क्वार्टरभित्र मान्छे कोचाकोच

क्वार्टरभित्र मान्छे कोचाकोच

मन्त्री क्वार्टरको हविगत यस्तो छ कि, रात परेपछि शौचालय मात्र हो खाली हुने, बाँकी कोठा, भान्सा, वेटिङ रुमदेखि सुरक्षाकर्मीको ब्यारेकसम्म भरिभराउ हुन्छन्, सुत्नेको ताँतीले । 

एउटा मन्त्री आफ्नो जिल्लामा सर्वस्वीकार्य वा लोकप्रिय हुनु पनि कस्तो दुःखको कुरा हुँदोरहेछ भने, भेट्न आएका जिल्लाबासीलाई लखेट्न नमिल्ने । राखौं, सरकारी क्वार्टरमा ठाउँ थोरै । हिजोआज पुल्चोकस्थित शहरी विकासमन्त्री धनबहादुर बूढाको निवास ‘डी वान’ ब्लकमा यस्तो देखिने गर्छ । उनको आफ्नै घर बौद्धमा छ । मन्त्री हुनुअगाडि जिल्लाबाट आएका आगन्तुकका लागि भनेर उनले घरमै अलग्गै खाने–बस्ने व्यवस्था मिलाउने गरेका थिए । तर, सरकारी क्वार्टरमा आफूले भनेजस्तो हुने कुरै भएन । फलतः त्यस्तो दृश्य देखेर वरिपरिका मन्त्री क्वार्टरमा पुगेका र शहरी जीवनमा अभ्यस्त मान्छेहरू अचम्म मान्ने गर्छन् । खासमा पिछडिएको र दुर्गम भेगका मानिसका निम्ति मन्त्रीको निवास तीर्थजस्तो हुन्छ, जति दुःख खेपे पनि केहीजस्तो नलाग्ने ।

डोल्पादेखि तीन–चार दिन लगाएर मन्त्रीलाई भेट्न काठमाडौं आएका मान्छेलाई ‘जेसुकै गर’ भन्न मिल्दैन । त्यसमाथि मन्त्री आफैंमा मनकारी छन् । तिनलाई बौद्ध जाऊ भन्यो भने झन् रिसाउँछन् । किनभने, सरकारको मन्त्री भएपछि त सरकारी क्वार्टरमै भेट्ने भनेर जिल्लाबाट आएका हुन् । यसरी जिल्लाबासीको भीडका कारण अलिक खाली हुने कोठा मन्त्रीको मात्रै हो, जहाँ पत्नीलाई मात्रै प्रवेश हुन्छ । त्यसबाहेक क्वार्टरमा त्यस्तो कुनै कोठा छैन जहाँ कम्तीमा पाँचदेखि सात जना मान्छे नसुतेका हुन् । मान्छे नसुत्ने भनेको शौचालयमा मात्र हो । सुत्ने ठाउँ नपाएर मन्त्रीका पिए सेनाको ब्यारेकमा जान्छन् । उनका लागि अलग्गै कोठा त छ तर आफ्नो कोठामा जिल्लावासीलाई सुताएर आफू अन्यत्र सुत्ने गर्छन् । सेनालाई कति हैरान छ भने, मन्त्रीका स्वकीय सचिवले बिहान सबेरै लगाएको मोजा राति खोल्छन् । त्यसबेलासम्म मोजा डुङ्डुङ्ती गन्हाइसकेको हुन्छ । बिचरा थाकेर आएका स्वकीय सचिवले मोजा धुन भ्याउँदैनन् । गन्ध सहेर सुत्नुभन्दा फ्याँकिदियो, टण्टै साफ ! यसरी सेनाले आधा दर्जनभन्दा बढी उनका मोजा डिस्पोज गरिसक्यो । 

बूढा मन्त्री भएको खबर सुनेपछि डोल्पाको पनि उपल्लो भागबाट हुल बाँधेर काठमाडौं आएका मानिसहरू शहरका जस्ता सुकिला–मुकिला नहुने नै भए । पाँच जना अटाउने मन्त्रीको गाडीमा १०–१२ जना कोच्चिएका हुन्छन् । एकदिन मन्त्रीले चालकलाई गाली गरे, ‘गाडी गन्हायो, किन सफा नगर्नुभएको ?’ रिसाएका चालकले भने, ‘डोल्पाको मान्छे नै गन्हाएर आएपछि मैले गाडी सफा गरेर के गर्नु ?’ यसपछि मन्त्री रिसाएनन्, ‘हाम्रोतिर यस्तै हुन्छ, के गर्नु’ भन्दै चित्त बुझाए । 

भेट्न आएका मान्छे थेग्न नसकेर पुल्चोकस्थित मन्त्रीक्वार्टर र सिंहदरबार ओसार पसार गर्नका लागि अलग्गै गाडी छुट्ट्याइएको छ । अर्को रमाइलो त के छ भने, त्यहाँ भान्सेदेखि सरसफाइ गर्नेसम्मले आफूलाई ‘स्वकीय’ भन्दै परिचय दिइरहेका हुन्छन् । मन्त्री भने लोभ नभएका । कसैले कुनै लाभको कुरा गर्‍यो कि सीधै अस्वीकार गर्दैै भन्छन्, ‘यो कुरा मलाई होइन, पार्टीको अध्यक्षलाई र सम्मानित नेतालाई भन्नुस्, उहाँहरूले भन्नुभयो भने म काम गरिदिन्छु, नत्र यहाँ नआउनुहोला !’

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू