१५ दिन अस्पतालमै रहेँ । सपनाजस्तै भयो । श्रीमान्तर्फबाट सम्झाउने होला भनेको तर उनी भारत गएर बसेको जानकारी आयो । हामीले पटक–पटक सल्लाहका लागि आग्रह ग¥यौँ । म शारीरिक र मानसिक रूपमा विक्षिप्त । उनको परिवार, आफन्तसँग पहल गर्दा पनि भेट्न मानेनन् । हामी र हाम्रा आफन्त सबैलाई ब्लक गरेर सम्पर्कविहीन । अदालतमा भाइलाई वारेसनामा दिइएको छ । भाइ सौगात भुसाल (जसलाई अदालतमा श्रीमान्ले वारेसनामा दिएको छ) पाँच वर्षको च्यालेञ्ज दिन्छु, मेरो दाइलाई फर्काएर देखाउनु भन्दै धम्क्याउने काम गरे । खुला चुनौती दिए । तिहारको तेस्रो दिन नेपाल आएको थाहा पाइयो । तर भेट्न मानेनन् । ठीक छ, डिभोर्सका लागि केस फाइल गर्ने उनी, मेरो गल्ती र कमीकमजोरी के हो ? त्यो त थाहा पाउनुप¥यो । कि परस्त्रीसँग सम्बन्ध रहेको कुरा थाहा पाउनु मेरो कमजोरी हो ? विगतमा जे–जे भयो–भयो, त्यसलाई भुलेर उदाहरणीय राधाकृष्णको जोडीझैँ बनौँ भनी सम्झाउनु मेरो गल्ती र कमजोरी हो ? 

धेरै कर्तुत देखेँ-भोगेँ । अदालत र कानुनले प्रमाण खोज्छ तर श्रीमतीलाई श्रीमान्ले कुटपिट गरेको समयमा कुनचाहिँ श्रीमतीले फोटो खिचेर वा लाइभ गरेर बस्छ ? आफ्नो जिउ जोगाउने होला नि त्यस्तो बेला त ! आजसम्म पनि नारी भनेका देवी हुन् भनेर कथा सुनाएकै भरमा उनको रोजीरोटी चलिरहेको छ तर आफ्नै घरमा श्रीमतीलाई हिंसा गरिएको छ, अलपत्र पारेर हिँड्ने काम भएको छ । अब म कहाँ गएर बस्ने ? कतिञ्जेल माइतीको शरणमा रहने ? मेरो गल्ती के हो ? डिभोर्स किन फाइल भएको हो ? डिभोर्स माग्नुको कारण के हो ? यो विषय जान्न पाउने कि नपाउने ? सम्बन्ध जोगाउनलाई आजको दिनसम्म सहँदै आएँ तर सहनु पनि ठूलो अपराध रहेछ । यो पीडा धार्मिक संस्था र धर्मगुरुसम्म पुग्यो तर कतैबाट सुनुवाइ भएन । के विवाह भनेको मन लागुञ्जेलसम्म सँगै बस्ने अनि मन भरिएपछि विभिन्न बहाना गरेर छोडपत्र गर्नका लागि हो ? के नारी खेलौना हुन् ?

एउटा सामान्य व्यक्तिले पनि नगर्ने यस्तो गल्ती कथावाचक र धर्मगुरु जो अरुलाई घरबार बिगार्न हुँदैन भनेर उपदेश दिन्छन्, उनैले श्रीमतीलाई यसरी पीडा दिएका छन् भने अन्य कति महिलालाई सताएका होलान् ? जीवनमा विवाह एक पटक हुन्छ । सात जन्म सँगै मर्ने र बाँच्ने कसम खाएर विवाह बन्धनमा बाँधिएका धर्मगुरुले सात महिना पनि साथ दिँदैनन् र एउटा नारीको जीवन तहस–नहस बनाइदिन्छन् भने यस्ता एउटा चरित्र देखाउने,  व्यवहारमा अर्कै गर्ने आशाराम बापुजस्तै धर्मगुरुहरूलाई कसरी र कसले विश्वास गर्छ ? उनी अझै पनि के आधारमा व्यासमा बस्छन् ? मैले पटक–पटक सम्बन्ध जोगाउने प्रयास गरिरहेँ । उनी सम्पर्कमा आउनै चाहँदैनन् । म म्यानेजमेन्टको विद्यार्थी । जीवनमा बुवा–आमाभन्दा माथि राखेँ उनलाई । कर्तव्यबाट कहिल्यै चुकिनँ । उनले जे–जे अन्याय र अत्याचार गरे पनि सहेँ । मेरो एक्जाम, करिअरबारे कहिल्यै सोचिनँ । आज म जिउँदो लाश बसेर बस्न विवश छु । आज पनि उनी अरुको घरबार बिगार्न हुँदैन भनेर पतिव्रता पुरुष र पत्नीव्रताहरूका कथा सुनाउँदै हिँडिरहेका छन् । तर, यस्ता व्यभिचारी र स्त्रीलम्पट कथित धर्मगुरुले अझै व्यासमा बसेर कथा सुनाउँदै हिँड्न सुहाउँछ ?

(साभार:जनआस्था साप्ताहिकबाट)
 

टिप्पणीहरू