रविको ड्रिम प्रोजेक्टलाई तारन्तार पुर्जी

रविको ड्रिम प्रोजेक्टलाई तारन्तार पुर्जी

झण्डै वर्ष दिनको तलब नपाएपछि १२२ जना सञ्चारकर्मीको कन्तबिजोग बनाउने ग्यालेक्सी फोर के टेलिभिजनको व्यवस्थापनलाई सरकारी निकायले अन्तिम चेतावनीसहित तेस्रो पुर्जी काटेको छ भने आफूले अनेकौँ आश्वासनसहित अन्यत्रबाट जागिर छुटाएर लगेका सञ्चारकर्मीहरुप्रति रवि लामिछानेको गैरजिम्मेवार हर्कतप्रति औँला ठड्याउन थालिएको छ ।

आफ्नो विषय र जिम्मेवारी क्षेत्रभन्दा बाहिर लघुवित्तपीडित र मीटरब्याजपीडितसँग सम्झौता गर्दै हिँड्ने लामिछानेले स्वयं आफू पहिले संलग्न मिडिया क्षेत्र र पूर्व सहकर्मीहरूप्रति देखाएको उपेक्षाभावले उनमा करुणाको ‘क’ र नैतिकताको ‘न’ पनि बाँकी नरहेको प्रमाणित गरिसकेको बताइन्छ । 

आफूलाई सञ्चारकर्मी दाबी गर्ने लामिछानेले सञ्चारकर्मीकै बिचल्ली पारेको आरोप पनि उनीमाथि छ । स्रोतका अनुसार लामिछानेले इच्छाएको अवस्थामा ग्यालेक्सी फोरके टेलिभिजनमा देखिएको पारिश्रमिकलगायत समस्या तत्कालै हल हुन पनि सक्ने अवस्था छ । तर, चतुर लामिछाने सबै दोषको भारी जिबी राईमाथि थुपारेर आफू पानीमाथिको ओभानो हुने प्रयासमा छन् भने सत्ता र शक्तिको आडमा पीडितहरूको लामिछानेको आवाजलाई नजरअन्दाज गरेका छन् ।

सहकारीको रकम अनियमितता र अपचलनमा ल्याप्चे र सरकारी कागजातमै सहीछाप पनि भेटिएको हुँदा राईलाई फरार नै राखिने सम्भावना बढेको छ । राईको अनुपस्थितिमा तलब बाँड्ने हैसियत बोकेका सो टेलिभिजनका अर्का सञ्चालक कुमार रम्तेल जेलमा छन् । यी दुवै नभएका कारण गोरखा मिडिया प्रालि ग्यालेक्सी फोरके टेलिभिजनका तर्फबाट पीडित सञ्चारकर्मीसँगको छलफलमा उपस्थित हुने आधिकारिक व्यक्ति कोही देखिएका छैनन् ।

किनभने श्रम विभागले करिब १० महिनादेखि ग्यालेक्सी फोरके टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारले पारिश्रमिक, दशैं भत्ता, उपचार खर्च तथा सामाजिक सुरक्षाबापतको रकम नदिएको विषयमा छलफल गर्न तेस्रो पटक ताकेता पत्र पठाएको छ । यसअघि ०८० साल माघ २१ र फागुन १५ गते पत्र पठाएको थियो । तर, गोर्खा मिडिया नेटवर्क प्रालि (ग्यालेक्सी फोरके टेलिभिजन) बालुवाटारले कुनै प्रतिक्रिया र जवाफ पठाएको छैन ।

त्यसै कारण चैत १५ गते पुनः ताकेता गर्दै प्रेस रजिष्ट्रारको कार्यालयमा चैत २० गते छलफलका लागि हाजिर हुन पत्र पठाइएको हो । तर, यो पत्रका बाबजुद पनि सो संस्थाको तर्फबाट कोही उपस्थित भएका छैनन् । श्रम अदालतमा दायर जाहेरीअनुसार सो टेलिभिजनले करिब–करिब ४ करोड ५० लाख भुक्तान गर्न बाँकी छ भने स्टाफहरूले २०८० जेठदेखिको तलब पाएका छैनन् । सबै शक्ति गृहमन्त्री भएपछि लामिछानेमा केन्द्रित भएको ठानेर पीडितहरू डराएका छन् । 

अर्कोतर्फ लामिछानेले ध्यान आफ्नो मन्त्रालयभन्दा अरुतिर बढी केन्द्रित गरेको देखिन्छ । जस्तैः फरार रहेका जिबी राईलाई पक्राउ गर्ने मनशाय उनमा पाइन्न । उदाहरणको लागि बाँसबारी छाला जुत्ता कारखानाको जग्गा र राहदानीलगायत विषय गृह नभई भूमिसुधार र परराष्ट्र मन्त्रालयको विषयगत क्षेत्र हो । तर, लामिछाने चौधरी र महराका नाममा बयानवाजी गर्दै हिँडेका छन् । आफैँले ड्रिम प्रोजेक्ट बताएको ग्यालेक्सी फोरके टेलिभिजनबाट पीडितबारे किन चासो देखाउन्नन् भन्ने सवाल खडा छ । 

लामिछानेलाई साक्षात् ‘भगवान्’ मान्ने टाढाकाले उनले आफ्नै निकटवर्तीप्रति कस्तोसम्म व्यवहार गर्न सक्छन् भन्ने कुरा बुझ्न आवश्यक भएको बताइन्छ । स्वार्थ पूरा भएपछि जोसुकैलाई गलहत्याउन सक्छन् भन्ने उदाहरण चितवनस्थित ग्यालेक्सी फोर टेलिभिजनका प्रकाश सिग्देल हुन् ।

सिग्देल टेलिभिजनका सहकर्मी हुनुका साथै लामिछानेलाई चुनाव जिताउन ज्यानै छाडेर लागिपरेका थिए । त्यसैकारण लामिछाने पहिलोपटक गृहमन्त्री हुँदा उनलाई पिए बनाइयो तर अहिले काम सकिएपछिको ठाँडो ठान्दै गलहत्याइएको अवस्था छ । श्रीमती इशा र सँगै काम गर्ने शालिकग्राम, न्युज ट्वान्टी फोरका साहु अनिल जोशी, ड्राइभर शम्भु त साना उदाहरण हुन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू