अड्डी कसेपछि मन्त्री फालाफाल

अड्डी कसेपछि मन्त्री फालाफाल

सत्ता गठबन्धन संख्याको संकटमा परेपछि हेपिँदै–चेपिँदै आएको एकीकृत समाजवादीले एकपछि अर्को गर्दै मागेजतिका कुरा पाउन थालेको छ ।सोमबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेललाई उक्त पार्टीले विश्वासको मत नदिँदा नेपाली कांग्रेसले सरकारमा दावी गर्ने स्थिति हुन्थ्यो । उपाध्यक्ष राजेन्द्र पाण्डेहरूले ‘हाताहाती सहमति’ को अडान लिएपछि काठमाडौं, थानकोटबाट निर्वाचित प्रदेश सांसद रमा आले मगरलाई विनाविभागीय मन्त्री नियुक्तिको टिप्पणी तयार पारियो र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने लिखत गरिवरी एकीकृत समाजवादीले विश्वासको मत दिएर शालिकरामलाई जोगाइदियो । खासमा यसरी ‘हाताहाती’ को कुरा निकाल्नुपर्ने स्थिति भने शनिबारकै घटनाबाट बनेको थियो ।

त्यसदिन चितवनका एमाले सांसद जगन्नाथ थपलियालाई तुरुन्तै अर्थ मन्त्रीको शपथ गराउनु भनी बालकोटबाट खबर गयो । मुख्यमन्त्रीले आफूलाई यस्तो–यस्तो भनिएको छ भन्दै प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई फोन गरेपछि उनले ‘लौ न त, ल्याउनुस्’ भनेर साँझ साढे ६ बजे शपथ गराए । यो कारणले समस्या भोलिपल्ट बिहानैबाट शुरु भयो । विश्वासको मत दिनुपर्ने आफूलाई सोधखोज नै नगरी एमालेलाई अर्थमन्त्री दिइएकोमा एसका नेताहरू आपत्ति जनाइरहेका थिए । आइतबार बिहानै बालुवाटार पुगेर पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रत्येक प्रदेशमा समस्या ल्याइदिने चेतावनी दिनुभयो । तर, आइतबार दिनभरि पनि केही निर्णय भएन ।

सोमबार बिहानै माधवलाई बालुवाटार बोलाइयो र लिखितमै सहमति गरेर एउटा मुख्यमन्त्री र बागमतीमा थप एक मन्त्री दिने भनियो । अब बागमतीमा एसका तीन मन्त्री भए । यसअघि भक्तपुरका डा.राजेन्द्रमान श्रेष्ठ कृषि र काभ्रेका लक्ष्मण लम्साल भौतिक पूर्वाधार तथा यातायात मन्त्री भइसकेका थिए । उक्त प्रदेशमा एमाले पनि तीन मन्त्रीसहितको भयो । माओवादीका पहिल्यै तीन जना थिए । बीचमा हाम्रो नेपाली पार्टी (हानेपा) बाट एक मन्त्री राख्दा १० सदस्यीय क्याबिनेट बनेको छ । तर, त्यसलाई ११ सदस्यीय बनाउन आजभोलिमै एमालेबाट थप एक मन्त्री बनाइने बताइन्छ । नयाँ गठबन्धन निर्माण भएपछि बागमतीमा दुई वर्ष माओवादी, एक–एक वर्ष एमाले र एकीकृत समाजवादीले सरकार चलाउने सहमति भएको छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू