कानुनले जिन्दगीलाई दिएको कष्ट

कानुनले जिन्दगीलाई दिएको कष्ट

–विमला थापा श्रेष्ठ

महिलाको शत्रु महिला नै भनिन्छ, त्यस्तै छ मेरो जिन्दगी पनि । पैसासँग कानुन बिक्छ भने बाँकी के रह्यो र ? यस्तो हुँदा म पीडितलाई झन् पीडा, पीडक खुलेआम हिँडिरहेको छ ।

आँखा चिम्लिए पनि, खोले पनि जिन्दगीका चोटहरू असाध्यै पीडा बनेर मनमा गुम्सिरहेका छन् । जब आफ्नै भनिएकाहरूबाट पछाडि घातरूपी छुरा रोपिन्छ तब फूलैफूलमा बाँचेको जिन्दगी पतझड बन्दोरहेछ । निरश अनि उजाड । हो, यस्तै उजाड जिन्दगी बोकेर बाँचिरहेकी एक अवाला हुँ । कहाँ जाऊँ, के गरूँ, केही उपाय छैन । हिजो जसको साथमा खुशी थिएँ, आज उसैविरुद्ध मुद्दा मामिला गर्दै हिँड्नुपरेको छ । यद्यपि, न्याय मिलेको छैन । मेरो नाम विमला थापा श्रेष्ठ । उमेरले साढे चार दशक पुगेँ । काठमाडौं ठमेलमा डेराको जिन्दगी थियो । मेरो डेरा नजिकै घर थियो, राजेश श्रेष्ठको । थाहै नपाई उनीसँग मन साटियो । पाँच वर्षको प्रेमपछि विवाहमा रूपान्तरण भयो । शुरुका पाँच–सात वर्ष राम्रैसँग बित्यो ।

उसले ढाँट्यो, छल्यो मेरो चोखो र पवित्र  मायालाई ।

कोखबाट एउटा छोरा, एउटा छोरी जीवन राम्रैसँग चलिरहेको थियो । उसका तीन दाजुभाइ । ऊ कान्छो । घर थियो, घरले मात्र खान लगाउन कहाँ दिन्थ्यो ? सनराइज बैंकको जागिरे, त्यहाँको आइटी हेड, शेयर बजारको खेलाडी, तलब मनग्ये कमाउँथ्यो तर खर्च र पैसा माग्दा सदैव शेयरमा हालेको छु भन्ने जवाफ आउँथ्यो । अधिकांश समय रातको एक/दुई बजे मात्र घर आउने, सदैव क्यासिनो जाने लत लागेको थियो । अरु केटीसँग सम्बन्ध छ कि भन्ने शंका लाग्थ्यो तर आफूले माया गरेको मान्छे भएका कारण आँखा चिम्लिएर विश्वास गरेको थिएँ । एक दिन अफिसबाट कुनै स्टाफले फोनमार्फत उसको अनैतिक सम्बन्धबारे जानकारी दिइन् । अफिसमै काम गर्ने केटीसँग रिलेसनमा रहेको सुनाएपछि छाँगाबाट खसेझैँ भए । अफिसमा पुगेर उक्त केटीसँग केरकार गरेँ, उनले म त्यस्त्यो केटी नै होइन, राजेशसँग केही सम्बन्ध छैन भन्ने जवाफ दिएकी थिई ।

तर, उसले ढाँट्यो, छल्यो मेरो चोखो र पवित्र प्रेमलाई । घात गर्‍यो जिन्दगीलाई । उसले नयाँ जिन्दगी रोजेको रहेछ र त पछिल्ला वर्षमा उसलाई निको लाग्न छाडेको रहेछ, मेरो र बच्चाहरूको आवाज । घरपरिवारले ग्रिन सिग्नल दिएपछि उसको मनोबल बढ्ने नै भयो । दुई सन्तान र श्रीमती हुँदाहुँदै कान्छी विवाह गरे तर मैले घर भित्र्याउन दिएकी थिइनँ । हिजो जिन्दगीभरि नछुट्टिने खाएको कसम आज सधैँका लागि छुट्टिने व्यवहार देखाए । अर्थात् अर्कीलाई आफ्नो बनाएर ऊ उतै रमाइरह्यो । यो कस्तो समाज ! मैले न्याय माग्दा उल्टै बदनाम हुनुपर्ने ? अँगालोभरिकी श्रीमती र काखे बच्चा छाडेर कान्छी च्यापी हिँड्ने पुरुष अझै मर्द कहलाइने ? यो कस्तो विभेदको पर्खाल ? भन्छन्, ‘महिलाको शत्रु महिला नै ! नारीको बैगुनी नारी नै !’ लोग्ने त पाइनँ–पाइनँ ।

न्याय पाउनुपर्ने निकायबाट समेत न्याय पाइनँ । ठमेलस्थित घरलाई आफ्नो जिन्दगी बिताउने गुँड बनाएँ तर आज त्यही घर बिरानो भएको छ । हिजोका भद्र र प्यारा श्रीमान् आज अर्कैको बनेका छन् । र, जो मेरो सौता बन्न आइन्, उहिले जालसाजपूर्वक मभन्दा अगाडि बिहे गरेर कागजात बनाएर मलाई कान्छी बनाइएको छ । कुनै रहरले होइन, जिन्दगीमा घात भएपछि न्यायको ढोका ढक्ढक्याउँदै आफ्नो जीवन सुरक्षाको भीख माग्दै हिँड्नुपरेको छ । न्यायको खोजीमा वडा कार्यालय, प्रहरी प्रशासन र जिल्ला अदालतसम्म पुगेँ । भन्छन्, न्यायको नौ सिङ, पैसा बिच्छाएपछि न्याय पनि पैसासँगै बिक्दो रहेछ । सोह्रखुट्टे प्रहरीमा जाँदा तपाईहरूको श्रीमान/श्रीमतीको मामला तपाईहरू आफैँ मिलाउनुहोस् भनेर पन्छिन्छ, यही हो प्रहरी प्रशासनको काम ? 

नानीले एसएलसी दिइसकेको समय, पछि एक्कासी उनको प्रेसर हाइ भयो । तत्कालै इशान अस्पतालमा लगेँ । त्यहाँँबाट पाटन पुर्‍यायौँ । किड्नी ड्यामेज भइसकेको रहेछ । छोरीको किड्नी फेर्नुपर्ने भयो । श्रीमान्बाट केही सहयोग भएन । नियमित डायलाइसिस गर्नुपर्ने हुन्थ्यो । श्रीमतीलाई त हेरेन–हेरेन, सन्तानको त माया हुनुपर्ने हो ।  शुरु–शुरुमा महिनाको १० हजार दिन्थे, जान्थे । पोहोर फागुनदेखि छोरीलाई औषधि खर्चसमेत दिन छाडेका छन् । मेरो एउटा किड्नी छोरीलाई दिएका कारण गाह्रो अप्ठ्यारो काम गर्न सक्दिनँ, छोरी रोगी छ । छोराको मास्र्टर्स पढ्ने चाहना थियो, खानपिनमै समस्या छ । कसरी पढाउनु ।

अहिले बच्चा पालनपोषणमा गाह्रो भयो । त्यहाँ टिक्न नसकेपछि पाँच महिना भयो त्यो घर छाडेर डेराको जिन्दगी बिताएको । मेरा नानी र बाबु नै २९ र २७ वर्षका भए । वडामा जाँदा त्यहाँका जान्ने–बुझ्नेहरूले शर्त राखेका थिए कान्छीलाई घर भित्र्याउन दिएपछि उसको तर्फबाट छोरीको उपचार, पालनपोषण, शिक्षादीक्षामा कुनै कसर बाँकी नराख्ने । मैले छोरीका मुख हेरेर उसलाई घर भित्र्याउन दिएँ तर घर भित्रिन पाएपछि त उही उम्केको माछो ठूलो भनेझैँ भई । छोरीको उपचारका लागि खर्च माग्दा उसको श्रीमतीले जवाफ फर्काई, रूखमा फल्छ र पैसा ? यस्तै हो एउटा मिर्गाैला रोगी छोरीलाई दिने जवाफ ? 

ठमेलमा पाँच तलाको घर छ, तीन दाजुभाइ छन्, त्यो घरबाट मासिक भाडा मात्र लाखौँ उठ्छ, नानीको दबाई खान मासिक १० हजार रुपैयाँ भाडाबाट उठेको पैसा दिनू न भनेँ जेठाजुलाई, सुनेनन् । श्रीमान् त आफ्नो भएन भने जेठाजु कसरी आफ्नो हुन्थे र ? तारकेश्वरमा ८ आना जग्गामा घर बनाएको छ । उक्त सम्पत्ति भाग लगाउनुपर्ला भनेर होला कान्छीको आमाको नाममा गरेको रहेछ । कानुनअनुसार पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद नगरी दोस्रो विवाह गर्न पाइँदैन तर कागजपत्र मिलाउन जान्नेहरूलाई कानुन केही नलाग्नेरहेछ । यो अजंगको विरहको पहाड लगेर प्रहरी र वडा कार्यालयमा बिसाएँ तर प्रहरी र वडाका हाकिम मेरो कुरै सुन्न चाहँदैनन् । मभन्दा १५ वर्ष पछाडि भित्रिएकी महिलालाई कसरी ‘जेठी’ हुने गरी विवाह दर्ताको कागजपत्र बनाए वडाका कर्मचारीले ? के पैसा पायो भने जे पनि गरिदिने ? प्रहरी भन्छन् ‘सत्यम् सेवा सुरक्षणम्’ तर व्यवहार अपराधीको संरक्षण ! जिन्दगीको आधा अंश यही ठमेल क्षेत्रमा गुजारेँ । मेरा कैयौं वसन्त यहीँ बिते । रहर बिते । सपना बुनिए÷तुहिए । आज अवला नारीको वेदना पोख्दा सोह्रखुट्टेका प्रहरी हाकिमहरू मेरो कुरा भुइँमा पर्न दिँदैनन् । 

अदालतले समेत उनीहरूले तयार पारेको कीर्ते कागजपत्रअनुसार मै दोषी ठहरिएँ । मेरो वेदना र पीडा सुन्नु त कहाँ हो कहाँ ? लौ ठीक छ मै कान्छी भएँ । उसो हो भने नेपालको कानुनले बहुविवाह स्वीकृत छ ? श्रीमती बटुल्दै हिँड्न छुट कानुनको कुन ऐन, दफाले दिएको छ ? होइन भने प्रमाणसहितका विवरण पेश गर्दा कुन मुकदर्शक हुन्छ, न्यायालय, प्रहरी प्रशासन ? विवाह गर्दा मान्छेलाई मात्र होइन, भगवानलाई पनि साक्षी राखिएको छ । दुल्हन फर्काएर सम्मान–सत्कार गरिएको छ । सारा जन्ती प्रमाण छन् तर प्रहरीले यसलाई प्रमाण मान्दैन । बुझ्दैन ।

मैले न्याय मागेको हुँ, अरू केही होइन । उसको मन नपरेकी स्वास्नी भए पनि मैले पाउनुपर्ने अधिकार त पाउनुपर्छ नि ! उसले बहुविवाह गरेको हो, उसैले स्विकारेको छ । तर, ऊ आफैं भागी–भागी किन हिँड्छ ? यो संसारमा भागेर कतिञ्जेल बाँच्ने ? किन बुझ्दैन, न्याय दिलाउने प्रहरी ? किन मेरो लोग्नेसँग गोप्य भेटघाटमा हराउँछन् वडाका हाकिमहरू ? आफ्नो वेदना कति जनालाई देखाऊँ, मान्छे हँसाऊँ । म चाहन्छु मिडियाको सहयोग पुगोस्, एउटा पीडित नारीलाई न्याय दिलाउने कुरामा । मेरोजस्तो दुर्दशा अरू कुनै नारीको नहोस् । यी पीडकमाथि हदैसम्मको कानुनी कारबाही होस् र मैले न्याय पाउन सकुँ । यसका लागि विद्वत् वर्गसँग सहयोगको याचना गर्दछु– यहाँको लोकप्रिय पत्रिकामार्फत । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू