भाउजू भन्नेहरूको भागाभाग

भाउजू भन्नेहरूको भागाभाग

माओवादी सचिव भनी चिनिन्छन् रामकृष्ण सुवेदी र कृष्ण राउत । अहिले अर्थमन्त्री वर्षमान पुनले आफ्नो कोर टिम नै परिवर्तन गर्ने तयारी गर्दै छन्, यिनैलाई राख्नका लागि ।

‘नजानु–नजानु’ भन्दाभन्दै अर्थसचिव कृष्णहरि पुष्कर अमेरिका हिँडेपछि वर्षमान उनीसँग फायर छन् । विकल्पमा सचिव फेर्न त खोजे । तर, अर्थमा भित्र्याउन​​​​​​ आफूले भनेजस्तो सचिव पाइरहेका छैनन् । बरु अर्थमा तीन जना नयाँ सहसचिवले इन्ट्री पाएका छन्, ढुण्डी निरौला, नारायण सापकोटा र शिवलाल तिवारी । दुई महिनाअगाडि आरजु राणालाई खुस पारेर आन्तरिक राजश्व विभागको महानिर्देशक बन्न पुगेका भूपाल बराल अर्थबाट लखेटिएर वन तथा वातावरण मन्त्रालयतिर पुगेका छन् । उनी आगामी महिना सचिवमा उक्लँदै छन् । 

उता, अर्जुन भण्डारीजस्ता सहसचिव पनि छन्, जसलाई मन्त्रीकै वरिपरि घुमेर खान छुट छ । जनार्दन शर्मा मन्त्री भएपिच्छे उनको सचिवालयमा घुमेर खाएका भण्डारी अहिले प्रधानमन्त्री प्रचण्डको निजी सचिव छन् । अहिलेसम्म सात मन्त्रीको सचिवालयमा घुमिसकेका छन् । उनको सिको गर्दै छन्, कमानसिंह थापा मगर । नाताले वर्षमान पुनका भाञ्जा हुन् । जनयुद्धको जग मानिएको रोल्पामा जन्मिएका । ०७० मा अफिसरमा नाम निकाले । पहिलो पोस्टिङ जिल्ला मालपोत कार्यालय रोल्पाको प्रमुखका रूपमा भयो । पछि दाङको त्रिपुर नगरपालिका, रोल्पा नगरपालिका हुँदै ऊर्जा मन्त्रालयमा मन्त्री वर्षमान पुनको प्रमुख निजी सचिवको जिम्मेवारीमा बसे ।

उपसचिव भएयता चार जना माओवादी मन्त्रीकै वरिपरि घुमिरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीका रूपमा अमनलाल मोदी नियुक्त भएलगत्तै सामान्य प्रशासनको कर्मचारी फाँटमा पुगे । त्यहाँको कर्मचारी प्रशासन महाशाखाको हर्ताकर्ता थिए उनी । प्रचण्ड सरकारले अमनलाल मोदीलाई हटाएर सामान्य प्रशासन मन्त्रालय जनमत पार्टीलाई दिएको केही समयपछि त्यहाँबाट सरुवा मिलाएर गृह मन्त्रालयमा पुगे, एयरपोर्ट जाने तयारी थियो । यही बीचमा वर्षमान पुन अर्थमन्त्री भए । उनी अर्थ मन्त्रालयकै कप्रमा फर्किएका छन् । उसो त यसअघि सेलिब्रिटी कर्मचारीका रूपमा चिनिएका डा. डिजन भट्टराईले यसैगरी सात/आठ जना मन्त्रीको वरिपरि घुमेर, सचिवालयमा बसेर जागिर पकाइरहेका छन् ।

यसअघि यस्तो लाभ लिनेमा झंक ढकाल अगाडि थिए । अघिल्लो पटक प्रचण्ड प्रधानमन्त्री हुँदा उनको सचिवालयमा बसेर लाभ उठाएका झंक अहिले एयरपोर्टमा पुगेका छन् । अघिल्लो पटक भाइ ज्ञाननाथलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको सचिवालयमा पठाएर कुस्त लाभ लिए । अर्का खेलाडी छन्, गणेश विक्रम शाही । उनी माओवादीभित्रका ‘गच्छदार’ का रूपमा चित्रित शक्ति बस्नेत जति पटक मन्त्री हुन्छन्, उति नै पटक सचिवालयमा बसेर लाभ उठाइरहेका छन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू