आर्थिक कारणले मात्र कुहिएका हुन् र नेपालका कम्युनिष्टहरु ?

आर्थिक कारणले मात्र कुहिएका हुन् र नेपालका कम्युनिष्टहरु ?

नाफाको जिन्दगी बाँचिरहेका छन्, गुणराज लोहनी । ०४५ सालमा आइएस्सी सकिनेबित्तिकै माओवादीको सदस्यता लिए । ०५६ सालसम्म नारायणी मावि चितवनमा पढाए र पूर्णकालीन राजनीतिमा होमिए । पहिलो श्रीमती उर्मिला भट्टराईलाई ०५९ भदौ ३ गते सेनाले गिरफ्तारीपछि बलात्कार गरेर मार्‍यो । उनी आफैँ लामो समय जनयुद्धमा होमिने क्रममा दीर्घरोगको शिकार भए । ०६० सालमा प्रचण्डले माओवादीनिकट शिक्षक संगठनको अध्यक्ष बनाइदिए । १० वर्ष उक्त संस्था चलाए । ०६९ साल असार ३ को बौद्ध भेलाबाट प्रचण्डको साथ छाडे । बीचमा मोहन वैद्य किरणतिर लागे । केन्द्रीय समिति सदस्य छाडेर विप्लवसँग लागे । ०७९ वैशाख २३ मा विप्लवलाई पनि छाडे । ०८० वैशाख १६ गतेदेखि पुनः किरणसँग मिलेर क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गरेका छन् । सो पार्टीको स्थायी कमिटी सदस्यका हैसियतमा हालै मात्र २३ जिल्ला घुमेर फर्किएका छन् उनी ।

– हरि गजुरेल

० नयाँ शिक्षामन्त्री सुमना श्रेष्ठको कार्यशैलीलाई कसरी नियालिरहनुभएको छ ? 

– खासै उपलब्धिमूलक देखेको छैन । 

० एक सहसचिवले मन्त्री क्वार्टरमै बस्ने सल्लाह दिँदा अनावश्यक सल्लाह दिएको भन्दै सरुवा गरिन् । हालै स्थायी कर्मचारीलाई जोकरफाल्तु बनाउने र प्रशिक्षार्थी कर्मचारी भर्ती गरेर हर्ताकर्ता बनाउने कार्यविधि बनाएकी छन् । कस्तो लाग्दै छ ? 

– दुःखद कुरा, जति पनि शिक्षामन्त्री आए तिनले नेपालको शिक्षा प्रणालीबारे राम्रोसँग अध्ययन अनुसन्धान नै गरेनन् । अन्य मन्त्रालय÷विभागझैँ शिक्षा मन्त्रालय पनि नोकरशाहबाटै चल्दै आयो । यसअघि सरकारी विद्यालयमा पढेका विद्यार्थीले मात्र सरकारी सेवा–सुविधा पाउने व्यवस्था थियो । अब निजी विद्यालयमा पढेका विद्यार्थीलाई पनि उक्त सेवा–सुविधा दिन थालियो । अहिलेसम्म मन्त्री बनेका चाहे सुमना श्रेष्ठ भन्नुहोस् वा अशोक राई, गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेल, दिनानाथ शर्मा, प्रदिप नेपाल कसैले पत्तो पाएनन् । 

० तपाईंको बुझाइमा शिक्षामा आमूल परिवर्तन ल्याउन के चाहिन्छ ? 

– एसईईमा ५ लाख ४ हजार ४ सय १४ विद्यार्थीले सहभागी छन् । १० वर्षअघि कक्षा एकमा भर्ना हुनेको संख्या १२ लाख थियो । बाँकी ७ लाख विद्यार्थी खै ? अर्थात् कक्षा १ मा भर्ना भएकामध्ये ६० प्रतिशत विद्यार्थी १० कक्षा पुगेका छैनन् । जम्मा ४० प्रतिशत १० कक्षासम्म पुग्छन्, यो मेरो आँकडा होइन सरकारी निकाय शिक्षा विभागकै तथ्यांक हो । किन ड्रप आउट हुन्छन्, किन विद्यालय दोहोर्‍याउँछन् भन्ने विषयमा राज्यले कुनै अध्ययन गरेन । समाधानको उपाय खोजेन । अहिले पनि धेरै विद्यार्थी आफ्ना भाइबहिनी हेर्नुपर्ने, भेडाबाख्रा चराउनुपर्ने कारण विद्यालय पुगिरहेका छैनन् ।

अर्काेतिर सरकारले नारामा विद्यालय शिक्षा निःशुल्क भनेको छ । तर, पाठ्यक्रम, पाठ्यसामग्रीदेखि ड्रेससम्म किन्नुपर्ने बाध्यता छ । ती किन्ने पैसा पुग्दैन÷हुँदैन र ड्रप आउट गर्छन् । अर्काे कुरा, हाम्रो शिक्षाले विद्यार्थी तान्नै सकेन, शिक्षाप्रति विद्यार्थीको आकर्षणै छैन । यही पाठ्यपुस्तक पढेर विद्यार्थी भोलि के बन्छ ? बरु खलाँसी, ड्राइभर, मोटरसाइकल वर्कसपतिर काम गर्छ । केही सिक्नतिर लाग्छ । १८ वर्षसम्म राज्यले जिम्मेवारी बहन नगर्दा बीचमै विद्यार्थी हराउँछन् । विकसित मुलुकमा १२ सम्मको शिक्षा निःशुल्क हुन्छ ।

बालबच्चाको अनिवार्य जिम्मेवारी अभिभावकको काँधमा हुन्छ । त्यहाँ प्राविधिक शिक्षालाई बढी जोड दिइएको पाइन्छ । दक्षिण कोरिया, जापानलगायत मुलुकमा हेर्ने हो भने स–साना विद्यार्थीले घडी बनाउँछन्, कम्प्युटर रिपेयरिङको काम गर्छन् । ती मुलुकमा ‘अर्न बाइ लर्न’ अर्थात् पढ्दै कमाउने शिक्षा प्रणाली छ । हामीकहाँ १० बजे स्कूल जाऊ– ४ बजे फर्किऊ । खै शिक्षाले विद्यार्थीलाई तान्न सकेको ? 

० विनोद चौधरी, उमेश श्रेष्ठ, अशोक राईलगायत माननीय नै महँगो बोर्डिङ स्कूल चलाउने, नीति नियम बनाउने ठाउँमा पनि उनीहरू नै पुग्ने, आफूअनुकूल नीति–नियम बनाउने । अनि मिल्यो त कुरा ? 

 – संविधानको धारा ३१ ले मौलिक हक ÷अधिकारभित्र शिक्षाको विषयमा दुईवटा बाचा गरेको छ– आठ कक्षासम्मको शिक्षा अनिवार्य, १२ सम्मको शिक्षा निःशुल्क । यी दुई वटा क्लजअनुसार नेपालमा निजी विद्यालय खोल्ने कुनै चान्स छैन । खोल्नै परेको खण्डमा अमेरिकालगायत मुलुकमा झैँ भौचर सिष्टममा राज्यले हाम्रा यति विद्यार्थी पढाइदे, यति पैसा दिन्छौं भन्नुपर्ने हो तर नेपालमा संविधान एकातिर छ, भइरहेको छ उल्टो । हामीकहाँ शिक्षालाई व्यापारीकरण, औद्योगीकरण र नाफामूलक बनाउने काम भइरहेको छ । कोरोनापछि दिगो पैसा कमाउने क्षेत्र भनेकै शिक्षा र स्वास्थ्य देखियो । कानुन बनाउने विधायकले नै शिक्षामा लगानी गरेपछि कसरी बन्छ देश ? 

० तपाईहरूको विरोधका बाबजुद पनि नेपालमा १७ वटा विद्यालय भारतको सेन्ट्रल बोर्ड अफ सेकेण्डरी एजुकेशन (सिबिएसई) सँग सम्बन्धन लिएर चलिरहेका छन्, हैन ?

– सेन्ट्रल बोर्ड अफ सेकेण्डरी एजुकेशन (सिबिएसई) भनेको नेपालको शिक्षा विभागजस्तै हो । त्यही बोर्डले डिजाइन गरेको पाठ्यपुस्तक यहाँका विद्यार्थीले पढ्छन् । सामाजिक शिक्षामा बुद्ध वाज बर्न इन इण्डिया भनेर लेखेको भेटिएपछि हामीले विरोध गर्‍यौं । उसको पाठ्यपुस्तक नपढाउन भन्यौँ । आन्दोलनपछि कोर्स चेञ्ज भयो । जतिखेर गिरिराजमणि पोखरेल शिक्षामन्त्री थिए, सोही समयदेखि नेपालमा सिबिएसई बोर्ड लागू हुने भयो । अहिले त्यही मातहतका दिल्ली पब्लिक स्कूल, इण्डियन मोडर्न, चाँदबाग, राई, डिएभीलगायत १७ वटा स्कूलमा यो पाठ्यपुस्तक पढाइ हुन्छ, त्यताको सम्बन्धनमा यी विद्यालय चलिरहेका छन् । त्यसका दुई वटा कारण छ, एक त विनोद चौधरीजस्ता व्यापारीले मनग्ये पैसा कमाउने भए । अर्काे, भारतसँग सम्बन्ध राम्रो हुने भयो ।

०६३ सालपछि जति पनि सरकार चलेको छ, ती सबै पार्टीका आ–आफ्ना बोर्डिङ स्कूल छन् । अलि अघि मैले गरेको एउटा अध्ययनलाई आधार मान्ने हो भने एमालेको ६० प्रतिशत, कांग्रेसको ३० प्रतिशत र माओवादीको १० प्रतिशत लगानी छ । त्यो बोर्डिङबाट आएको पैसाले पार्टी चलेका छन् । हामीकहाँ उत्पादित जनशक्ति विदेशका लागि हो । पाठ्यक्रम नै त्यसरी डिजाइन भएको छ । सन २००० मा ओइसिडी नामक संस्थाले जे शिक्षा नीति बनाएको छ, त्यहीमार्फत इएफए, एसएसआर, एसएसपीलगायत कार्यक्रम चलिरहेको छ । यहाँको जनशक्ति विदेश जाने भएपछि बोर्डिङको चार्मिङ बढ्यो । एक वर्षमा एक लाख ८ हजारले नो अब्जेक्सन लेटर लिएर विदेश गएका छन् ।

यसरी हरेक वर्ष झण्डै १ खर्ब पैसा शिक्षाकै नाममा विदेश पुगिरहेको छ । यो राष्ट्र बैंकको तथ्यांक हो । नेपाली शैक्षिक बजेटको ७० दशमलव ४७ प्रतिशत पैसा यहाँबाट विदेश पुग्छ । एकातिर पैसा, विद्यार्थी, श्रम, जनशक्ति सबै विदेश पुग्ने भयो । जब नेपाल सरकारले डब्लुटिओसँग सम्झौता ग¥यो, त्यो सम्झौता शिक्षामा पनि लागू भयो । प्रचण्ड, सुमना एक्लैले चाहेको भरमा नेपालको शिक्षा प्रणाली परिवर्तन हुने हो र ! त्यसका लागि त राज्य प्रणाली नै फेरिनुपर्ने हुन्छ ।

० ०६० सालदेखि माओवादीनिकट शिक्षक संगठनको अध्यक्ष झण्डै एक दशकसम्म रहनुभयो । त्यसपछि प्रचण्डसँग मोहभंग भएर कहिले विप्लव, कहिले वैद्यतिर घुम्नुभयो । अहिले फेरि किरणजीहरूसँग हुनुहुन्छ । अलि बढी अस्थिर भइएछ भन्ने लाग्दैन ? 

– चितवनको नारायणी माध्यमिक विद्यालयलाई यो स्थानमा ल्याउन योगदान गर्नेमध्येको एक हुँ । ०५६ सालसम्म त्यहाँ पढाएँ । ०५२ सालदेखि पत्रकारिता गरें । जनयुद्धताका प्रचण्डको पहिलो अन्तर्वार्ता लिने मै हुँ । म अलि फरक विचारधारा बोक्छु, कम्युनिष्ट हुनु भनेको सबै कुरा देश र जनताका लागि त्याग्नु हो भन्ने भावबाट प्रेरित छु । कम्युनिष्ट हुनका लागि भयंकर अध्ययन, अनुसन्धान गर्नुपर्छ । हामीलाई लाग्छ कि नेपालका कम्युनिष्ट आर्थिक कारण बढी कुहिए तर कारण आर्थिक मात्र होइन । नयाँ जनवादी क्रान्ति भनेर जनयुद्धमा होमियौं । जनयुद्धमा लाग्दै गर्दा नेपालको अर्थ र सामाजिक व्यवस्था परिवर्तन भइसकेको थियो तर राजनीतिक अर्थशास्त्र, दर्शन, समाज–विज्ञानको अध्ययनै भएन । ०५७ सालसम्म प्रचण्डजीको नयाँ जनवादी क्रान्तिको कार्यदिशा सही थियो । सेनासँग लड्ने भइसकेपछि कार्यदिशा चेञ्ज गर्नुपर्ने थियो, सक्नुभएन । उहाँमा अध्ययनको कमी भयो । आफ्नो अध्ययनले नपुगेपछि स्वतः पुरानो सत्तामा आउनुभयो । किरणजीमा पहिला त्यही समस्या देखियो । छलफल गरेर अहिले एक छौं । विभिन्न २१ वटा जिल्लाका ६३ ठाउँ घुमेर त्यहाँको अध्ययन गरेर फर्किएका छौं भर्खरै । 

० जनतामाझ गएर अध्ययन गर्दा के पाउनुभयो ? 

– हिजो जनयुद्ध शुरु गर्दा नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक छ भनेर लडिएको हो । त्यस समयमा साक्षरतादर ५२ प्रतिशत रहेकोमा अहिले ७६ प्रतिशत पुगेको छ । किसानको संख्या ९५ प्रतिशत रहेकोमा ६४ भन्दा तल झरेको छ । कृषि क्षेत्रको जिडिपी ७६ प्रतिशत रहेकोमा २४ प्रतिशतमा खुम्चिएको छ । केही इण्डिकेटर पूर्णतः परिवर्तन भएका छन् । जस्तो : कैलालीमा कमैयाहरू मुक्त भए । कमैया बसेबापत मुश्किलले वर्षमा ६ क्विन्टल धान अर्थात् १८ हजार पाउँथे । अहिले टिकापुरमा कमैयाको शिविर छ । उनीहरूले रिक्सा चलाएर होस् वा अन्य काम गरेर दैनिक १ हजारभन्दा बढी कमाउँछन् । पहिले बुकुरोमा बस्थे, अहिले टिनले छाएको घरमा बस्छन् तर गरिबी जहाँको त्यहीँ छ । पहिला सामन्तको उत्पीडन थियो अहिले पुँजीपतिको पेलाइमा छन् । प्रचण्ड पनि हिजो सामन्तसँग लडुन्जेल ठीक हुनुहुन्थ्यो तर जब उहाँ दलाल, पुँजीपतिसँगै साँठगाँठ गर्नुभयो । अनि विग्रन थाल्नुभयो । 

० तपाईंले हिजो सहकार्य गर्नुभएको बाबुराम, विप्लव, वैद्यहरूलाई आज कसरी हेर्नुहुन्छ ? 

– ०६३ सालमै प्रचण्डलाई कमरेड, हामी गलत बाटो हिँड्दै छौं, बिग्रियौं भने, सुन्नुभएन । ०६५ सालमा बाबुरामजीले शिक्षाको बजेट बनाउने जिम्मेवारी दिनुभयो तर मैले बनाएको बजेट कार्यान्वयन भएन । बाबुराम कम्युनिष्ट नेता नै होइनन् । यद्यपि, उनको अध्ययनको पक्ष राम्रो छ । उनको मुख्य उद्देश्य नै गणतन्त्र ल्याएर त्यहाँभन्दा अगाडि नजाने थियो । किरणजीको सैद्धान्तिक, वैचारिक सबै पक्ष राम्रो छ । इमान्दार मान्छे पनि हो । विप्लवको कार्यालय सचिव भएर बसें, तीन वर्ष । मान्छे साहसी तर वैचारिक स्तर एकदमै कमजोर । त्यही कारण जानेरै उनले मलाई आफूसँग टिममा राखेका थिए । उनमा अध्ययन छैन । पछिल्लो नेपाली समाज कहाँ पुगेको छ ज्ञान छैन । भ्रम थियो बम पड्काएर सबै ठीक पार्न सकिन्छ तर सकिएन । जनयुद्ध ठूलो प्लानिङ गरेर भएको थियो । वैचारिक रूपमा समस्या भएर ०७४ सालपछि अलग भए । केन्द्रीय समितिको बैठकमा फरक मत राखेँ । स्वीकार पनि गरे । पार्टी खोलेको घोषणा गरेको दिन मात्र मसहितका केही साथीलाई कारवाहीको घोषणा गरे । 

० बाबुराम भट्टराई, सिपी मैनाली, चन्द्रदेव जोशी, राधाकृष्ण मैनाली, वामदेव गौतजस्ता हिजोका भर्भराउँदो कम्युनिष्टको आज जुन दुर्दशा देखिइरहेको छ । यसलाई कसरी लिनुहुन्छ ?

– वैचारिक समस्या नै मुख्य हो । तपाईंले जो–जसको नाम लिनुभयो उहाँहरूले नेपालको पछिल्लो समाजको अध्ययन गर्न सक्नुभएन । कुनै बेला हिरो भएको सिपी मैनालीहरूले परिस्थितिअनुसार अध्ययन गर्न सकेनन् । वामदेव त बिचरा हुन्, कुनै विचारक होइनन् । नयाँ योजना बनाउन नसकेपछि पुरानै ठाउँमा फर्किने हो । 

० ०८४ अघि नै नेपालको राजनीतिमा नयाँ ट्विस्ट आउँछ भन्नुहुन्छ, त्यसको आधार के हो ? 

– अहिले नेपालको राजनीतिमा बडा गजब र रमाइला परिघटना देखिँदैछ । सर्वसाधारणको कुरै छाड्नुहोस् उद्योगपति, ठेकेदारहरू नै सडकमा छन् । व्यापारी र उद्योगपतिले आत्महत्या गरिरहेका छन् । जुन देशका उद्योगपति र ठेकेदार सडकमा हुन्छन् भने यही अवस्था लामो समय रहिरहन्छ भन्ने लाग्दैन । राष्ट्र बैंकको तथ्यांकअनुसार ६६ खर्ब रुपैयाँ बैंकमा छ । ६ खर्ब रुपैयाँ लिक्विडेसनमा छ । कसैले ऋण लिँदैन । ब्याज घटाउँदा पनि कोही ऋण लिइरहेको छैन । यसले के संकेत गर्छ ? वित्तीय अवस्था डरलाग्दो छ । यसले नयाँ विद्रोह ल्याउँछ कि भन्ने संकेत गर्छ, त्यो विद्रोह श्रीलंकाजस्तो हुन्छ वा अन्य भन्न सकिँदैन । हिन्दूवादीले टाउको उठाइरहेका छन्, सत्ता नै सर्वसर्वा होइन भन्ने कम्युनिष्ट विचारधारा बोक्नेहरू हामी एक भइरहेका छौँ । 

० तपाईंका सहकर्मीहरू पटक–पटक मन्त्रीदेखि प्रधानमन्त्री भए तर तपाईंले स्वास्थ्योपचारका लागि सात लाख रुपैयाँ माग्दा पनि पाउनुभएन, मन दुखाएर पार्टी छाडेको हो ? 

– म मा न्युरो मस्कुलर डिसअर्डर देखियो, इण्डियातिर अमिताभ डिजिज भन्दा रहेछन् । मसल र न्युरोले काम नगर्ने । ०६५ साल चैत्र १४ गते ठोकर्पा भिडन्तमा वर्षमान पुन, अग्नि सापकोटा, ओनसरी घर्ती र म सँगै थियौँ । सेनाले बमबारुद गर्दा भागदौड चल्यो । त्यही क्रममा १० फिट अग्लो कान्लोमा अग्निजीलाई तान्दा पछाडिको हड्डी कट्याक्क भएको थियो । त्यहीपछि यस्तो समस्या देखियो । उपचारका लागि वीर अस्पताल पुगेँ । डा. गणेश गुरुङको टिमले सात लाख लाग्छ बाहिर पठाइदिनुहोस् भनेर चिठी लेख्नुभयो । प्रचण्डले उपचार खर्चका लागि निवेदन दिनुहोस् भन्नुभयो । निवेदन दिएँ, त्यतिखेर बाबुराम प्रधानमन्त्री हुनुहुन्थ्यो । प्रचण्ड र हामी सँगै थियौं ।

तर, विचार फरक भएका कारण बाबुरामजीले उक्त रकम दिनुभएन । त्यतिखेर देवेन्द्र पौडेल राजनीतिक सल्लाहकार थिए । म दिल्ली जान लाग्दा उनले फोन गरेर बाबुरामले त्यति पनि गरिदिनुभएन, स्वास्थ्य लाभको कामना भने । ०५९ सालमा उर्मिला भट्टराई (श्रीमती) लाई सेनाले गिरफ्तारीपछि बलात्कार गरेर मा¥यो । गुमाउन बाँकी केही थिएन तैपनि क्रान्ति देशका लागि गरिएको थियो तसर्थ कहिल्यै दुःख मानिनँ । अहिले पत्रकरिता गरेर, श्रम बेचेरै बाँचिरहेको छु । यसैमा गर्व लाग्छ ।
 

टिप्पणीहरू