पढाइ ध्वस्त मुद्धामा व्यस्त

पढाइ ध्वस्त मुद्धामा व्यस्त
सुन्नुहोस्

कुनै बेला कानुन कलेजका रूपमा नाम चलेको बिजुलीबजारस्थित ‘चक्रवर्ती हबी एजुकेशन एकेडेमी कलेज’ पारिवारिक झगडाका कारण अस्तित्व मेटिने चरणमा पुगेको छ । 

दुई दशकअघि स्थापित उक्त कलेजमा संस्थापक अध्यक्ष रहेका देवेन्द्र भण्डारीसहित उनको परिवारका ६ जना सदस्यको शेयर  छ । कलेजको स्वामित्व विवाद कम्पनी रजिष्ट्रारको कार्यालय हुँदै यतिबेला सर्वोच्च अदालतसम्म पुगेको छ । परिवारका ६ जना शेयर सदस्यमध्ये चार जना एकातिर र दुई जना अर्कोतिर विभाजित भएका छन् ।

उनीहरूले अदालतमा सञ्चालक समितिमा आ–आफ्नो पक्ष आधिकारिक रहेको जिकिर गर्दै आएका छन् । कलेजको संस्थापक अध्यक्ष रहेका बाबु देवेन्द्रले आफ्नै छोरा निरजविरुद्ध कलेजको पैसा ठगी गरेको आरोपसमेत लगाएका छन् । छोरा निरजसँग कुनै पनि कारोबार नगर्न सार्वजनिक रूपमा आह्वान गर्दै आएका छन् । 

यता, छोरा निरजले भने कलेजको अध्यक्ष आफभ् भएको दाबी गर्दै आएका छन्​​​​​। साथै, उनले चार वर्षदेखि कलेज गैरकानुनी रूपमा सञ्चालन गरिरहेको आरोप बाबुमाथि लगाएका छन् । निरज पक्षले निरजले साधारण सभा गरेर भिन्नै अध्यक्षसमेत घोषणा गरिसकेको छ । कलेजको सम्पत्ति कसको भन्ने विवाद चुलिएका बेला पुसमा कलेजमा झडपको स्थितिसमेत सिर्जना भएको थियो ।

कलेजमा नयाँ शेयर धनी सञ्चालकमाथि प्रवेशमा रोक लगाउन २०÷२५ जना बाउन्सर राखेको दाबी छोरा निरजको छ । सञ्चालक समिति र शेयर विवाद उत्कर्षमा पुगेकै बेला कलेजभित्रै हानाहान हुँदा अध्यक्ष देवेन्द्रको टाउकोमा गम्भीर चोट लागेको थियो । देवेन्द्रले प्रहरीसमक्ष दिएको बयानमा आफूलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोप छोरा पक्षमाथि लगाएका छन् । 

‘निजहरूले मलाई देख्नासाथ निरज भण्डारीले मेरो ज्यान मार्ने उद्देश्यले तँ सालालाई आज नमारी छाड्दिनँ भन्दै आल्मुनियमको ४ पाटे डन्डीले एक्कासि मेरो टाउको र निधारमा २ पटक प्रहार गर्‍यो  उक्त प्रहारबाट म भुइँमा ढल्न पुगेँ,’ देवन्द्रले प्रहरीसमक्ष दिएको बयानमा भनेका छन्, ‘म भुइँमा ढलेको अवस्थामा निरज भण्डारीले आल्मुनियमको डन्डीले र गणेशबहादुर घिमिरेले बेल्चाले टाउको तथा शरीरको विभिन्न भागमा प्रहार गरे।

विद्यार्थीले प्रहरी बोलाऊ भनेकोसम्म सुनेको थिएँ, सो पश्चात् म बेहोश भएँछु । पछि मेरो होश आउँदा मलाई सिभिल अस्पतालमा लगी उपचार हुँदै गरेको थाहा पाएँ । टाउकाको हड्डी फुटेर गिदीमा असर पुगेको रहेछ । निधारको हड्डी फुटेको रहेछ । टाउको र निधारमा प्लास्टिक सर्जरी गरिएको छ । आँखाको नानी सुन्निएको, नानीमा पानी जमेका कारण नसामा असर परेकाले आँखा देख्न सक्दिनँ ।’

दुईतर्फी झडप र हानाहानको क्रममा प्रहरीले २४ जनालाई पक्राउ गरेको थियो । पछिल्लो समय कम्पनी रजिष्ट्रारको कार्यालयले बुवा र छोराबीच कलेजको सेयर आधा–आधा ट्रान्सफर गरिदिएको जनाइएको छ । ०६८ सालमा देवेन्द्रका छोरा निरज र श्रीमती नरमाया भण्डारी समेतले अंश मुद्दा हालेका थिए । त्यो मुद्दामा अदालतबाट ०७१ सालमा निरज समेतले कलेजको अंश पाउने गरी फैसला भएको छ ।

कम्पनी रजिष्ट्रारको निर्णयमा चित्त नबुझेपछि दुबै पक्ष यतिबेला सर्वोच्च पुगेका छन् । यसरी बाउछोराबीचको सम्पत्ति लफडाका कारण कलेज करिव बन्द हुने अवस्थामा पुगेको छ । 
 

टिप्पणीहरू