महावीर कन्तुरमा मेरो अनुहार

महावीर कन्तुरमा मेरो अनुहार
सुन्नुहोस्

...‘मेरो अनुहार  ।’ पुस्तकको नाम नै यही हो  । तर, यसले धेरैको अनुहार देखाएको छ  ।

...हो, महावीर कन्तुरमा पाइन्छ  । यो एक किसिमको भेन्डिङ मेशिन हो  । लेखकले अनुरोध गरेपछि महावीर पुनले यो कन्तुर बनाइदिएका हुन्  । अब पुस्तक पसलमा व्यक्तिगत प्रकाशन खोज्न जानै पर्दैन  । ... के को हुन्थ्यो अप्ठेरो ? एयरपोर्टमा आन्तरिक उडानतर्फ ५ र वैदेशिक उडानतर्फ १० कन्तुर छन्  । तिमी चिन्तै नगर  । अहिले नेपाली पुस्तक उपहार दिने चलन बढेको छ  । विदेश जानेले त बाँकी भएका नेपाली रुपैयाँले पुस्तक लिएर जान्छन्  । उता एयरपोर्टमा पनि पुस्तक लिने मान्छेको लस्कर हुन्छ  ।

शहरमा ? झन् सजिलो छ, कलेजमा, सपिङ सेन्टरमा, सिनेमा घरमा, ठूला सरकारी कार्यालयमा, अदालतको परिसरमा तिमी जता पनि ‘महावीर कन्तुर’ देख्छौ  । क्यामेरा पनि जडान गरिएको छ  । त्यसैले चिन्ता छैन  । ... छ, छ  । शहरमा मात्रै किन ? माग गर्नासाथ अध्ययन गरिन्छ  । ठाउँ र औचित्य हेरी ठड्याउने, गुडाउने, झुण्ड्याउने वा कुन खालको उचित हुन्छ, त्यस्तै कन्तुर आइपुग्छ, चिन्तै छैन  ।

... हो, अब त महावीर पुनका पुस्तक पनि कन्तुरबाटै लिन सकिन्छ  । केही फरक पनि छ  । संस्थागत प्रकाशनचाहिँ कन्तुरमा पाइँदैन  । ती महँगा हुन्छन्  । कन्तुरबाट किनिने पुस्तक क्रेतालाई सयकडा ३०% सस्तो पर्छ  । यसबाट कुनै लेखक मारमा पर्दैन  । अहिले महावीरको हाइहाइ चलेको छ  । युग परिवर्तन भयो नि ! ... ए, किनें नि मैले पनि ! ...अँ, ‘झोले कि अरिंगाल’ भन्ने पुस्तक किनें  । मलाई यो नाम मन परेन  । तर कुरा मजाका छन् । स्वाद मानेर पढें  । तिमी पनि कन्तुरबाट लिएर पढ  । फेरि बिहीबार र शुक्रबार थप १०% छुटमा पनि पाइन्छ  । पैसा खसायो, बटम थिच्यो, पुस्तक टिप्यो  । कति कति सजिलो  । धन्यवाद भन्नुपर्छ महावीर पुनको कर्मलाई !

...त्यो पनि भन्छु  । तर म ती पात्रलाई ‘दलसेना’ या ‘अनुचर’ भन्न उपयुक्त ठान्छु  । अहिले ती पनि दलको पकडबाट मुक्त छन्  । ...कारण त ? अँ, ती अहिले धेरैजसो देशभक्त र विवेक प्रयोग गर्ने देखिएका छन् । अघि आफ्नो झोले र अरिंगाल ठानेर दलले तिनलाई उपयोग गरी कर्म–अकर्म गराए  । पछि मुलुकको अहितमा दलपतिहरू, पर–परिचालित भएको र अपराध वृत्तिमा लागेर मुलुक रित्याएको बुझेपछि दलसेनाहरू आफैँ पन्छिए  । अब उनीहरू स्वतन्त्र छन् भन्ने कुरा यो पुस्तकमा लेखिएको छ  ।

हो, आजभोलि कसैले झोले, दास, सेवक, अनुचर वा कारिन्दा–कार्यकर्ता (कामदार) जस्ता अप्रिय, निन्दित शब्द प्रयोग गर्दैनन्  । त्यो युग छैन  । दलपति पनि नांगिए र मुलुक बलियो र हरियालीपूर्ण देखियो  । नत्र दलपति आफूलाई महाराजाभन्दा कम ठान्थे र ! झोलेकै बलले विधानभन्दा माथि ठानेका थिएनन् र ? हजुर ....छ नि, राम्रो संकेत छ  । रोटी र बेटीको ढोंगी नाराको सट्टा ऊन, नुन, सुन र रक्षाको नारा बलियो पार्ने प्रस्ताव छ  । लुटिने भए दक्षिणतिर र अस्तित्व जोगाउने भए उत्तरतिर हेर्ने सल्लाह छ  । अमेरिका र चीनको मित्रताले यहाँ सन्तुलन आउने र अन्त भुइँचालो जाने संकेत पनि छ  ।

प्रच्छन्न भावले यो पनि बुझिन्छ – झोलेहरूकै शक्तिले दलपति सिंह बनेका थिए  । अहिले स्याल बनेका छन् भन्ने सत्य प्रमाणित भएको छ  । ...कारण ? दलसेना पन्सिनुको कारण ? ए, कति, कति नि ! छोरा र नाति नातिनाले तिनलाई नै गिज्याउन थाले  । एउटाले अर्काको कथा बनाउन थाले  । घरमा नै लाजमर्दो भएको छ  । केटाकेटी सुतेपछि मात्र घर पुग्नुपथ्र्यो  । त्यो भयावह स्थितिबाट जोगिए  । बुध्दि पुर्‍याए भन्नुपर्‍यो  । नत्र गाउँमा मुख देखाइसक्नु थिएन, लुटेराका रक्तबीज भन्थे हेपेर  । ...हो नि ! बिल्कुल बिल्कुल  । अहिले यी संयमित भएका छन् । यिनले आफ्नो स्वाभिमान र अस्तित्व जोगाएका छन् । योग्यता र आदर्शलाई नेताको पैतालामुनि पुर्‍याएका थिए, त्यो फिर्ता ल्याए  । आफ्नो विवेक र दायित्व कुल्चाएका थिए, त्यसको पनि रक्षा गरे  । आफूमा निहित कर्तव्य र अधिकार बिर्सेका थिए – दलपतिको छायाँमा परेर त्यसको पनि सम्मान गरे  । आफूमा रहेको सौर्य र मानवता बिर्सिएका थिए – झोलेमा दरिएर त्यसबाट पनि मुक्ति लिए  ।

...पक्का पक्का ! दलको चंगुलबाट मुक्ति पाएपछि यी वनैया हात्तीझैं बलिया र उन्मुक्त भएर राष्ट्रको रक्षामा, लोकहितमा आफ्नो क्षमताको उपयोग गर्नेछन्  । अब झोले होइन देशका रक्षक, नायक र छाता भएर आउने छन्  । आफ्नो सामथ्र्य र खुबीलाई दल वा दलपतिको पैतालाले कुल्चिन दिने छैनन् भनेर युवा पुस्तालाई उद्बोधन पनि दिएको छ यो पुस्तकले  । यस्तो पुस्तक दिने महावीर कन्तुरलाई धन्यवाद भन्छु  ।

– फेब्रुअरी २२, २०२४

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू