कान्छो कर्मचारी संगठनमै ठूलो कलह

कान्छो कर्मचारी संगठनमै ठूलो कलह

अहिले देशभरका सिनेमा हलमा प्रदीप भट्टराई निर्देशित महाजात्रा चलिरहेको छ । उक्त जात्रालाई माथ खुवाउने गरी जात्रा चलिरहेको छ, कर्मचारीहरूको कान्छो संगठनमा ।

उसै त एमालेसँग फुटेर सानो भएको कर्मचारी संगठन । विद्रोहपछि एकढिक्का भएर लड्नुपर्नेमा पद र कुर्सीका लागि जुहारी शुरु भएको छ । दुई वर्षअघि मात्र गठन भएको एकीकृत सरकारी कर्मचारी संगठनमा रेशम चौधरी र रञ्जिता श्रेष्ठ दम्पतीको घरझगडाझैँ झगडा उत्कर्षमा छ । आन्तरिक रूपमा, पार्टीबाटै विवाद समाधानका लागि पहल नभएपछि एउटा खेमा अदालतसम्म पुगेको छ ।

उच्च अदालत पाटनले एकीकृत सरकारी कर्मचारी संगठनको घर झगडामा दुबै पक्षलाई २५ चैत्रमा छलफलका लागि डाकेको छ । शरण गुरुङले दायर गरेको रिटमा निवेदकको तर्फबाट रमण श्रेष्ठ र चन्द्रप्रसाद गुरागाईले गरेको बहस सुनेसँगै राज्यलक्ष्मी बज्राचार्यको इजलासले २५ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको हो । 

यसरी निजामती कर्मचारी संगठनमा कलहको मुख्य जड बनेका छन् यामबहादुर खत्री । संस्थापक मोहन घिमिरेको समूहले अध्यक्षका प्रवल दावेदार माधव नेपालका भाञ्जी–ज्वाइँ शरण गुरुङलाई माइनस गर्दै खत्रीलाई बोकेपछि घरझगडा अदालतसम्म पुगेको हो । संस्थापक अध्यक्ष मोहन घिमिरे, २४ घ बाट उपसचिवमा उक्लिए । कर्मचारी नेता भएकै नाताले १९ महिनादेखि सामान्य प्रशासनमा हाजिर गर्छन् । घिमिरेझैँ गगनसिंह विष्ट पनि पानी बढुवामा उपसचिव भएका हुन् । टेड युनियनको अधिकार अधिकृतसम्म हो, उपसचिवलाई त्यस्तो सुविधा छैन ।

त्यही कारण मोहन र गगनहरू संगठनबाट बाहिरिए र यामबहादुरलाई अध्यक्ष बनाउन खोजे । सिनियारिटीका आधारमा गुरुङ अध्यक्षका प्रवल दावेदार हुन् भनिन्छ । गत वर्षको फागुन २६ र २७ गते खरिपाटी भेलाले संगठनको अध्यक्ष गगन र सहअध्यक्षमा शरणलाई चयन गरेको थियो । तर, शरणलाई पेशागत महासंघमा थन्क्याएर यामबहादुर खत्रीलाई अध्यक्ष बनाउने थाहा पाएपछि शरणले पेशागत छाडे र कर्मचारी संगठनकै अध्यक्ष पाउनुपर्ने अडान लिइरहे ।

उनी ७३ जना पदाधिकारीको हस्ताक्षर बोकेर अध्यक्ष माधव नेपालदेखि महासचिवकहाँ पनि पुगे तर न्याय नपाएपछि अदालत गए । शरणलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा मधेश प्रदेश कार्यसमितिका अध्यक्ष तुलाकृष्ण गोइत, कर्णाली प्रदेश कार्यसमितिका अध्यक्ष गोरबहादुर बूढा र गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष सोमलाल तिवारीहरू छन् ।

उनीहरूले गुरुङको पक्षमा विज्ञप्तिवाजी नै गरिरहेका छन् । उता, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीको कोर टिममा उपसचिव रामहरि शर्मा भित्रिएका छन् । शर्मा यसअघि वामदेव गौतम, प्रकाश ज्वालादेखि विभिन्न ८ मन्त्रीको सचिवालयमै थिए ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू