सुहाङले व्यहोर्नुपर्ने सास्ती
प्रतिनिधिसभामा रिक्त इलाम– २ को एक सीटका निम्ति वैशाख १५ मा हुने उपनिर्वाचनलाई लिएर अनेकन कोणबाट चर्चा गर्न थालिएको छ ।
०७९ को निर्वाचनमा त्यहँबाट निर्वाचित र केही महिनाअघि दिवंगत संविधानसभा अध्यक्ष सुवास नेम्वाङका छोरा सुहाङलाई नेकपा (एमाले) ले उम्मेदवारका रुपमा अगाडि सारेपछि अन्य दलले उम्मेदवार तय गर्न ढिलाई गरिरहेका छन् ।
त्यहाँ एमालेको पुरानो संगठन छ, नेताको कमी छैन । आधा दर्जनले उम्मेदवारीको आकांक्षा राखेका थिए । ०३५ पुस ११ गते स्थापित तत्कालीन नेकपा मालेका संस्थापक केन्द्रीय सदस्य रत्नकुमार बान्तवाले सोही वर्षको चैत २७ गते सहादत प्राप्त गरेको स्थल पनि हो यो क्षेत्र । ०३५ सालदेखि अहिलेसम्म एमालेको सुदृढ संगठन रहेको ठाउँमा कहिल्यै पार्टी–संगठन भनेर नहिँडेका सुहाङ उम्मेदवार हुने कुरा एमालका निम्ति सबैभन्दा जोखिमपूर्ण विषय बनेको छ । सुहाङलाई कसैले ‘नव राजकुमार’ का रुपमा व्यंग्य गर्नेहरु पनि देखिएका छन् । सुवासका छोरा हुनुबाहेक पार्टीले उम्मेदवारीका निम्ति निर्धारण गरेको मापदण्डभित्र उनी कतै पनि पर्ने व्यक्ति हैनन् । त्यसैले एकथरि एमालेहरु अहिले पनि ‘के–कसो’ भन्दै अन्यौलमा देखिन्छन् ।
किन छानिए सुहाङ नेम्वाङ ?
दृश्यमा एमाले अध्यक्ष केपी ओलीले पुराना मित्र सुवासका छोरालाई उम्मेदवार बनाएर गुण तिरेको देखिन्छ, तर यसको अन्तर्य फरक छ । देशैभरि युवा लहर चलिरहेको कुरालाई दृष्टिगत गर्दै उनलाई उम्मेदवार बनाइएको हो । उक्त क्षेत्रमा राई र लिम्बू समुदायको बाहुल्यता छ । जनसंख्यामा लिम्बूको बर्चस्व छ । तर, लिम्बूकै बीचमा पनि समस्या छ । उक्त क्षेत्रमा लिम्बूअन्तर्गतका योङहाङ समुदायको संख्या बढी छ ।
त्यसपछि लिङ्देन र तेस्रोमा नेम्वाङ छन् । त्यसमाथि क्षेत्रभरिमा पाँच हजार मतमा प्रभाव राख्ने विश्वास लिइएका धर्म गुरु आत्मनन्द लिङ्देन कसको पक्षमा हुन्छन् भन्ने कुराको अहिलेसम्म टुंगो छैन । त्यसैले अर्को दलबाट योङहाङ समुदायको उम्मेदवार हुने र लिङ्देनसहित राई–वान्तवा समुदायको समर्थन त्यता हुने हो भने सुहाङको उम्मेदवारीलाई जोखिमपूर्ण मानिन्छ । जातीय मत बलियो मानिए पनि ०७९ को निर्वाचनमा सुवास नेम्वाङले नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई जम्मा एक सय १४ मतले जितेका थिए । सुवासको ३० हजार २० मत, डम्बरको २९ हजार ९ सय ६ मत थियो । यद्यपि, उक्त निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी एक ठाउँमा हुँदा सुवासका निम्ति चुनौति थियो ।
अहिले माओवादी र एकीकृत समाजवादीको गठबन्धन एमालेसँग भएका कारण ०७९ को जस्तो चुनौति आउने सम्भावना कम छ । त्यहाँको जिल्ला समन्वयमा एमाले र समाजवादीबीच तालमेल भएको थियो । ०७९ को निर्वाचनमा समानुपातिकतर्फ एमालेको २६ हजार ५ सय ६२ मत थियो । सुवासले पार्टीको भन्दा करिब ३५ सय मत बढी पाए । कांग्रेसले समानुपातिकमा २२ हजार ३ सय ३३ मत पाउँदा डम्बरले ६ हजार बढी मत पाए । त्यहाँ माओवादी र एकीकृत समाजवादीको समानुपातिक मत बराबर थियो । रास्वपाले समानुपातिकमा ४ हजार ६ सय ८६ पाएको थियो ।
उक्त क्षेत्रमा इलाम, माई र देउमाई नगरपालिकासहित माङ्सेबुङ, फाकफोकथुम, चुलाचुली गाउँपालिका पर्छन् । इलामको मेयर र चुलाचुलीका अध्यक्ष कांग्रेसले जितेको थियो । ०७९ को स्थानीय निर्वाचनपछि पहिलोपटक इलाममा कांग्रेसले जितेपछि एमालेलाई ठूलो असर परेको छ । स्थानीय चुनावमा वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने इलाम–२ मा कांग्रेसले एमालेभन्दा चार सयभन्दा बढी मत ल्याएको थियो ।
कांग्रेसले ३२ हजार ९ सय ७८ मत पाउँदा एमालेले ३२ हजार ५ सय २७ पाएको थियो । माओवादीले २ हजार ७ सय १७, जसपाले ५ सय ५४, एकीकृत समाजवादीले २ सय ७७ र राप्रपाले १ सय ३० मत पाएका थिए । यस हिसाबले हालको सत्तारुढ गठबन्धनको मत बढी देखिन्छ भने स्वतन्त्रमा खसेको मत बाँडिनसक्ने देखिन्छ । त्यस्तै, मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीलगायतको पनि मत छ ।
प्रतिनिधिसभा निर्वाचन भएपनि उक्त क्षेत्रमा विकासका मुद्दाले पनि विशेष अर्थ राख्दै आएको छ । बहुप्रतीक्षित आयोजनाहरु रवी–राँके सडक, इलाम–मंगलबारे सडक, जितपुर–सिद्धीथुम्का सडक, रतुवा खोला पुल, किरात धर्मगुरुको क्षेत्रमा माग गरेअनुसारको विकास नगरेको आरोप एमालेले खेप्दै आएको छ । यस्तो स्थितिमा पनि सुवासले त्यहाँबाट ०५६ सालदेखि निरन्तर चुनाव जित्नुको कारण हो, मृदुभाषी, तर्कशील, अर्कालाई नबिझाउने, विपक्षीको मन पनि जित्न सक्ने गुण हुनु । कतिपय गुण छोरा सुहाङमा पनि पाइन्छ । त्यसमाथि बाबुको मोबाइल नम्बर नै अहिले छोराले चलाउने गरेका छन् । यसले सर्वसाधारणलाई उनीसँगको सम्पर्क गर्न सहज गराएको छ ।
जनतामा युवाप्रतिको आकर्षण बढेको ठहर गरी यदि एमालेले सुहाङलाई उम्मेदवार नबनाएको भए रास्वपाले उनलाई उम्मेदवार बन्न सन्देश पठाएको थियो । त्यसपछि एमालेले हत्तपत्त उनलाई उम्मेदवार घोषणा गरेको हो । अब रास्वपाले योङहाङ समुदायका पत्रकार मिलन लिम्बूलाई उम्मेदवार बनाउने सम्भावना रहेको छ । उनी माओवादीसम्बद्ध प्रेस सेन्टरका तर्फबाट आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को महासचिव भएका व्यक्ति हुन् ।
सुहाङको राम्रो पक्ष हो, नेताको छोरा भइकन ‘चलखेल’ मा नलाग्नु । त्यसो त सुवास आफैंमा कुनै विवादास्पद काममा नमुछिएका नेता थिए । नत्र, अहिलेका नेपाली नेताका छोराछोरी विभिन्न काण्डमा नमुछिएका कमै छन् । सुन, जग्गा, नक्कली भुटानी शरणार्थी, अनेकन दलालीजस्ता काण्डमा नेताका सन्तान मुछिने गरेका छन् । बरु, सुवासजस्तै सुहाङ पनि अधिवक्ता हुन् । त्यसमाथि उनी फुटबल क्लब चलाएर सामाजिक क्षेत्रमा सक्रिय छन् ।
अन्तर्घातको डर
त्यसो त सुहाङ यो चुनाव सजिलो छैन । अन्तर्घातको सबैभन्दा ठूलो खतरा एमालेभित्रै छ । त्यस्तै खतरा कांग्रेसभित्र पनि छ । ०७९ मा सुवाससँग पराजित जिल्ला सभापति डम्बर खड्काले फेरि टिकट पाएमा भेषराज आचार्य बागी उठ्ने सम्भावना छ । भेषराज उठे डम्बर, डम्बर उठे भेषराज बाधक बन्ने अवस्था छ । एमालेमा चाहिँ सुहाङ नेम्वाङलाई अन्तर्घातको सबैभन्दा ठूलो डर पार्टीका जिल्ला अध्यक्ष तथा क्षेत्र नं. १ का सांसद महेश बस्नेतबाट छ । महेश तिनै व्यक्ति हुन्, जसले ०७९ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई बलियो गठबन्धनसँग मुकाविला गर्दै चुनाव हराएका थिए ।
सुहाङले चुनाव जिते आफू ओझेलमा परिन्छ भन्ने चिन्ता महेशलाई मात्रै हैन, २० वर्षसम्म सुवासको पिएर भएका बुद्धि खनालसम्मलाई छ । सागदी सुवासका पिए बुद्धिले भक्तपुर, सानोठिमीमा भव्य घर जोडेका छन् । टिकट पाए पाँच करोड खर्च गरेर चुनाव जित्ने घोषणा नै गरेका छन् ।
एमालेमा टिकटको दाबी गर्ने अर्का व्यक्ति थिए नरेन्द्र भट्टराई । उनी एमालेका पुराना नेता हुन् र अहिले ७० वर्ष पार गरिसकेका छन् । उनले गत स्थानीय निर्वाचनमा पहिले इलाम नगरपालिकाको मेयरको टिकट पाएका थिए तर पछि व्यापक विवाद भएपछि टिकट खोसेर धीरेन्द्र चेम्जोङलाई दिइएको थियो । यही किचलोमा कांग्रेसका केदार थापा मेयरमा निर्वाचित भए ।
केही वर्षअगाडि नरेन्द्र भट्टराई केही समय माओवादी पार्टीतिर पनि लागेकाले जिल्लामा अलोकप्रिय छन् । सानो गुटमा रमाउने भट्टराईले पनि सुहाङलाई अन्तर्घात गर्ने सम्भावना छ । दाबी गर्ने अर्का व्यक्ति थिए, डा. देवी क्षेत्री दुलाल । बीचमा माओवादीमा लागेर एमालेमा फर्किए हुन् । पहिला ओलीविरुद्ध फेसबुकमा अनेकथोक लेखे, अहिले ओलीको भक्त भएका छन् । सुहाङले टिकट पाउने भएपछि उनीविरुद्ध फेसबुकमा गालीको वर्षा हुन थालेको छ ।
– लेखनाथ सिकारु
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू