अत्तो चुनावको, पत्तो परिवर्तित सत्ताको
भारतले लोकसभाको निर्वाचनलाई देखाउँदै नेपालमा बिजुली बिक्री गर्न नसकिने बताएको थियो । एक महिना अघिसम्म बिजुली खरिद अनुमति नवीकरणको म्याद थपबारे कुनै चर्चा भएको थिएन । अब भने एक वर्षको लागि गरिनुपर्ने उक्त म्याद गर्मी याममा राति बिजुली बेच्न नसकिने भन्दै तीन महिनाको लागि मात्र नवीकरण भएको जानकारी दिइएको छ ।
भारतले आगामी निर्वाचनलाई कारक देखाउँदै बिजुली नबेच्न खोजेको विषय बहाना मात्रै रहेछ । फागुन २२ गते काठमाडौंको सत्ता समीकरणमा एकाएक फेरबदल भएपछि यसले प्रतिक्रियास्वरुप बिजुली खरिद अनुमतिमा भाँजो हालेको बताइन्छ । हिजोदेखि नेपालले ५५४ मेगावाट बिजुली खरिद गरेको छ तर दिउँसोको समयमा मात्र खपत हुनेगरी, अनुमति पनि तीन महिनाको लागि नवीकरण भएको हो ।
चुनावमा सयौं मेगावाट बत्तिको आवश्यकता किन पर्छ ? भारतमा माग बढेको हो भने बिजुली किनबेच गर्ने खुला प्रतिस्पर्धी बजारमा भाउ किन बढेको छैन ? तर, रातिको समय बिजुलीको आवश्यकता परे नेपाललाई महँगोमा किन्न प्रस्ताव नै पठाइएको सरकारी अधिकारीहरु बताउँछन् । ग्यासबाट उत्पादित बिजुली भारु १० मा खरिद गर्न ऊर्जा मन्त्रालयमा पत्र पठाइएको छ । भारतबाट बिजुली खरिद गर्नु अघिल्लो दिन खुला बजारको इनर्जी एक्सचेञ्जमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यतिखेर भारतीय बजारमा भारु ४ युनिटमा बत्ति पाइएको छ । बजारको नियमानुसार २४ घण्टामा ९६ ब्लकमा कारोबार हुन्छ । त्यसको औसत मूल्य पछिल्लो एक महिनादेखि ४ रुपैयाँ भारुभन्दा बढी देखिएको छैन । यसको अर्थ भारतको आन्तरिक बजारमा बिजुलीको खपत माग बढेको पाइन्न ।
नेपाल विद्युत् प्राधिकरणका एक जना अधिकारी भन्छन्, ‘डिमाण्ड बढेको भए सप्लाई साइड बढ्नुपर्ने थियो । बरु उल्टै भारतीय बजारमा बिजुलीको रेट घटेको छ । डिमाण्ड हाई छ भनेको कुरो मिल्दैन । कुरो एउटा भए पनि चुरो अर्कै होला ।’ दुई महिनाअघि भारतीय विदेशमन्त्रीले काठमाडौंमा गरेको सम्झौतामा आगामी १० वर्षमा भारतले नेपालबाट वार्षिक १० हजार मेगावाट विद्युत् खरिद गर्ने भनिएको छ । नेपालले उताबाट २०७८ बैशाखदेखि प्रतिस्पर्धामा किन्न थालेको हो । इनर्जी एक्सचेञ्जबाट किन्ने गरिएको बिजुलीमा एकाएक अहिले भाँजो हाल्नुको कारण बाहिर एउटा भए पनि भित्र अर्कै देखिन्छ । भारतले नेपालबाट पनि बिजुली प्रतिस्पर्धी बजारमा भारु ५ को हाराहारीमा किन्ने गरेको छ । पाँच वर्षसम्म नेपालले वर्षायाममा दैनिक २ सय मेगावाट बिजुली बिक्री गर्ने भनिएको छ ।
तर, सत्ता समीकरण परिवर्तनप्रति असन्तुष्टि जनाउँदै दक्षिणको छिमेकीले राति बिजुली नबेच्ने अचम्मको तर्क गरेको अब छर्लंग छ । यता परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि चैत दोस्रो साता बेइजिङ भ्रमणमा निस्केपछि भारत झन् असन्तुष्ट बन्नु स्वाभाविक रहेको भारतनिकट राजनीतिक विश्लेषकहरुको बुझाइ छ । उनीहरु भन्छन्, ‘सायद उत्तरतर्फ प्रसारण लाइन बनेको भए दक्षिणले यो हदसम्मको झोँक देखाउँदैनथ्यो कि !’
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू