श्रीमतीलाई सरकारी सिन्दुर पहिर्‍याउँदाका सास्ती

श्रीमतीलाई सरकारी सिन्दुर पहिर्‍याउँदाका सास्ती

श्रीमतीलाई लोकसेवा पास गराउन र सरकारी सिन्दूर लगाउन योग्य बनाउनका लागि केसम्म गरिनँ ? उनका इच्छा/चाहना, रहर र सपना पूरा गर्न आफ्नो सपनालाई तिलाञ्जली दिएँ । पुगेँ बैग्लोरदेखि दुबईसम्म । चलाएँ बेल्चा र साबेल, त्यहाँ पसिना होइन, बगाएँ रगत । त्यही कष्ट गरेरै पढाएँ प्लस टु । जति कमाएँ, उनैमाथि खन्याएँ । जब इच्छा र चाहना पूरा भए, तब मलाई किनारैमा छाडेर खोला तरिन् । उनीसँग सबथोक छ । तर, म रित्तो छु । 
अभाव र तनावमा गुज्रिए बालापन । पर्वतमा जन्मिएँ । बुवा/आमाको कोखबाट जन्मिए आठ सन्तान । पाँच भाइ, ३ दिदी बहिनीमध्येको जेठो म । अभावै अभाव, तनावै तनावका बीच बित्यो जीवन । आम्दानीको स्रोत खेतीपाती मात्रै । खाने मुख तीनबाट बढेर ११ पुगे । जग्गा जमिनको आकार सीमित, खाने मुख भने बढेको बढ्यै । बिहानभरि साहुको खेतमा हलो जोतेर दिउँसो स्कूल पढ्न जान्थ्यौं । ९ वर्षको उमेरदेखि १८ वर्षसम्म हलो जोतेरै पढें । कहिले गिट्टी बालुवा त कहिले पाइप बोकेर पढाइ खर्च जुटाएँ ।

स्कूल पढ्दै गर्दा गरिबका छोरा कांग्रेस बन्ने कुरै भएन, माओवादीको चकचकी थियो । कागको हुलमा बकुल्लाझैं थियो मेरो हालत । सायद शिक्षकहरूलाई यो कुरा मन परेन क्यार । माओवादीमा लागेकै कारण नौ कक्षा पढ्दै गर्दा ६ विषयमा फेल गराइदिए । त्यही कारण छाडें, स्कूल । उक्त स्कूल छाडेर अर्काे स्कूलमा भर्ना भएँ नौ कक्षामा । र, खर्च जुटाउन दिल्ली पुगेँ । झण्डै एक वर्ष त्यहाँ काम गरेँ । सरकारी कर्मचारीले मेरो उद्धार गरेर अस्पताल पुर्‍याए । सरकारी कर्मचारीलाई हेर्ने मेरो नजर बदलियो । अस्पतालको शय्यामा हुँदा आमाको यादले सताउँथ्यो । मनमा लाग्थ्यो सकेसम्म आफैं सरकारी सेवामा लाग्छु, नभए घरपरिवार वा जहानलाई सरकारी कर्मचारी बनाउँछु ।

जब श्रीमान्–श्रीमतीबीच तेश्रो मान्छे (उपसचिव) हाबी हुन्छ अनि भत्कन्छ जो–कसैको घर ।  उनका म्यासेज हेरिसाध्य, पढिसाध्य हुन्नथ्यो ।

अस्पतालको बेडमा लड्दा लागेको त्यही घिडघिडोले आज मेरो जिन्दगी बर्वाद भयो । अहिले पछुताउँछु मेरो सपना र कल्पना गलत रहेछ । त्यहाँबाट आइसी १० हजार बोकेर फर्किएँ । र, कक्षा नौमा भर्ना भएर पढ्न थालेँ । मेरो छिप्पिएको उमेर देखेर विद्यार्थी गिल्ला गर्थे । यद्यपि, एसएलसी दिएँ, उत्तीर्ण भएँ । जाने ठाउँ थिएन अन्यत्र । पुगेँ दिल्लीतिर । सेक्युरिटी गार्डको काम गरेँ । तर, आम्दानी खासै सन्तोषजनक भएन । उही आफ्नो ज्यान पाल्नेभन्दा । म कहाँको सपना बोकेर हिँडेको मान्छे, कहाँ रुमल्लिरहेको थिएँ । एक मन लाग्थ्यो, आफ्नो ज्यान त गल्लीको कुकुरले पनि पालेको छ । अलि राम्रो कामको खोजीमा भौंतारिँदै दुबई पुगेँ । सबै कुरा बिर्सिएँ । परिवार बिर्सिएँ, लक्ष्य बिर्सिएँ । गन्तव्य बिर्सिएँ । 

परिवार पाल्नु थियो । विवाह गर्नु थियो । आफू सरकारी सेवामा लाग्न सकिएन, भाइ बहिनीलाई सरकारी सेवामा लगाउन सकिएन । एक मन लाग्यो अब जसरी पनि श्रीमतीलाई सरकारी सिन्दूर लगाउने बनाउँछु । हो, यही सपना देख्थेँ दुबईमा । तर भन्छन् नि बर्मा गए पनि कर्मसँगै । त्यहीँ कमाएको पैसाले दिदी बहिनीको विवाहवारी सम्पन्न भयो । र, बीचमा फर्किएँ । सायद आज यही दिन देख्न रहेछ त्यहाँ भेटिएका साथी प्रवीण रोक्का । उनीहरूको नजरमा म लाहुरे थिएँ । उनैले प्रस्ताव गरे आफ्ना साइँला बाबुको छोरीसँग विवाह गर्न । केटी देखेको थिइनँ । मेरो प्रस्ताव एउटै थियो, यदि मसँग विवाह गर्ने हो भने लोकसेवा भिड्नुपर्छ, सरकारी कर्मचारी बन्नुपर्छ । 

भर्खर एसएलसी पास गरेर बसेकी रोक्का थरकी उनले मेरो प्रस्ताव स्विकारिन् । र, ०६७ साल वैशाख २६ गते सिन्दूर भरेँ । जहानलाई सरकारी कर्मचारी बनाउने सपना पूरा गर्न पुनः खाडी लागेँ विवाह गरेको दुई महिनापछाडि । दुबईको ५० डिग्रीको गर्मीमा रातदिन रगत पसिना बगाएर श्रीमतीको हातमा मास्टर्स डिग्रीको सर्टिफिकेट भएको सपना देख्थेँ । गाउँका बुवाआमाको वास्ता गरिएन । उनकै दाजुको साथमा बस्थिन् । अनेक जोडबलबाट प्लस टु, ब्याचलर सकाइन् । आज खर्चको हिसाब निकाल्छु झण्डै ११ लाख रुपैयाँ सिद्धिएछ । श्रीमतीलाई पुतलीसडकतिर लोकसेवा तयारी कक्षामा पढ्न लगाएँ । कमर्स क्याम्पसमा व्याचलर अध्ययनरत थिइन् । एक दिन उनको मोबाइलमा नेमकै ट्युसन माष्टरले पठाएको आपत्तिजनक म्यासेज देखेँ । हकारेँ । तर ‘जो चोर उसकै ठूलो स्वर’ भनेझैं उल्टै मलाई नै थर्काइन् । प्रतिवाद गर्दै त्यो बेला भनेको सम्झन्छु ‘दाजु हो, तिमी अन्यथा सोच्छौ ?’ तर दाजु–बहिनीबीच म्यासेजको पनि हद हुन्छ, त्यो तहसम्म गिरेर कुनै पनि दाजुले (अर्काकी श्रीमती) बहिनीलाई म्यासेज पठाउँदैन । 

यही बीचमा लोकसेवा खुल्यो । उनले जागिर खाने इच्छा व्यक्त गरिन् । नाम पनि निस्कियो । जिन्दगीको सबैभन्दा खुशीको दिन थियो त्यो । चम्केको तिल्के घरीघरी मिल्के भने झैँ भयो । मेरै आड भरोसामा पढिन् । सरकारी जागिर पनि खाइन् । अब मलाई गन्न छाडिन् । जब श्रीमान्–श्रीमतीबीच तेश्रो मान्छे (उपसचिव) हाबी हुन्छ अनि भत्कन्छ जो–कसैको घर । उनलाई अब लोग्नेभन्दा पराई राम्रो लाग्न थाल्यो क्यारे ! झगडा नपरेको दिन हुन्नथ्यो । उनका म्यासेज हेरिसाध्य, पढिसाध्य हुन्नथ्यो । यही कारण भनाभन हुन्थ्यो । हात र मुख सँगसँगै चल्ने ।

तर, सहनुको पनि हद हुँदो रहेछ । उनले ममाथि गरेको ज्यादती अधिकांश कर्मचारीलाई थाहा छ । श्रीमतीलाई सरकारी जागिरे बनाएपछि मेरा दुःखको दिन अन्त्य होला भन्ने सोचेको थिएँ । ठीक उल्टो भयो । आजसम्म उनको कमाइ एक रुपैयाँ देख्न पाएको छैन । यो बीचमा १० वर्षको छोरी र ६ वर्षका छोरा भए । छोरीलाई आमाले हुर्काउनु, बढाउनुभयो । छोरा जन्मेको ४० दिनबाट मैले स्याहारेँ । उनी जागिर खान जान्थिन् । म छोरा स्याहारेर बस्थेँ । हो, आज पछुताउँछु । हररात हरदिन रोएर बित्दै छन् मेरा । एउटा श्रीमान्ले श्रीमतीलाई उपल्लो तह, पद र प्रतिष्ठामा पुर्‍याउन कति त्याग गर्छ त्यसको हिसाब कसैले खोज्दैन/सोध्दैन । उसो त विशिष्ट श्रेणीमा कार्यरत एक कर्मचारीले पनि मलाई झैं उनको श्रीमान्लाई सडकमा पुर्‍याएको कहानी सुन्छु र दुखेको मन बुझाउँछु । 

– प्रणव पौडेल

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू