समयले हुत्याउँदै लगेका यी शीर्षस्थ
कम्युनिष्ट नेता उत्पादनको कारखाना मानिने मोहनविक्रम सिंहदेखि प्रचण्डका राजनीतिक गुरु मोहन वैद्य किरण हुँदै एक जमानाका ज्वाजल्यमान नेता सिपी मैनाली अहिले राजनीतिमा फड्के किनाराको साक्षीजस्तै छन् । सिपीजस्तै झापा आन्दोलनका योजनाकार आरके मैनाली माओवादी, राजावादी हुँदै गुमनाम भए । कुनै बेला कम्युनिष्ट आन्दोलनका ‘बाघ’ भनिने वामदेव गौतम अस्तित्व रक्षाका लागि संघर्षरत देखिन्छन् ।
भक्तपुर नगरपालिकामा सीमित नारायणमान बिजुक्छेको पनि उस्तै हालत छ । नेकपाको अदालती विभाजनमा कारक बनेका ऋषि कट्टेलको पनि पार्टी निर्वाचन आयोगमा बाहेक अन्त देखिँदैन । समयको गतिलाई समात्न नसक्दा प्रभावशाली नेताहरू राजनीतिबाट कसरी ओझेलमा पर्छन् भन्ने यी त अहिलेका प्रतिनिधि उदाहरण मात्रै हुन् । अझै अगाडि हेर्ने हो भने, नेकपा संयुक्तका कृष्णराज बर्मा, विष्णुबहादुर मानन्धरहरू पनि त्यसैगरी सक्किएर गए । अहिले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसमेत ‘असफल’ नेताको सूचीमा थपिएका छन् ।
१० वर्षे जनयुद्धदेखि शान्ति प्रक्रिया हुँदै संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेका भट्टराई कुनै बेलाका शक्तिशाली नेता थिए । उनको यौटा आह्वानमा हजारौँ युवा सडकमा उत्रन्थे । तर, अहिले राष्ट्रिय राजनीतिको गणनामा समेत पर्दैनन् उनी । हुन त, माक्र्सवाद नै पुरानो भएको दाबी गर्ने बाबुराम अरूलाई समयको गति बुझ्न नसकेको आरोप लगाउने गर्छन् । तर, उनी आफैँ समयको बेगमा बग्न नसक्दाको परिणाम भोगिरहेका छन् ।
संविधान बनेपछि माओवादी आन्दोलनको औचित्य सकिएको घोषणासहित आफैँ उपाध्यक्ष रहेको तत्कालीन एकीकृत माओवादीलाई ‘रातो स्टिकर टाँसेको घर’ को संज्ञा दिँदै बाबुराम पार्टी छाडेर हिँडेका थिए । कम्युनिष्ट विचारधारा पुरानो भएको निश्कर्षसहित ‘नयाँ गर्न’ हिँडेका उनले पार्टीको नाम पनि नयाँ शक्ति राखेर प्रारम्भका दिनमा राम्रै तामझाम देखाएकै हुन् । तर, लगत्तैको निर्वाचनमा जनताले अस्वीकार गरेपछि नयाँ शक्तिलाई उपेन्द्र यादवको क्षेत्रीय पार्टीमा विलय गराएका उनी त्यता पनि लामो समय टिक्न सकेनन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादीबाट फुटेर आफ्नै नेतृत्वमा नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेको वर्ष दिनमै उनको पार्टी फेरि फुटेको छ ।
दुई अध्यक्षात्मक प्रणाली रहेको नेसपाका एक अध्यक्ष महिन्द्रराय यादवको नेतृत्वमा सहअध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेशप्रसाद यादवसहित प्रभावशाली नेताहरूको पंक्ति माओवादी केन्द्रमा समाहित भएपछि भट्टराई पुनः एक्लिएका हुन् । त्यसो त, बाबुरामकै चाहनाअनुसार नेसपा र माओवादी केन्द्रबीच एकता गर्ने चुनावअघि नै सहमति थियो । सोही आधारमा सो पार्टीका उम्मेदवारहरूले माओवादीको हँसिया–हथौडा चिह्न लिएर चुनाव लडेका थिए । माओवादीकै चिह्नबाट चुनाव जितेका महिन्द्रराय अघिल्लोपटक प्रचण्ड नेतृत्वको सरकारमा मन्त्रीसमेत भए । गंगानारायण बाग्मती प्रदेशको आन्तरिक मामिला मन्त्री छन् ।
तर, पूर्वसहमतिअनुसार माओवादीसँगको एकता गर्ने कि नगर्ने भन्ने विवादले केही महिनादेखि नेसपामा आन्तरिक किचलो चर्किएको थियो । महिन्द्र यादव एकताको लाइनमा अडिग रहँदा बाबुराम भने फरक कित्तामा उभिए । प्रधानमन्त्री प्रचण्ड सत्तालिप्सामा लागेकाले एकता गर्न नहुने उनको मतलाई अर्को पक्षले चुनौती दिएपछि पार्टी गठनको एक वर्षमै नेसपा विभाजनमा पुगेको हो ।
त्यसो त, ‘कमा’ र फुलस्टप’ मा बहस गर्ने अनि त्यसैमा विवाद झिकेर ‘संशोधनवादी’ ‘गद्दार’ ‘दलाल’ जस्ता आरोप लगाउँदै पार्टी फुटाउने कम्युनिष्ट आन्दोलनको महारोग नै हो । परिणामतः तीन करोड जनसंख्या भएको देशमा कम्युनिष्टका नाममा दर्जनौँ पार्टी अस्तित्वमा छन् । तर, तीमध्ये अधिकांश भने कागजमा मात्रै सीमित देखिन्छन् ।
०८० फागुन १७ गतेसम्म निर्वाचन आयोगमा दर्ता कायम रहेका कम्युनिष्ट पार्टीको संख्या १६ वटा छ । नामको अगाडि ‘नेपाल कम्युनिष्ट पार्टी’ फुर्को जोडिएका तीमध्ये नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को बाहेक कुनै पनि दलको राष्ट्रिय हैसियत देखिँदैन । तिनीहरूको न संसदमा उपस्थिति छ न सडकमा ।
सिपी मैनालीको नेकपा (माले), डा. जयकान्तविक्रम शाहको राष्ट्रिय मुक्ति आन्दोलन, अम्बिकाप्रसाद वैद्यको नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी), लोकनारायण सुवेदीको नेपाल कम्युनिष्ट पार्टी, मिननाथ देवकोटाको नेपाल कम्युनिष्ट पार्टी राष्ट्रवादी र रामनारायण प्रसाद पालको नाममा माओवादी कम्युनिष्ट पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता छन् ।
त्यस्तै, मानध्वज गुरुङको नाममा नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल), सुदिप रुवालीको नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक), जोगमान लामाको नेपाल कम्युनिष्ट पार्टी परिवर्तन, राजु कार्कीको नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) भविसोर पराजुलीको नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) कर्णजित बुढथोकीको नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी र वामदेव गौतमको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान आयोगमा दर्ता भएका कम्युनिष्ट नामको पार्टी हुन् । निर्वाचन आयोगमा दर्ता नभएका मोहन वैद्यको क्रान्तिकारी माओवादी, विप्लवको नेपाल कम्युनिष्ट पार्टीलगायत अन्य दल पनि अस्तित्वमा छन् ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू