सानो देशमा विदेशीसरह ठूलो सलामी
भनिन्छ, ‘सुनभन्दा धेरै जर्ती र मान्छेको फूर्तिफार्ति उस्तै हो– काम लाग्दैन !’ विभिन्न देशको तर्फबाट नेपालमा नियुक्त अवैतनिक महावाणिज्यदूतहरू यही स्थितिका छन् । सबैको एकै खाले सेतो प्लेट भएका कारण राष्ट्रपति, प्रधानमन्त्री र विदेशी नियोगका कार्यक्रममा संवैधानिक पदाधिकारी र मुख्य सचिवलाई चिन्दैनन् सेक्युरिटीले तर राजदूतको जस्तै नीलो प्लेटमा हिँड्ने अवैतनिक नेपाली दूतले विदेशीसरह सलामी र छुट्टै पार्किङ सुविधा पाइरहेका हुन्छन् ।
कूटनीतिक नम्बर प्लेट, गाडीमा सम्बन्धित देशको झण्डा फरर, उस्तै परे निजी सुरक्षा (पिएसओ) सम्म लिने अवैतनिक महावाणिज्यदूत संसारभर भेटिँदैनन्, नेपालबाहेक । कामका लागिभन्दा बढी मानका खातिर दिइने उक्त पदवी त्यसै पनि कार्यकारी भूमिकाको हुँदैन । तर, नेपालमा अरुलाई देखाउनका निम्ति र आफू ‘के–के न हुँ’ भनेजस्तो पार्नका निम्ति कानुन, प्रचलन र आफ्नै इज्जत पनि बिर्सिने चलन छ । नेपाल सरकारले प्रायः व्यापारिक घरानाका त्यस्ता दूतहरूको हकमा ‘अनररी कन्सुलर कप्र्स (एचसिसी)’ लेख्न र नम्बर प्लेटमा ००१ हाल्न सुविधा दिएको छ । यसो गर्नुको कारण हो, उनीहरू कुनै देशको पत्यारका प्रतिनिधि हुन् भनेर सुरक्षाकर्मी र अन्य कर्मचारीले पनि चिनुन् भन्ने अभिप्राय ! तर, उनीहरूलाई त्यतिले पुगेन । विभिन्न देशबाट तोकिएर आएका राजदूतजत्तिकै मानमनितो खोज्न थाले । हुँदाहुँदा त्यस्तै सुविधाको गाडीमा कोभिड महामारीका बेला थर्मल गनको कालोबजारी गर्नसमेत छाडेनन् । कूटनीतिक नम्बर प्लेटमा विदेशको झण्डा हल्लिएपछि सिंहदरबार छिर्न अरु केही चाहिँदैन । भित्र बम, गोला, बारुद जेसुकै होस्, चेकजाँचसमेत गर्न पाइँदैन ।
६० देशका अनररी कन्सुलेट जनरल रहेमध्ये पछिल्लो समय विभिन्न देशबाट अवैतनिक वाणिज्यदूतको पदवी पाउनेमा आइसल्याण्डका लागि गोल्डस्टार जुत्ताको उत्पादक किरण सुजकी कार्यकारी निर्देशक विदुषी राणासहित छन् । उनले गत पुसमा यस्तो पदवी पाउँदा नै लाखौंको भोज दिएकी थिइन् । रुवाण्डाका लागि औषधी उत्पादक संघको अध्यक्षसमेत रहेका प्रज्वलजंग पाण्डेले अवैतनिक दूतको उपाधी पाएका छन् भने कोष्टाारिकाका लागि डा.मनिष थापाले पनि भर्खरै त्यस्तो पदवी लिएको अवस्था छ ।
०६३ सालमा साहना प्रधान परराष्ट्रमन्त्री भएको बेला अवैतनिक दूतहरूका हकमा दिइएको रायका आधारमा यातायात व्यवस्था विभागले नीलो नम्बर प्लेट (सिडी लेखिएको) दिन थालेको हो । यो कारणले गर्दा विभिन्न देशबाट आएका कूटनीतिज्ञ र अवैतनिक दूत चिन्न गाह्रो भएको सुरक्षाकर्मीहरू बताउँछन् । सुलभ अग्रवालले यही आडमा तस्करी नै गरेपछि प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री हुँदा सुविधासमेत खोसिएको थियो । तर, त्यसपछि नारायण खड्का र आरजु राणाको आडमा सहसचिव दुर्गाबहादुर सुवेदी (दुवसु क्षेत्री) ले फेरि मन कमलो बनाए ।
नहुनुपर्ने विकृति भइसकेपछि अब त्यसलाई रोक्न मुश्किल पर्ने यातायातका हाकिमहरू बताउँछन् । किनभने, महंगा–महंगा गाडी उनीहरूसँगै छ । विदेशी विशिष्ट पाहुना आउँदा केही परे उनीहरूसँगै माग्नुपर्छ । अझ एक समय त कसलाई, कुन देशको अवैतनिक दूत बनाउने भन्नेमा मन्त्रीहरूको निजी सचिवालय नै निकै सक्रिय हुने गथ्र्यो । अहिले नेपालको तर्फबाट विभिन्न देशमा अवैतनिक दूतको नवीकरण या हेरफेर गर्नुपर्ने १८–२० ठाउँ खालि छ । शैक्षिक योग्यता तोकिएको थियो, स्नातक उत्तीर्ण । प्रकाशशरण महतको कार्यकालमा नरेश श्रेष्ठ इरानका लागि अवैतनिक दूत हुँदा त्यस्तो योग्यता पनि नचाहिने बनाइयो । व्यक्ति हेरी फाइदा दिलाउन नियम त यति फेरियो कि एउटै घरमा रंगी विरंगी ५–६ देशका झण्डा र कार्यालय । फलतः अहिले एकै परिवारका पाँच, सात जनासम्म विभिन्न मुलुकका निम्ति अवैतनिक महावाणिज्यदूत छन् । चौधरी परिवारका ज्वाईंसमेत गरी ६ जनासहित खेतान, अग्रवाल, वैद्य (फिलिपिन्स, युक्रेन, लाट्भिया)हरूको परिवारमा भरमार दूत छन् । उमेर पनि ३५ बाट घटाउन खोजिँदैछ । बोत्स्वानाका लागि अवैतनिक दूत बनाइएका सुमेरुवाला भरत महर्जन सहकारीसहितका अनेकन ठगीमा मुछिएर भगौडाका रुपमा लण्डनतिर हल्लिरहेका छन् ।
त्यसो त कतिपय अवैतनिक दूतले राम्रो काम पनि गरेका छन् । जस्तैः लोकमान्य गोल्छा र विजय गजानन्द वैद्य । यो पदवीका कारण उनीहरूलाई सोझै पैसाको फाइदा त हुने होइन । पैसा हुनेहरू उमेर घर्केपछि रोटरी, लायन्स, जेसिज, रेयुकाईतिर अल्झेजस्तै खासमा उनीहरूले पाउने मानका खातिर मानमात्रै हो । भर्खरै लुम्बिनी सम्मेलन सकाएजस्तै मिलेर गरे तिनका निम्ति काम देखाउने अवसर पनि छ । तर कमजोर देशमा ढर्रा बढी देखिएको भन्ने धेरैको गुनासो सुनिन्छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू