बिहे गर्न हिँडेका सिपाही बेपत्ता

बिहे गर्न हिँडेका सिपाही बेपत्ता

विभिन्न कारण देखाएर घर बिदामा निस्किएका दर्जन बढी सैनिक बेपत्ता भएका छन् । आफ्नो विवाहका लागि छुट्टी लिएर ब्यारेकबाट निस्किएका सिपाही रामबहादुर गुरुङ भर्खरै बेपत्ता हुनेमध्येमा पर्दछन् । 

फागुन १४ गते हाजिर हुनुपर्ने उनको अहिलेसम्म अत्तोपत्तो छैन । धादिङको नीलकण्ठ नगरपालिका–६ बस्ने लालबहादुर गुरुङको नाति एवं बुद्धबहादुरको छोरा उनी विवाहका लागि भनेर ३० दिन बिदामा बसेका थिए । 

सिपाही ब्राजिल चेमजोङ पनि कार्यालय फर्केका छैनन् । दुई दिन घर बिदामा बसेका उनी तीन सातादेखि गायव छन् । पाँचथरको फाल्गुनन्द नगरपालिका बस्ने हर्कजित चेम्जोङको नाति एवं आङ्गहवोजको छोरा उनी फागुन ७ गतेदेखि २ दिने बिदामा थिए । 

चितवनको भरतपुर नगरपालिका–१३ का सिपाही दिपेशबाबु थापा पनि भगौडा नै हुन् । ७ गतेदेखि घर बिदामा बसेका उनी अहिलेसम्म पनि कार्यालय नफर्किएको साथीहरूको गुनासो छ । टुकुध्वज थापाको नाति एवं चेतबहादुरको छोरा उनले सैनिक परिचयपत्र आफैँसँग लगेका छन् ।

फागुन ८ गते हाजिर हुनेगरी घर बिदामा निस्किएका सिपाही सूर्य सापकोटा बेपत्ता हुने अर्का सैनिक हुन् । लमजुङको मादी गाउँपालिका–८ का वसन्तराज सापकोटाको नाति एवं लालप्रसादको छोरा उनको खोजी भइरहेको छ । सैन्य सुरजकुमार राम ब्यारेकको तारबार नाघेर भागेका छन् ।

श्री नम्बर १८ बाहिनी अड्डाबाट भर्ना भएका उनी तालिमकै क्रममा कसैले सुइँको नपाउनेगरी टाप कसेका हुन् । सि.सं.५ सैन्य आधार तालिममा तालिमरत उनी सप्तरीको महादेवा गाउँपालिका–१ का पुलकित मोचीको नाति एवं रामचन्द्र मोचीको छोरा हुन् ।

उनी फागुन १३ गते दिउँसो भागेको प्रहरीले जनाएको छ । भगौडा अर्का सैन्य रोशन सुनार सुर्खेतको सिम्ता गाउँपालिका–९ का हुन् । उत्तरपश्चिम पृतना हेडक्वार्टर भर्ना केन्द्रबाट भर्ना भएका उनी फागुन ७ गते दिउँसो आफूखुशी भागेको बताइन्छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू