ऐनाको सामुन्ने परेपछि कसको लुक्छ तस्बिर ?

ऐनाको सामुन्ने परेपछि कसको लुक्छ तस्बिर ?

नेपाली मिडिया जगतमा किशोर श्रेष्ठ र जनआस्थाको छुट्टै शान छ । समाजमा लुकेका र लुकाउन खोजिएका महत्वपूर्ण घटनाहरु उजागर गरेर सँधै चर्चाको शिखरमा रहिआएको लोकप्रिय पत्रिका जनआस्थाको उचाइ घटाउन विरोधीहरुले विभिन्न प्रसंग कोट्याउने गरेका छन् । वि.सं. २०५९ को श्रीषा कार्की प्रकरणलाई बेलाबेलामा उछालेर जनआस्थाको साख गिराउने दुष्प्रयास गरेको पाइन्छ ।

कलाकार भनेका देशका गहना हुन् । देखिने, देखाउने चीज गहना हो । राष्ट्रको अमूल्य सम्पत्तिको रुपमा रहेका कलाकारहरुले बाटो बिराउँदा समाजको स्थिति के होला ? अझ अभिनेता–अभिनेतृ भनेका त आइडल हुन् । समाजमा उनीहरुको सिको भइरहेको हुन्छ, । इज्जत–प्रतिष्ठा त्यत्तिकै हुन्छ । सेलिब्रेटीका फ्यान हुन्छन् । रोलमोडलको रुपमा गनिएका मान्छेले आफैं बदनामी हुने काम नगरे राम्रो नि !

आफ्नो पत्रकारिताको धर्म नभुलेकाले पत्रकारिता जगतमा जनआस्थाको बेग्लै मान र शान छ । सूचनालाई अत्यन्त माया गरिन्छ । सूचनादाताको संरक्षणमा सदैव अग्रसर भएको पाइन्छ । त्यसैले अन्त नआएका महत्वपूर्ण सूचना जनआस्थामा छापिने आम मानिसको विश्वास छ ।

जनआस्था साप्ताहिक खोजीखोजी पढ्ने पत्रिकामध्येको पहिलो हो । पाठकहरु खासगरी नदेखिएकै कुरा देख्न चाहन्छन् । लुकेको समाज नियाल्न चाहन्छन् । जनआस्थाले सकेसम्म नलुकाई देखाउँदै आएको छ, त्यसैले मानिसहरु बुधबार जनआस्था साप्ताहिक पढ्न व्यग्र हुन्छन् ।

मिडिया भनेकै समाजको दर्पण हो । ऐना जस्तो अटल भएर समाजलाई जस्ताको तस्तै देखाउनुपर्छ पत्रकार र सञ्चारमाध्यमले । आम मानिस समाज सुहाउँदो हुनुपर्छ भने कलाकारहरुको छवि कस्तो हुनुपर्ला ? कलाकारहरुको निजी जीवनलाई पनि समाजले अत्यन्त चासोका साथ हेर्ने गरेको पाइन्छ । आफूलाई मनपर्ने कलाकारहरुलाई आम मानिसले देवताकै रुपमा पुज्ने गरेको हामी पाउँछौं । आफ्नै नजरमा गिर्ने त्यस्तो काम किन गर्ने ? जुन अरुले थाहा पाउँदा मर्नै परोस् ! अरुको नजरमा सही वा गलत जे भएपनि आफूलाई ठीक लागेको मान्छेले गर्नु पाउनुपर्छ । तर गरेको व्यहोर्छु भन्ने हिम्मत त राख्न सक्नुपर्‍यो नि ! ढाकछोप गरेर कतिञ्जेल चल्छ रु बाध्यता होस् या सोख– परिणाम झेल्नसक्ने तागत मान्छेमा हुनुपर्छ ।

अरुले देख्दैन, थाहा पाउन्न भनेर खुसुखुसु कुकर्ममा लिप्त हुनु मान्छेको मूर्खता हो । व्यक्तिको जम्मा दुईवटा आँखा हुन्छ, तर उसलाई हेर्ने हजार आँखा हुन्छन् । फेरि ‘भित्ताको पनि कान हुन्छ’ भनेर त्यसै कहाँ भनिएको हो र ? एक त समाज नै एउटा ऐना हो । त्यसमाथि समाज नियाल्ने दर्पण जो छ मिडिया । वास्तवमा यहाँ निजी भन्ने केही छैन । हाम्रो आफ्नै भन्ने ज्यान त हाम्रो होइन, एकदिन सबैले आफ्नो शरीर छोडेर, संसार त्यागेर जानैपर्छ । यसको मतलब, व्यक्तिले बाँचुञ्जेल आफ्नो गोपनीयता नै नराख्ने भनेको होइन । कुरा यत्ति हो कि गोप्यता भंग हुँदैमा डर, लाज र घीनले आफैंलाई नखाओस् । ‘भएको देखियो त के भो’ भन्नसकिने होस् ।

यौनकै कुरा गर्दा सार्वजनिक रुपमा बन्देज छ, गोप्य रुपमै गरिन्छ । श्रीमान्–श्रीमती वा उमेर पुगेका महिला–पुरुष आपसी सहमतिमा लुकेर आलिंगन गरेको देखेपनि कसैले केही भन्दैन । कसैमाथि जबरजस्ती करणी पनि गोप्य रुपमै गर्न खोजिन्छ तर कसैले देखे फन्दामा त परिन्छ । संसारमा लुकेका, लुकाइएका ठूल्ठूला काण्ड तथा रहस्यहरु मिडियाले पर्दाफास गरेका छन् ।

जनआस्थाका समाचारले देशद्रोही र भ्रष्टाचारीहरुलाई बारम्बार खबरदारी गर्दै आएको जगजाहेर छ । २०५९ सालको सोही समाचारले कलाक्षेत्रमा ठूलो हंगामा मच्चियो । हिजोको शाहीकालमा दरबार हल्लाउने पत्रिका चानचुने कसरी होस् ? जनआस्थामा समाचार छापिएपछि अरु त अरु भ्रष्टाचार काण्डमा मन्त्रीको समेत उतिबेलै जागिर चट् भएको छ, मुलुकका ठूलाठूला ऐन, कानुनहरु जनहितमा परिवर्तन भएका छन् । अहिले पनि रवि लामिछाने वा विनोद चौधरी जस्ता भ्रष्टाचारी अनि अराजक तत्वहरुको सप्रमाण जनआस्थाले लेखिरहेको छ । पत्रिकाको सशक्त पक्षलाई पनि कमजोर वा गलत भनेर हुन्छ ?

मिडिया नै भावनामा बहकिएर आफ्नो कर्मबाट विचलित हुने हो भने समाजको यथार्थ चित्रण कसरी होला रु पत्रकारले नगरे कसले गर्ला ? जसरी देश र जनताको रक्षाका लागि सेनामा भर्ना भएका जवानहरुले अगाडि आफ्नै बाबु शत्रु छ भनेपनि गोली हान्नुपर्छ, दुश्मनको सफाया गर्नुपर्छ । त्यस्तै मिडिया पनि आफ्नो धर्ममा तटस्थ भएर लाग्नुपर्छ । श्रीकृष्ण नभइदिएका भए वा भावनामा बहकिएरै अर्जुनले युद्ध नलडेका भए महाभारत कथा खास हुने नै थिएन । अर्जुनले आफ्नो क्षेत्रीय धर्म नछोडेकैले संसारमा महाभारत युद्धको विशेष महिमा छ ।

ऐनाले वस्तु वा आकृतिलाई जस्ताको तस्तै देखाउँछ । ऐनाले जे हो त्यही देखाउने भएकोले नै हामी ऐनामा विश्वास गर्छौं । आफू राम्रो–नराम्रो कस्तो देखिएको छु भनी हरेक दिन ऐना हेर्छौं र ऐनामा नराम्रो देखियौं भने मिलाउँछौं । कपडा, कपाल, दाह्री वा आफूलाई के–के हो मिलाउनुपर्ने मिलाउँछौं । त्यस्तै मिडियालाई हेरेर आफैंलाई करेक्सन गर्ने हो नि ! नांगो त यो दुनियाँमा भित्र सबै छन् भनेर आफूलाई दह्रो बनाउन सक्नुपर्छ । ऐनाको त के दोष र रु कालोलाई कालै सेतोलाई सेतै देखाइदिन्छ । ऐना सामुन्ने परेपछि कहाँ लुक्छ र तस्बीर रु केही नलुकाई समाजको कथा छर्लङ्ग पार्नु नै मिडियाको काम हो । नत्र के काम ऐनाको ? के काम मिडियाको ?

सूचना लुकाउनु बरु पितपत्रकारिता हो । राति चोरी हुँदा वा चोर आउँदा भुकेन भने घरको रखवारीमा राखिएकोे कुकुरको के काम रु समाजको निगरानी गर्ने भएकैले पत्रकारितालाई अन्तर्राष्ट्रिय स्तरमै वाचडगको संज्ञा दिइएको छ । कथाले माग्छ भने खोजीखोजी भएपनि समाजको यथार्थ स्थिति सामुन्ने ल्याउनैपर्छ । संसारमा ठूल्ठूला आपराधिक तथ्य पत्ता लगाउन, अपराधीलाई पक्रन सुरक्षा निकायहरुले कुकुरकोसमेत विशेष प्रयोग गर्छन् ।

मिडिया के हो ? थाहा छैन । मिडिया चलाएर मिडियाकै बेइज्जती गर्ने नौटंकी देख्दा अचम्म लाग्छ !!! हालै प्रोजेक्ट कुरा भन्ने युट्युब च्यानलमा श्रीषाकै प्रसंग कोट्याएर किशोर श्रेष्ठ र जनआस्थाको बदनाम गर्न खोजिएको छ । जसरी अरु केही नपाएर हालका गृहमन्त्री रवि लामिछानेले विगतमा त्यही कुरा गरेर किशोर र जनआस्थाको साख गिराउने असफल प्रयास गर्दै आए । सायद उनकै परिचालन होला प्रोजेक्ट कुरा पनि ! किनकि त्यसमा उनको बखान पनि छ । रविकै शैलीमा रातो पासपोर्टको कुरा पनि त्यसमा उछालिएको छ । अरे ! त्यो बेला प्रेस काउन्सिल अध्यक्षको हैसियतमा सरकारले श्रेष्ठलाई रातो पासपोर्ट नदिएर अरुलाई दिनु थियो ?

सूचना विभागबाट प्रेसपास नलिई टेलिभिजनमा काम गरिरहेको अवस्थामा प्रेस काउन्सिल नेपालबाट सोधखोज गरिँदा दुईथरी नागरिकता र पासपोर्टमा समेत रविले किर्ते गर्दै आएको तथ्य छताछुल्ल भयो । त्यही भएर नेपालको नागरिकता देखाएर प्रेसपास लिन नसकेका रहेछन् । अमेरिकाको नागरिकता लिएर नेपालमा लुकीचोरी बसेको पछि स्वयम्सिद्ध भयो !

त्यतिबेला श्रेष्ठ प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष थिए । कुरा जोडतोडले उठेपछि लामिछाने उनीसँग भाउन्न हुने नै भए । त्यसैले किशोर र जनआस्थालाई नजाती देखाउन अरु केही नपाएर चर्कोचर्को स्वरमा श्रीषा र जनआस्थाको प्रसंग कोट्याउने गरेका थिए । तर मिडियाले कालोलाई कालै देखायो, सेतोलाई सेतै देखायो । के बिरायो ?

प्रोजेक्टको कुरामा ‘ब्लु जर्नालिज्म किल्ड एक्ट्रेस’ भनेर दोषारोपण गरिएको छ । के हो स्वतन्त्र पत्रकारिता ? के हो पितपत्रकारिता ? पितपत्रकारिता त त्यो हो, जसले सूचना लुकाउँछ, घटनालाई तोडमरोड गर्छ । नत्र ऐनाले त जस्तोलाई त्यस्तै देखाउनैपर्छ होइन र ?

भोकमरीले मर्न लागेको एउटा बच्चालाई गिद्धले लुछिरहेको अवस्थामा बच्चालाई बचाउनतिर नलागी एउटा फोटोपत्रकारले खिचेको फोटो विश्वचर्चित हुन पुगेको र ठूलो अन्तर्राष्ट्रिय अवार्डसमेत पाएको पत्रकारिताका अग्रजहरु बताउँछन् । त्यस्तै पत्रकारले पनि भावनामा नबहकी समाजको यथार्थ चित्र प्रस्तुत गर्न सक्नुपर्छ र यही नै पत्रकारको पेशागत धर्म हो भनी पत्रकारिता तालिमहरुमा बताइन्छ पनि ।

पत्रकारितामा समाजको पत्र–पत्र प्रदर्शित हुनुपर्छ । सञ्चारमाध्यम त झन् त्यो दर्पण हो, जसले अगाडि पछाडि, दायाँबायाँ चारैतिर देखाउन सक्छ । चौथो अंग नै भनिन्छ । वाचडग त्यसै भनिएको होइन, देखिएको मात्र नभई नदेखिएको पनि खोतलेर देखाउन सक्छ मिडियाले । जनआस्था साप्ताहिक यति माथि छ र पनि आजसम्म आकर्षक देखिन रंगीचंगी कलेबरमा छैन । सेतो पृष्ठमा काला अक्षरहरु प्रस्ट देखिन्छन् ।

अहिले अनलाइन भर्सनमा पनि जनआस्थाको प्रस्तुति उस्तै पाउँछौं । नेपालमा साप्ताहिक पत्रिकामार्फत् नौलो शैलीको खोजी पत्रकारिताको अभ्यास अघि बढाउने किशोर श्रेष्ठ, शम्भु श्रेष्ठ, राजेन्द्र स्थापितहरु नै हुन् । नेपालमा प्रेस स्वतन्त्रता उनीहरुकै बलमा आजसम्म बाँचिरहेको तथ्य पनि त छर्लङ्ग छ । किशोरवयदेखि आजसम्म निडर, निर्भिक भएर  कलम चलाउने किशोर श्रेष्ठ नेपाली पत्रकारिताका हिरो होइनन् ? त्यसै बदनाम गर्न खोजेर हुन्छ ? समाचार लेखेको निहुँमा तत्कालीन प्रधानसेनापतिले गोली हानी मार्ने धम्कीमा समेत नडगी लेख्दै आएका मान्छे पो !

विश्व प्रेस काउन्सिलका महासचिवसमेत रहेका उनलाई विश्वकै पत्रकारिताको रुप पनि थाहा छ । ‘अग्रणी मिडिया हाउस भनिएकाको पत्रिकामाभन्दा महत्वपूर्ण सूचना जनआस्थामा छापिन्छ’ भन्नेहरु निकै छन् । नारायणगढको पुस्तक पसलमा जनआस्था किन्न आएका पाठकले भनेको सुन्नेमा पुस्तक पसलकी साहुनी पनि साक्षी छन् ।

टिप्पणीहरू