झापाली एमालेमा किन आयो झमेला ?

झापाली एमालेमा किन आयो झमेला ?

केपी ओलीको जिल्लामा एमालेको अधिवेशन लम्बिएर पनि चुनाव भएन । प्रतिनिधि तथा उम्मेदवारले नचाहेर होइन । नेतृत्वले नचाहेर । 

पूर्वअध्यक्ष दिपक कार्कीलाई जिल्ला अधिवेशनअघि नै केन्द्रीय सदस्य बनाएर उपाध्यक्ष प्रेम गिरीलाई अध्यक्ष बनाउन बालकोटले चाहे पनि बालकोटलाई नै मक्का मदिना ठान्ने सचिव शिव ढुंगेलले नछोड्ने भएपछि लफडा निम्तिएको थियो । तर, बा नै यहीं बसेपछि कसको के लाग्छ ! अन्ततः प्रेम र शिवबीच ‘प्रेम’ गराइयो । 

यो मिलापपछि दश बुँदे पक्ष पूरै बढारिएको छ । दुई दिन भने पनि अधिवेशन चार दिनसम्म चल्यो । दश बुँदे पक्षले शिवलाई अध्यक्ष बनाएर ओली पक्षमा बिभाजनको बिउ रोप्न खोजेको थियो । तर, अधिवेशन शुरु हुने अघिल्लो साँझ झापाली नेतालाई भेला गरेर ओलीले कसलाई के बनाउने भनी दिएको निर्देशनमा शिवको नाम थिएन । ओलीले दिएको निर्देशनविपरीत जिल्ला नेतृत्व उपाध्यक्षमा शिवलाई समेट्न बाध्य भएको छ ।

ओलीले अध्यक्षमा प्रेम गिरी, उपाध्यक्षमा असारु राजवंशी, सचिवमा तुलसी कार्की, उपसचिवमा अनिता कन्दङ्वा र माओवादीबाट एमालेमा आएका खगेन्द्र नेपाललाई बनाउन ओलीले चिर्कटो दिएका थिए । दश बुँदे पक्षबाट सदस्यमा उठ्न खोज्नेहरू सन्तोष आचार्य, कृष्णप्रसाद मिश्रहरूले कोटा पाएनन् । उता पूर्व माननीय द्रोणाचार्य क्षेत्रीका छोरा देवेन्द्र आचार्यलाई भद्रपुरबाट प्रतिनिधिमै हराइयो । 

निवर्तमान सचिव शिव ढुंगेलले शुरुमा अध्यक्षको अडान नछाडेकाले आफ्नो उम्मेदवार प्रेम हार्ने खतराका कारण ओलीले खल्तीको चिर्कटोमा असारु राजवंशीलाई कोरेर शिव ढुंगेल लेखी प्याक गरेको बताइन्छ । कुनै समय झापा एमालेमा रजगज गर्ने केन्द्रीय सदस्य रविन कोइराला अहिले निरीह सावित भएका छन् । आफ्नै वडामा ५ दलीय गठबन्धन गरेर बनको चुनाव लड्दासमेत जिताउन नसकेका गिरीलाई ओलीले अध्यक्ष बनाइदिएकोमा एमाले कार्यकर्ता रुष्ट देखिन्छन् । यसो हुनुमा झापा इञ्चार्ज बिशाल भट्टराईको ठूलो हात छ । 

सचिवमा समेत ओलीको चिर्कटोलाई काउन्टर दिँदै तुलसी कार्कीसँग भिड्न दमककै बोधराज घिमिरेकाले मनोनयन दिएका थिए तर यो कुरा चुनावसम्म टिकेन । उनले ओलीलाई नै भेटेर आफू जसरी पनि लड्ने भने पनि चुनाव नै भएन । सचिवमा ल्याइएका तुलसी कार्की केपी ओलीका निर्वाचन प्रतिनिधि हुन् । उपसचिवमा असारु राजवंशी, अनिता कन्दङ्वा, टीका मंग्रान्ती र चन्द्र सुब्बाले उम्मेदवारी दिएका थिए ।

तीमध्ये ओलीले अन्तिममा माओवादी विचारका खगेन्द्र नेपाल र एमालेकै जुझारु कार्यकर्ता चन्द्र सुब्बालाई चिर्कटोबाट हटाएर राजवंशी र अनिता कन्दङ्गको लिस्ट तयार पारेका थिए । पदाधिकारीलाई सर्वसम्मतका नाममा घोषणा गराइए पनि सदस्यहरूमध्ये भने चुनाव नै भएको बुझिएको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू