भाउजूको सिफारिशमा माननीय नियुक्त

भाउजूको सिफारिशमा माननीय नियुक्त

सत्ता राजनीतिबाट कांग्रेसको वहिर्गमनसँगै ‘भाउजू’ हरूको राज सकियो भनिए पनि एमालेमै त्यो व्यथा सरेको पाइएको छ । महासचिव शंकर पत्नी तथा पेशागत फाँटकी इञ्चार्ज सुजिता शाक्यको सिफारिसमा नेपाल इञ्जिनियरिङ क्याम्पसकी प्राध्यापक संगीता सिंहलाई गतहप्ता राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त गरिएको छ । 

ठूलो दल भएर पनि साना मन्त्रालय लिएर सत्ता साझेदारीमा सामेल भएको एमालेले गृहमा आफूपक्षीय सचिव पठाएपछि अर्थमा पनि त्यस्तै गर्न खोजेको थियो । तर, प्रस्तावित सचिवलाई महालेखा परीक्षक बनाइएको छ । उनी हुन्, तोयम राय । मन्त्रालय माओवादीले चलाउने, सचिवचाहिँ एमालेबाट राख्न प्रधानमन्त्री प्रचण्डले नमानेपछि उनलाई महालेखामा पठाइएको स्रोतले जनाएको छ ।

अब निजामती ऐन पास गर्ने सुरसार छ । त्यसअघि सम्भवतः सचिव सरुवा नगरिएला । यद्यपि, सामान्य प्रशासन मन्त्री एकीकृत समाजवादीका भानुभक्त जोशी छन् । उनले ऐनका विरोधाभाषपूर्ण व्यवस्थाहरू संशोधन गरेरमात्रै विधेयक अगाडि बढ्ने आश्वासन कर्मचारीहरूलाई दिइसकेका छन् । यसअनुसार, ‘विरोधाभाष मिलाउने’ काममा केही समय लाग्ने देखिन्छ ।

अर्कातिर, यसपालि पनि बजेटमा ‘मुसा छिर्ने’ खतरा बढेको छ । गत वर्ष राजश्व दरमा भएको हेरफेरपछि ‘मुसा छिरेको’ प्रसंगले ठूलै चर्चा पाएको थियो । पहिला–पहिला बजेट महाशाखाका प्रमुखको संयोजकत्वमा नयाँ बजेटको मस्यौदा हुने गथ्र्यो । यसचोटि उक्त महाशाखामा रितेश शाक्य छन् । तर, एमाले उपाध्यक्ष विष्णु पौडेलको टिमका राजश्व महाशाखा प्रमुख धनिराम शर्माको संयोजकत्वमा बजेट मस्यौदा समिति गठन गरिएको छ । रितेश त्यसको सदस्यमात्रै छन् । अन्य सदस्यमा महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मालाई राखिएको छ । 

उता, अर्थ मन्त्रालयअन्तर्गतका कर्मचारी हेरफेर भने जोडतोडसँग भयो । करका महानिर्देशक भूपाल बराल दुई महिनामै सरुवा भए । त्यहाँ वनबाट आएका शिवलाल तिवारीलाई पठाएर भन्सारको डिजीमा पर्यटन कलेजका ढुण्डी निरौलालाई पठाइएको छ । तर, पूर्व सिडिओ रहिसकेका उनी लेखा समूहका हुन्, राजश्वका हैनन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू