गड्बडी निस्केकै हो त गठबन्धनभित्र ?
वैशाख १५ को उपचुनाव एक्लै लड्ने गरी केपी ओली कस्सिएपछि सत्ता गठबन्धनमा अविश्वास बढेको छ । सत्ता साझेदार दलहरूसँग सामान्य छलफलसमेत नगरी अघि बढेको एमालेभित्र इलाम–२ मा सुहाङ नेम्वाङको उम्मेदवारीलाई लिएर आन्तरिक बेमेल बढेसँगै चुनौती थपिएको विश्लेषण हुन थालेको छ । आमचुनावमा सुवास नेम्वाङले जितेको क्षेत्र भएकाले सत्ता साझेदार दलहरूसँग सल्लाह गरेरै एमालेले इलाम–२ मा पाउने अवस्था थियो । तर, आफ्नो हात माथि परेका बेला पेलेर जाने स्वभावका अध्यक्ष केपी शर्मा ओलीले त्यसो गर्नुभएन । बरु, उम्मेदवारी टुंग्याइसकेपछि सार्वजनिक मञ्चबाट माओवादीसँग भोट माग्नुभयो । माओवादी केन्द्र र एकीकृत समाजवादीलाई विश्वासमा लिँदै सुहाङलाई गठबन्धनको साझा उम्मेदवार बनाएर परिणाम आफ्नो पक्षमा पार्ने अवसर उहाँसँग प्रशस्त थियो ।
एमाले, माओवादी र एकीकृत समाजवादी आ–आफ्नै उम्मेदवार लिएर चुनावमा गए भने वामपन्थी मत विभाजित हुन्छ र त्यसको प्रत्यक्ष लाभ कांग्रेसले उठाउँछ । यो स्थितिले चुनावी परिणाम मात्रै प्रभावित हुँदैन, गठबन्धनमा अर्को कलहको बिउ रोपिने निश्चित छ । एमालेका एक नेता यसलाई गठबन्धनमा निम्तिएको संकटको पूर्वसंकेतका रूपमा अथ्र्याउँछन् । ‘उम्मेदवार बनाउनेमै गठबन्धनमा कुरा मिलेको देखिएन । गठबन्धन भन्नाले कम्तीमा वामपन्थीको साझा उम्मेदवार हुनुपथ्र्याे । यसले गठबन्धनमा दरार पैदा भएको देखिन्छ’, सचिवसमेत रहेका ती नेताले भने, ‘यसले त गठबन्धन टिक्छ कि टिक्दैन भन्ने प्रश्न उठायो ।’
नेतृत्वमा रहेको ‘ओभर कन्फिडेन्स’ र अरुका कुरा सुन्न नचाहने व्यक्तिवादी सोच गठबन्धनमा पनि प्रतिविम्बित भएको एमालेका अन्य नेता पनि बताउँछन् । उपचुनाव हुन लागेका दुवै क्षेत्रमा सजिलै जितिने तल्लो तहको रिपोर्टिङ र विगतमा चुनाव जितेका क्षेत्रलाई ‘लालकिल्ला’ का रूपमा हेर्ने परम्परागत दृष्टिकोणले ओलीलाई एक्लै हिंड्न प्रेरित गरेको उनीहरूको ठम्याइ छ । ‘लालकिल्ला नै हो भने पनि तपाईंहरूको उम्मेदवार उठाउँदा जित्ने सम्भावना छैन । हाम्रो उम्मेदवारलाई सघाउनुस् भनेर औपचारिक बैठकमा त भन्नुपर्ला नि !’, उनै नेता भन्छन्, ’तर त्यसमा कोशिश भएजस्तो लाग्दैन । जितिनेमा ढुक्क भन्ने छ । जितिने पक्का भएपछि किन अर्कासँग मिल्ने ? यस खालको सोच भएपछि त चुनाव जित्न पनि कठिन देखिँदै छ ।’
एमालेले यसअघिका चुनावी परिणाम र पार्टीले पाएको भोटलाई आधार मानेर इलामलाई आफ्नो ‘लालकिल्ला’ मान्दै आएको छ । तर, अहिले ‘नयाँ’ को हावाहुण्डरी चलिरहेको अवस्थामा डेढ वर्षअघिको भोट सर्लक्कै सुहाङले पाउँछन् भनेर ढुक्क हुने स्थिति छैन । त्यसबेला सुवाससँग प्रतिस्पर्धा गरेका रास्वपाका उम्मेदवारले १५ सय मत कटाउन सकेका थिएनन् । तर, अहिले माओवादी केन्द्र परित्याग गरी स्वतन्त्र उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटिसकेका पहिचान पक्षधर मिलन लिम्बूलाई टिपेर रास्वपा आक्रामक चुनावी रणनीतिमा उत्रिएको छ । गत उपचुनावमा तनहुँ–१ को नजिर हेर्ने हो भने एमालेलाई अप्ठ्यारो नपर्ला भन्न सकिँदैन । हालका राष्ट्रपति रामचन्द्र पौडेलले भारी मतान्तरले जितेको तनहुँ–१ मा एक वर्षपछिको उपचुनावमा कांग्रेस छोडेर रास्वपा प्रवेश गरेका स्वर्णिम वाग्लेले बाजी मारेका थिए । इलाम–२ लाई एमालेले लालकिल्ला भनेजस्तै सो क्षेत्रलाई कांग्रेसले पनि आफ्नो पकड क्षेत्र दाबी गर्दै आएको थियो ।
एमालेको आन्तरिक विवाद अर्को टाउको दुखाइ बन्दै छ । पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीले गरेको ब्रिफिङअनुसार सिंगै जिल्ला कमिटी सुहाङको विपक्षमा छ । नेम्वाङ परिवारसँग नातासमेत जोडिएका जिल्ला अध्यक्ष महेश बस्नेत, सुवास नेम्वाङका तत्कालीन स्वकीय सचिव बुद्धि खनाललगायता प्रभावशाली जिल्ला नेता सुहाङलाई टिकट दिएकोमा खुशी नरहेको ओलीकै रिपोर्टिङ हो । गठबन्धनका बाबजुद इलाम–१ मा झलनाथ खनाललाई हराएका बस्नेतको जिल्लामा राम्रो प्रभाव छ । बुद्धि निर्वाचन क्षेत्रको संयोजक छन् । अर्कोतिर, पहिचानवादीको निशानामा पनि एमाले नै परेको छ । कोशी प्रदेश नामकरणविरुद्ध लामो समय आन्दोलन गरेको सो समूहले अहिले साझा उम्मेदवार उभ्याएको छ । यस्तो चुनौतीपूर्ण स्थितिमा एमालेले सुदृढ आन्तरिक एकतासहित प्रभावकारी चुनावी रणनीति बनाउनुपर्छ । त्यसमा मुख्य भूमिका उम्मेदवारकै हुन्छ ।
‘जतिसुकै आदर्शका कुरा गरे पनि चुनावमा आर्थिक पक्ष पनि जोडिएर आउँछ । उस्तै परे पैसा बाँड्नुपर्ने पनि हुन सक्छ । तर, सुहाङको हकमा त्यो सबै प्रबन्ध कसले मिलाइदिने ?’, एमाले इलामका एक नेताले भने, ‘आफैँले बाँडौँ कसैलाई चिनेको छैन, पार्टीले विश्वास गर्दैन । अप्ठ्यारो छ ।’ सुहाङ आफैँमा अयोग्य नभए पनि अध्यक्ष ओलीको तजबिजमा टिकट दिएकाले जिल्लामा समस्या देखिएको ती नेताले दाबी गरे । त्यसो त, अध्यक्ष ओलीको बोली नै पार्टीको निर्णय हुने एमालेमा फरक मत राख्ने हिम्मत नेताहरूले गर्न सकेका छैनन् । पार्टी बैठकमा प्रश्न उठाउन हिच्किचाउने नेताहरू अनौपचारिक कुराकानीमा भने ओलीकै कारण पार्टी ओरालो लागेको गुनासो गर्छन् । एकजना नेताले त ‘नेकपा ओली पार्टी’ भनेर आफैँ सचिव रहेको पार्टीमाथि कटाक्ष गरे ।
वैचारिक तथा सांगठनिक हिसाबले कुनै बेलाको सवल पार्टी एमालेमा अहिले कम्युनिष्ट आन्दोलनमा लागेर कपाल फुलाएका पुराना नेता क्रमशः कर्नरमा पर्दै जाँदा अध्यक्षलाई ‘बा’ भन्नेहरूको हालीमुहाली देखिन्छ । सडकमा ‘आई लभ यु केपी बा’ भनेर नारा लगाउनेहरू संरक्षित हुने स्थिति छ । केटी काण्ड लागेका महेश बस्नेत, ऐन महरहरू अध्यक्ष ओलीको एकल तजबिजमा ‘सुनपानी छर्केर’ चोख्याइएका छन् । तर, फरक मत राखेकै कारण भीम रावलले भने दण्डित हुनुपरेको अवस्था छ । कतिसम्म भने जबज र मदन भण्डारी भन्नेहरूसमेत पछिल्लो समय ‘बा’ प्रवृत्तिको शिकार भएको गुनासो सुनिन्छ । मदन भण्डारीसँग जोडिएका उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, कोशीका विनोद ढकाल, बाग्मतीका कृष्ण दाहाल ओलीकै मान्छे थिए । तर, अहिले उनीहरू क्रमशः साइड लाग्ने स्थिति बनिरहेको एमालेपंक्तिमा चर्चा छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू