सशस्त्रमा खै कसरी पलाउला सन्तुष्टि

सशस्त्रमा खै कसरी पलाउला सन्तुष्टि

सशस्त्र प्रहरी बल, नेपालमा काखी च्याप्ने प्रवृत्ति हावी हुँदै गएको छ । ‘राम्रालाई भन्दा हाम्रालाई’ भन्ने मान्यता स्थापित भएपछि इमान्दार, कर्तव्यपालकहरू मर्कामा परेका छन् । राजु अर्याललाई ‘दाइ’ भन्नेहरू लामो समयदेखि एउटै गणमा डेरा जमाएर बसेका छन् भने अन्य ६ महिना नबित्दै तितरबितर हुने क्रम जारी छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, विपद् उद्धार गणमा कार्यरत एसपी पूर्ण साउद लामो समयदेखि त्यहीँ छन् । सबैभन्दा बढी बजेट भएको सो गणले निर्माणको जिम्मासमेत पाउँदै आएको छ ।

यता, एसपी समिक महर्जन विशेष कार्यदल गणमा छन् । झापास्थित ३७ नम्बर रिजर्भ गणमा दरबन्दी कायम भएका उनी त्यता जान मानेनन् । दिएको कमाण्डमा हाजिर नै नभएका उनीमाथि छानबिन गर्ने भनिएको थियो । तर, न छानबिन भयो न कारबाही । रोचक प्रसंग त के भने, उनकै गणलाई निरीक्षणमा पहिलो नम्बर दिइएको छ । एसएसपी नेत्रबहादुर कार्कीले ४० पूर्णांकमा ३९.५ नम्बर दिएका हुन् ।

‘निरीक्षण गर्न गएका एसएसपीले मनलाग्दी नम्बर दिएका छन् । त्यस्तो गर्न मिल्छ ? के आधारमा नम्बर दिएको भन्ने पनि छैन । ३९.५ नम्बर पाउने गण त सुविधासम्पन्न हुनुपर्छ । त्यसले गरेको कामको मूल्यांकन गर्नुपर्छ । त्यसको बजेट कति थियो ? न कुनै आन्दोलनमा खटिएको छ न सीमा–सुरक्षामा । राजश्व र विपद् व्यवस्थापनमा पनि कुनै योगदान छैन । त्यस्तो गण कसरी पहिलो नम्बर हुन्छ ?’, स्रोतले गुनासो गर्दै भन्यो ।

कार्यदल गणको काम कतै आन्दोलन, झडप हुँदा खटिनु हो । सो गणले त्यस्ता किसिमको काम गरेकै छैन भन्दा पनि फरक नपर्ला । पुस १३ गते ललितपुरको बालकुमारीमा भयानक घटना भयो । तत्कालीन यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाइयो । जसोतसो मन्त्रीको ज्यान जोगियो । दुई युवकको ज्यान गयो । त्यत्रो आन्दोलनकारीको भीडलाई नियन्त्रणमा लिन नेपाल प्रहरी मात्रै खटिएको थियो ।

झण्डै ५ किमि दूरीमा पर्ने स्थानमा जनधनकै क्षति हुने अवस्था बन्दासमेत सो गणले वास्ता गरेन । त्यस्तो गणलाई प्रथम बनाउनु ठीक हो ? यो निरीक्षकले सोच्नुपर्ने कुरा हो ।

रासन काण्डमा मुछिएका एसपी त्रिभुवन विष्ट काभ्रेपलाञ्चोक आएका छन् । सशस्त्र प्रहरीको ४४ नम्बर गण, दार्चुलामा प्रमुखका रूपमा कार्यरत रहँदा उनीमाथि सुरक्षाकर्मीलाई बिदामा छाडेर राशन घोटाला गरेको आरोप लागेको थियो । त्यसपछि छानबिनका नाममा मुख्यालय झिकाइएको उनलाई टिकापुरस्थित तालिम शिक्षालयको प्रमुख बनाइयो ।

एसएसपी गएपछि टिकापुरबाट हटाइएका उनलाई काभ्रेपलाञ्चोकको जिम्मा दिइएको हो । सुरक्षाकर्मीको रासन खाएको आरोप लागेका उनलाई आइजीले तक्माले सम्मान गरेका छन् । स्रोत भन्छ, ‘सशस्त्रमा जे गरे पनि हुने भयो । नाम सुशासन, काम कुशासन । सुशासन त बोर्डरमा मात्र देखिन थाल्यो । भित्रभित्र यस्तो खिचडी पाकिरहेको छ । आइजीको अघिपछि लाग्ने र दाइ भन्ने मात्र माथि जाने भए । मूल्यमान्यता, नीतिनियमअनुसार चल्ने गण कमै छन् ।’

थर्काउने डिएसपी ‘आउट’, एसपी ‘इन’

आफ्नो योजनामा सफल नभएका सशस्त्र प्रहरी बल, नेपालमा एक विद्यालयका समादेशकको ‘मच्चायो काण्ड तर हात लाग्यो शून्य’ भनेझैं हालत भएको छ । दुई वर्ष समादेशक बन्न विद्यालयमा ठूलै रडाको मच्चाएका उनी आखिर निस्किने नै भएका छन् । सप्तरीको शम्भुनाथ नगरपालिका–११, स्थित नेपाल एपिएफ ठाकोदेवी जोगेन्द्र भगत स्कूलका समादेशक डिएसपी दीपक खनालको ठाउँमा एसपीलाई पठाउन लागिएको छ ।

यससँगै उनको दुई वर्ष समादेशक बन्ने सपना खेर गएको छ । प्रधानाध्यापक चन्द्रशेखर देवलाई जबर्जस्ती नजरबन्दमा राखेर राजीनामा दिन लगाएको आरोप लागेका उनलाई त्यहाँबाट फिर्ता बोलाइएपछि सशस्त्रभित्र ‘लाजको पसारो’ भनी व्यापक चर्चा भइरहेको छ । उनको मिहिनेत ‘बालुवामा पानी’ भएको भन्दै व्यंग्य गरिएको छ ।

विद्यालयको समादेशकका रूपमा एसपी विजय केसीलाई खटाइएको छ । हलचोकस्थित मानव स्रोत विभागमा कार्यरत उनी एकाध दिनमै त्यता जाँदै छन् । खनाल जाने भएपछि जोगेन्द्रले घरमा भोज राखेका छन् । एपिएफ स्कूलमा डिएसपी खटाउने प्रावधान छैन । काठमाडौं उपत्यकाभित्र भएमा एसएसपी र अन्यत्र एसपी खटाउनुपर्ने नियम छ । तर, कतै पनि नियम पालना भएको छैन ।

कीर्तिपुरस्थित नेपाल एपिएफ स्कूलको अवस्था पनि उस्तै छ । त्यहाँ पनि सप्तरीको हावाले छोएको स्रोतको जिकिर छ । स्रोत भन्छ, ‘त्यत्रो काण्ड मच्चाएर उनलाई के उपलब्धि भयो ? अन्तिममा निस्कनै पर्‍यो । एपिएफले अहिले आएर त्यहाँ एसपी खटाउने निर्णय गरेको छ ।

पहिल्यै गरेको भए स्कूलको बेइज्जत त हुँदैनथ्यो । बेलैमा नीति कार्यान्वयन नहुँदा यत्रो लफडा भयो ।’ यसअघि पनि सो विद्यालयमा लफडा भएको थियो । छानबिन गर्नका लागि मुख्यालयबाट टोली खटाउनुपरेको बताइन्छ ।
 

टिप्पणीहरू