सुनसँग कमरेडहरूको यो कस्तो साइनो

सुनसँग कमरेडहरूको यो कस्तो साइनो
सुन्नुहोस्

सुनसँग माओवादी नेताहरूको के होला साइनो ? सरकारी निकाय नेपाल राष्ट्र बैंकसँग जम्मा दुईवटा मात्र सुन पगाल्ने मेसिन छ तर त्यस्तै र उति नै संख्यामा चीनबाट पोहोर मेसिन भित्र्याएको भेटिन्छ– तामाङ प्रनुज ट्रेडर्स प्रालिले । अब प्रश्न उठ्छ, को बलियो– राज्य कि व्यक्ति ?

राष्ट्र बैंकका अनुसार पौराणिक प्रविधिको एउटा र (अत्याधुनिक) इलेक्ट्रोनिक प्रविधिको गरी दुई वटा मात्र सुन पगाल्ने मेसिन नेपालमा छ । तर, यसबीच निजी कम्पनीले दुई वटा सुन गाल्ने मेसिन भिœयाएको कागजत भेटिएको छ । भेप प्रकरण उत्कर्षमा पुगेकै बेला तामाङ प्रनुज ट्रेडर्स प्रालिले रसुवा भन्सार हुँदै २ वटा मेसिन ल्याएको हो ।

कम्पनी रजिस्ट्रार कार्यालयमा ०७५ फागुन ५ मा दर्ता भएको उक्त कम्पनीको संस्थापक ओमकुमारी गुरुङ, पार्चे ८ कास्की (ना प्र नम्बर १३१४७५) र चौरीदेउराली काभ्रेपलाञ्चोक (१२८४१०) का नारायणप्रकाश लामाको संयुक्त नाममा रहेको उक्त कम्पनीले २ वटा सुन पगाल्ने मेसिन गत जुन ८, २०२३ मा रसुवा नाका हुँदै चीनबाट भित्र्याएको थियो । सो कम्पनीले आन्तरिक राजश्व कार्यालय गोकर्णेश्वरमा स्थायी लेखा नम्बर ६०६७३६१० मार्फत कारोबार गरिरहेको छ ।

अहिले ती सुन पगाल्ने मेसिन कहाँ, कुन हालतमा छ ? कसरी ल्याइयो ? यत्रो भन्सार तिरेर पाँच पाँच केजी सुन पगाल्ने मेसिन ल्याइएको छ भने त्यसबाट कति सुन पगालियो र ती सुन कहाँ लगियो ? कतै लेखाजोखा छैन । टक्सार विभागका कर्मचारीका अनुसार राष्ट्र बैंकसँग भएको सुन पगाल्ने मेसिनको बजार मूल्य १२ लाख हाराहारी छ । तामाङ प्रनुज ट्रेडर्सले भने वैधानिक बाटोबाटै २ लाख ७ हजार ६७३ भन्सार तिरेरै उक्त मेसिन भिœयाएको देखिन्छ । रमेश खड्का नामक अधिकृतले त्यसमा हस्ताक्षर गरेका छन् । कतै यो कम्पनी नै वर्षमानका भाइले सोझा नेपालीलाई भरिया बनाएर खडा गरेका त होइनन्, शंकाको सुई त्यतातिर सोझिएको छ ।

भनिन्छ, हाल मोबाइल बन्द गरेर फरार रहेका वर्षमानका कान्छो भाइ प्रनिशले उक्त मेसिन ल्याएका हुन् । यसअघि राजस्व अनुसन्धान विभागले टोखा र सोह्रखुट्टेबाट मेसिन बरामद गरेको थियो । तर, उक्त निकायले दिन्छु भनेरसमेत सो मेसिन टक्सार विभागलाई दिएको छैन । यसर्थ टक्सारले झण्डै ५० लाख खर्चेर अर्काे अत्याधुनिक सुन पगाल्ने मेसिन खरिद प्रक्रिया अगाडि बढाएको छ । तिनै प्रनिशले रोल्पामा २ वटा सुनखानी चलाएको बताइन्छ । खानी विभागले चार महिनाअगाडि ती खानीको अनुगमन गरेको थियो ।  

यसबारे सरकारी निकायहरूले हाल मोबाइल (९८४९४५१८१२) बन्द गरेर बसेका वर्षमानका भाइसँग केही सोधखोज गरेका छैनन् । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशका दाइले सुनकै नाममा चिनियाँहरूलाई ठगेको त भिडियो नै छ । यसबीच, सुन तस्करीमा जोडिएकी र दावाकी कान्छी श्रीमती अमला रोक्काको कल डिटेल नै चेक गरेन सरकारी निकायले । सुन तस्करीको आरोपमा जेल परेका दावा छिरिङले काठमाडौं–२९, ठमेलमा चलाएको ‘भियना मल्टिप्रपोज ग्रुप प्रालि’मा वर्षमान पुनका कान्छा भाइ प्रनिश पुन मगरको ३० हजार कित्ता सेयर रहेको देखिन्छ ।

अहिलेसम्म सबैभन्दा बढी परिमाणमा संलग्न मुख्य अभियुक्त सँगै बसेको र खाना खाएको वर्षमान पुनको तस्बिरसमेत केही महिनाअगाडि सार्वजनिक भएको हो । फलफूल व्यापारी वाङ दावाजिनसँग कुराकानी गरेकै आधारमा कृष्णबहादुर महरा पक्राउ परेको तर वर्षमानको परिवारले रोल्पामा दुई वटा सुनखानी नै दर्ता गरेको विषय केहीअघि संसदमा रोल्पाकै एमाले सांसद ईश्वरी जिएमले उठाएकी थिइन् । वर्षमान पुनका पाँच दाजुभाइमध्ये उनी माइलो हुन् । जेठा गाउँकै माडीचौर विद्यालयमा कार्यालय सहयोगी छन् । साहिँलो बितिसके, काँइलो पुस्तक पसल चलाउँदै छन् भने कान्छो प्रनिश खेलाडी हुन् भन्छन्, रोल्पाली माओवादी कमरेडहरू ! यिनीमाथि अनुसन्धान होस् पनि कसरी जहाँ राहदानी दुरुपयोग, दोहोरो नागरिकतादेखि सहकारी ठगीमा मुछिएका रवि लामिछाने हाकिम छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू