भिन्दाभिन्दै कुराले गठबन्धनमा भनाभन

भिन्दाभिन्दै कुराले गठबन्धनमा भनाभन

‘भन्ने गठबन्धन, गर्ने आफूखुशी ?’ मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चाका नेताबीच यस्तो चर्चा भएको हो । कुरा थियो, इलाम र बझाङको उपनिर्वाचनबारे । ती दुवै क्षेत्रमा एमालेले एकलौटी उम्मेदवारी घोषणा गरेपछि सबैजसो नेताको उही प्रश्न थियो, ‘यो के गरेको ?’ भन्ने । एकीकृत समाजवादीका नेताहरूको भनाइ थियो, ‘यही नै गर्नु थियो भने पनि सल्लाह गरेको भए के हुन्थ्यो ?’ रमाइलो के थियो भने, प्रश्न एमालेमाथि उठाइएको, तर त्यहाँ एमालेका कोही थिएनन् । एमालेजस्तो भएर पेश हुनुभयो, प्रधानमन्त्री प्रचण्ड ।

‘हामी हाम्रो निर्णय गरेर जाऔं, उहाँहरूसँग (एमाले) पनि सल्लाह गरेर अगाडि बढौं’ भन्दै प्रचण्ड एमाले अध्यक्ष केपी ओलीको बचाव गर्दै हुनुहुन्थ्यो । ‘उम्मेदवार तोक्ने कुरामा शायद उहाँहरूलाई ठूलै प्रेसर भयो होला, अब हामी उहाँसँग कुरा गरौं, दुईमध्ये कता छोड्नुहुन्छ, त्यहाँ हाम्रो उम्मेदवार दिउँला’, प्रचण्डले भन्नुभयो । बैठकमा सहभागी एक नेताको भनाइ थियो, ‘सुवास नेम्वाङको निधनका कारण रिक्त भएकोले इलाममा अरुले दावी गर्ने भन्ने कुरा हुँदैन । बझाङको हकमा मोर्चाको तर्फबाट कोही उम्मेदवार तोकेर अघि बढौं ।’ निर्वाचन कार्यक्रमअनुसार चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन भएका कारण कम्तिमा २०–२२ गतेभित्र दुबै क्षेत्रमा एमालेसहितको सहमतिमा उम्मेदवारी घोषणा गर्नुपर्नेमा नेताहरूको कुरा मिलेको छ । यसमा एमालेका लागि शर्त छ, घोषणा गरिएकोमध्ये कुनै एक उम्मेदवार फिर्ता हुनुपर्ने । 

एमालेले चैत ११ मै इलाममा स्व.सुवास नेम्वाङका छोरा सुहाङ र बझाङमा जिल्ला पार्टी अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । यद्यपि, बझाङको हकमा एमालेभित्रै ठूलो विवाद छ । उक्त प्रदेशसभामा पहिला एमालेबाट उम्मेदवार रहेका अफिलाल उखेडालाई पार्टीको जिल्ला अधिवेशनको प्रतिनिधिमा वडाबाटै हराइएको थियो । यस्तो अन्तर्विरोधका बीच एमाले उम्मेदवारलाई चुनाव जित्न सजिलो छैन । बझाङमा माओवादीबाट प्रदेशसभा सदस्य जितेका भीम भण्डारी सभामुख पनि भएको कारण उसले फेरि प्रदेशसभा दाबी गर्ने अवस्था छैन । एकीकृत समाजवादीले केन्द्रीय सदस्य दिलबहादुर सिंहलाई उम्मेदवार बनाउन माग गरेको छ । उनी एमाले विभाजित नहुँदा जिल्लाका पार्टी अध्यक्ष थिए ।

पूर्वसहमतिबमोजिमका पदमा अरुको व्यवस्थापन भइसकेको, तर एकीकृत समाजवादीका हकमा कुनै पनि विषयको व्यवस्थापन नभएको भन्दै समाजवादी मोर्चाको बैठकमा उक्त पार्टीका नेताहरूले भनिएका जति सबै विषयमा एकैपटक सहमति गरेर जानुपर्ने माग गरेका छन् । उक्त पार्टीले अब पाउनुपर्नेमा राष्ट्रियसभाको उपाध्यक्ष, संघीय सरकारमा एक राज्यमन्त्री र बझाङको उम्मेदवारी हुन् । त्यसमध्ये राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्याल देशबाहिर भएका कारण केही कुरा हुन सकेन । उनलाई पदबाट हटाउन मिल्दैन, उनैले राजीनामा दिएबाहेक उक्त पद रिक्त हुने अवस्था छैन । त्यसका निम्ति उनी स्वदेश फर्किनुपर्ने प्रचण्डको भनाइ थियो ।

एकै दिन भएको सहमतिअनुसार अस्ति सोमबार जसपाबाट दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री बनाइएको छ । तर, एकीकृत समाजवादीबाट राज्यमन्त्री पठाइएन । त्यसका लागि पहिला उपनिर्वाचन र राष्ट्रियसभा उपाध्यक्षको विषयमा सुनिश्चितता खोजिएको बताइन्छ । उक्त पार्टीले राष्ट्रियसभा उपाध्यक्षमा जयन्ती राई र राज्यमन्त्रीमा पाल्पाकी राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरेलाई अगाडि सार्न चाहेको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू