आजको विश्व र आम नागरिकको दायित्व

आजको विश्व र आम नागरिकको दायित्व
सुन्नुहोस्

शक्तिशाली राष्ट्रबीचको शक्ति प्रदर्शनका कारण विश्व शान्ति संकटमा परेको भान हुँदैछ ।

रुस–युक्रेनबीचको युद्धमा नेटोले देखाएको पक्षधरता, इजरायले गाजामाथि गरेको अमानवीय र हिंस्रक व्यवहार, अफ्रिकन मुलुकले आर्थिक स्वतन्त्रताको निम्ति युरोपियन युनियन र अमेरिकाविरुद्ध चालेका कदम सतहमा देखिने केही कारण हुन् । यस्तो अवस्थामा संयुक्त राष्ट्रसंघले युद्ध रोक्न कुनै प्रभावकारी भूमिका निभाउन सकेको छैन । बरु दोस्रो विश्वयुद्धताकाझैं शक्ति राष्ट्रहरूको नेतृत्वमा ध्रुवीकरण हुँदै गइरहेको छ । 

पूर्वी युरोपेली कम्युनिष्ट राष्ट्रहरुको गठबन्धन वार्साको विघटनसँगै शीतयुद्ध अन्त्य भएको अनुभव धेरैले गरेका थिए । तर, नेटो समूहले पेरेस्तइका र ग्लोनोस्तका नाममा कम्युनिट पार्टीकै महासचिव मिखाइल गोर्वाचोभमार्फत् सोभियत संघलाई ध्वस्त गर्न भ्याए पनि शक्तिको भोक भने कसैमा निभेको देखिएन । त्यसैले पूर्व सोभियत गणराज्यलाई ढाल बनाउँदै रुसी महासंघलाई कमजोर बनाउने नीति अख्तियार गरेको पाइन्छ ।

फलस्वरुप अहिले रुस युक्रेन युद्ध समाप्त हुने कुनै छेकछन्द छैन । पूर्वी सामुद्रिक इलाकामा चीनको गस्ती बाक्लिएको छ । ताइवान छेउछाउ तनाव बढेको छ । इजरायली शक्तिमा बढोत्तरी भएको छ । यस्तो बेला विश्वशान्तिका लागि गठित संयुक्त राष्ट्रसंघ भने केही गर्न नसक्ने अवस्थामा छ । राष्ट्रसंघले युद्ध रोक्न दिएको आदेशको इजरायल र अमेरिकाले कुनै सुनवाइ गर्दैनन् । यो समय राष्ट्रसंघको इतिहासमा सबैभन्दा दुःखद र निर्वल क्षणको रूपमा देखिएको छ । राष्ट्रसंघको असफलताका कारण नयाँ विश्व ध्रुव जन्मने वातावरण बनेको छ ।

दोस्रो विश्वयुद्धमा जस्तै विश्व शक्ति राष्ट्रबीच एलाइड (मित्र) र एक्सिस (धुरी) राष्ट्रका रूपमा विभाजन हुने खतरा टड्कारो छ । अमेरिकन र युरोपियन अनि केही एशियाली राष्ट्रहरू एकातर्फ र अर्को खेमामा रुस, चीन, मध्यपूर्वी एशिया, अफ्रिका र केही ल्याटिन अमेरिकी देश गोलबन्द हुँदैछन् । यसैकारण आउँदो एक डेढ वर्षभित्र अमेरिकाको आधिपत्य कमजोर हुने र राष्ट्रसंघको अस्तित्व नै समाप्त हुने सम्भावना पनि जिउँदै छ । 

एशियाका दुई शक्तिशाली राष्ट्र चीन र भारतबीच सहकार्यको सम्झौता भएको अवस्थामा बेग्लै स्थिति सिर्जना हुन सक्छ । जुन सजिलो कुरा चाहिँ होइन । आउँदो चुनावमा भारतीय जनता पार्टीबाट प्रधानमन्त्रीका निम्ति तेस्रोपटक अघि सारिएका नरेन्द्र मोदीको सोच, कार्यशैली र धार्मिक पक्षधरताका कारण भारत पुनः द्वन्द्वतर्फ लम्किने खतरा छ ।

चीन र पाकिस्तान विरोधी सेन्टिमेट र हिन्दू धर्मको पक्षधरताका कारण भाजपाले सत्ताका स्वाद फेरिरहन पाएकोमा २ मत छैन । भोटबाट जित्नु मात्रै लोकतन्त्र होइन, मोदीको शासन विस्तारै फासीवादतर्फ बढेको भारतीय बुद्धिजीवीहरुको आरोप छ । नेपालमा भारतविरोधी सेन्टिमेटलाई भजाएर सत्तामा पुगेजस्तै चीन र पाकिस्तानविरोधी सेन्टिमेटलाई भाजपा र मोदीले मज्जैसँग क्यास गरिरहेको देखिन्छ । 

मध्यपूर्व एशियाली देशविरुद्ध इजरायललाई दिएको साथ कतैबाट छिपेको छैन । यसै कारण अमेरिकी पक्षधर र समर्थकले पनि धेरै समय उसलाई साथ दिनेछन् भन्ने अवस्था होइन । यसबीच अमेरिकाकी कट्टर शत्रु मानिएका इरान र मित्र ठानिएका साउदी अरबजस्ता देश एकअर्कासँग नजिकिँदै गएको अवस्था छ । अफ्रिकन मुलुकमा त अमेरिका र फ्रान्सका उपनिवेश ठानिएका देशमा पनि विद्रोहको ज्वाला दन्कँदो छ । यी सबै घटना आजका विश्वका भयावह दृश्य हुन् ।

युद्ध होइन शान्तिका निम्ति पहल गर्ने, युद्ध रोक्ने नाममा युद्ध थोपर्ने अनि शान्तिको नाममा हिंसालाई प्रश्रय दिने आ–आफ्नो सरकार र नेताहरूविरुद्ध जनमत सिर्जना गर्न आवश्यक छ । यो काममा विश्वका न्यायप्रेमीले ढिला गर्नु हुँदैन । किनभने परमाणु हतियार भएका देशको संख्या बढेको छ र सन्की शासक वा आतंककारीको हातमा आणविक हतियार पर्न सक्ने खतरा बढेको छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू