सेनाको हाकिमले बर्बाद बनाइदिएको मेरो संसार
जोसँग जीवन काट्ने सपना बुनेकी थिएँ, उसैले पीडा दियो भनेर रुँदै हिँड्नुपरेको छ । जसलाई आफूभन्दा धेरै विश्वास गरेँ, उसैले मलाई कसैमाथि विश्वास गर्न नसक्ने बनाएको छ । भन्थे, ‘प्रेमले रुवाउँछ, गलाउँछ र जलाउँछ’, त्यही अवस्थाबाट गुज्रिरहेको छु । प्राणभन्दा प्यारो ठानेको व्यक्तिले जिन्दगी बर्बाद बनाइदेला भनेर कल्पनासमेत नगरेको बज्रपात आइलागेको छ ।
प्रेममा अन्धो बनेकी म उसले जे–जे भन्यो त्यही गर्दै गएँ । तनमन सबै दिएँ तर अहिले आएर आफ्नो संसार ठानिसकेकी उसले मलाई ‘मर्नु न बाँच्नु’ को अवस्थामा पुर्याएको छ । मैले सुरक्षाकर्मीले आम सर्वसाधारणको रक्षा गर्छन् भन्ने सुनेकी थिएँ । त्यही सुरक्षाकर्मीले मेरो जिन्दगीसँग खेलबाड गरेको छ । मैले हरेक निकायमा दुःख पोखिसकेँ तर कतैबाट सुनुवाइ भएको छैन ।
ऊ नेपाली सेनाको क्याप्टेन भएर पनि होला, कसैले मेरो पीडा नसुनेको । रुकुमपश्चिमको एउटा दुर्गम गाउँमा जन्मिएँ, हुर्किएँ । मायाजालमा फसाएर मेरो जीवन तहसनहस बनाउने पनि त्यही जिल्लाको हो, बस् नगरपालिका मात्र फरक । म सामान्य किसानकी छोरी । दुःखजिलो गरेर भए पनि आमाबुवाले पढाउनुभयो । म अनमी पढ्दै थिएँ । सोही क्रममा साथीमार्फत आठबिसकोट नगरपालिका–९ निवासी यदु शाहसँग चिनजान भयो । ऊ त्यतिबेलै लप्टन थियो । विस्तारै फेसबुकमार्फत कुराकानी हुन थाल्यो । उसले मलाई म्यासेज र फोन गरिरहन्थ्यो ।
मेरो साथीले उसलाई कि बिहे गर, नत्र यसरी डुल्ने काम नगर भनेर बेस्सरी हप्काई ।
यता, मैले मिसन अस्पतालमा काम गर्न थाल्दा ऊ मलाई भेट्न आयो । पटक–पटक नआउनु भन्दा पनि मानेनन्, अस्पतालमै आएको थियो । अस्पतालमा ठूलै हल्लाखल्ला भयो । हाम्रो सम्बन्ध शुरु भएकै त्यही घटनाबाट हो । मैले उसलाई त्यतिबेलै हाम्रो जात नमिल्ने भएकाले कुरा अगाडि नबढाउन सुझाएकी थिएँ । आफ्नो दाजुले पनि मगर नै बिहे गरेको भन्दै बिहेको आश्वासन देखायो । बिहे नै गर्छु भनेकाले ऊमाथि विश्वास गरेँ ।
म उसमाथि आफूलाई भन्दा बढी विश्वास गर्ने भइसकेकी थिएँ । हामीबीच फोनमा कुराकानी भइरहन्थ्यो । फेसबुकमार्फत त कुरै नगरौं । उसले मलाई म्यासेज गरिरहन्थ्यो, मैले पनि गरिरहन्थेँ । म यति गहिरो प्रेममा परिसकेको थिएँ कि बयान गर्न सक्दिनँ । ऊ छुट्टीमा मेरो घर पनि आएको हो । बुवाआमा कोही हुनुहुन्थेन, त्यसैले मेरै घरमा बस्यो । २०७२ असोजको कुरा हो, म ट्रान्सक्रिप्ट लिन काठमाडौं आउन लागेकी थिएँ । सुर्खेतमा कार्यरत उसले आफूलाई भेटेर जान भनेपछि त्यतै गएँ ।
हामी चार दिन फूलबारी गेष्ट हाउसमा बस्यौं । त्यसपछि उसले मलाई नाइट बसमा हालेर काठमाडौं पठाइदियो । उसले काम सकेपछि घर फर्किने क्रममा आफूलाई भेटेर जान भनेको थियो । तर, मैले मानिन । सिधै आएँ । म यत्तिकै खाली बसिरहेकी थिएँ, लोकसेवा पढ्ने सोच आयो र काठमाडौं आएँ ।
उसको पोस्टिङ पनि काठमाडौंमै भएको थियो । म साथीको फ्ल्याटमा बस्थेँ । हामी दुवै काठमाडौंमै भएकाले भेटघाट बाक्लो हुन थाल्यो । कहिले कता घुम्न जान्थ्यौं, कहिले कता । म उसमा भुलिसकेकी थिएँ । ऊ प्रायः हाम्रो फ्ल्याटमा आएर पनि बस्थ्यो । सबै राम्रै चलिरहेको थियो । सोही क्रममा ऊ चीन गयो । फर्किएपछि पनि हाम्रै फ्ल्याटमा आएर बस्यो । एकदिन घुम्नका लागि सुन्दरीजल गएका थियौं, मेरो साथी पनि सँगै थिई । राति ऊ बस्नका लागि हाम्रै फ्ल्याटमा आयो । मेरो साथीले उसलाई कि बिहे गर, नत्र यसरी डुल्ने काम नगर भनेर बेस्सरी हप्काई ।
ऊ घरपरिवारमा सल्लाह गर्छु भनेर गयो । मलाई त्यसो भनेर गएको उसले उतै बिहे गरिसकेछ । तर, भनेन । उता घरमा श्रीमती हुँदाहुँदै पनि मसँग कुराकानी गरिरहेकै थियो । करारमा नाम निस्किएपछि रुकुम गएँ । साथी भने जाजरकोट गई । फेरि पनि हामीबीच फोनमा दिनहुँजसो कुराकानी भइरहन्थ्यो ।
घरजम गरिसकेको ऊ मलाई भेट्न भनेर होटलमै आयो । मलाई घर फर्किन गाडीको टिकट काटिदिने पनि उही नै हो । मैले प्रोजेक्टमा काम गर्न थालें । भौतिक रुपमा टाढिए पनि हामीबीच कुराकानी हुने क्रम जारी नै थियो । म जागिरको क्रममा गोरखामा थिएँ, त्यहीं उसले बिहे गरेको थाहा पाएँ । र, छाँगाबाट खसेझैं भएँ । शुरुमा पत्यार लागेन । मैले उसलाई फोन गरें, उसले होइन भनेर ढाँटिरह्यो । उसले फेसबुकमा पठाएको म्यासेज ‘डिलिट’ गरिसकेको रहेछ, मैले थाहै पाइनँ । पछि उसको बिहेको फोटो हात लाग्यो । चारैतिर अन्धकार छायो । मलाई जिन्दगी नै समाप्त भएझैँ महसुस भयो । म डिप्रेसनमा गएँ । लामो समय औषधि खाएँ । बिहेको आश्वासन देखाएर मेरो जिन्दगी बर्बाद पार्ने उसलाई कारबाही हुनुपर्छ भन्दै भद्रकालीस्थित नेपाली सेनाको मुख्यालय पुगेँ ।
तर, त्यहाँबाट कुनै सहयोग पाइनँ । उल्टै मलाई नै त्रास देखाइयो । म र मेरो घरपरिवारको इज्जत जाने भन्दै डर, धम्की दिइयो । ०७८ सालमा निवेदन दिन जाँदा त्यहाँ एक जना नरेश अधिकारी नामको हाकिम हुनुहुन्थ्यो । उहाँले फोन नम्बर माग्नुभयो, मैले दिएँ । उहाँले नै फोनमा भएका केही प्रमाण मेटाइदिनुभएछ ।
मलाई मिलापत्र गरेको भनेर जबरजस्ती निवेदनसमेत लेख्न लगाइयो । उहाँले जे–जे भन्नुभयो, त्यही लेखेँ । मजस्तो पीडितलाई न्याय दिनुको साटो सेनाले मेरो घाउमा नुन खुर्सानी छर्किएको छ । त्यसपछि म पटक–पटक त्यहाँ पुगें, उहाँहरूले तपाईंले मिलापत्र गरिसक्नुभयो भनेर मेरो कुरा सुन्नै चाहनुभएन । ऊसँग ‘टेबलटक’ गराइदिनु भनेर आग्रह पनि गरेँ तर मान्नुभएन । पीडा नपरे किन एउटा व्यक्ति बारम्बार त्यहाँ धाइरहन्छ ? उहाँहरूलाई मैले बोलेका हरेक शब्द खेलाँची लागिरहेको थियो । म जाहेरी दिन जिल्ला प्रहरी परिसर, टेकु पनि पुगेँ ।
डिएसपी साबलाई भेटेर आफ्नो कुरा राखेँ । सेनाविरुद्ध जाहेरी लिए आफूलाई अप्ठेरो पर्ने भनेपछि फिर्ता आएँ । राष्ट्रिय मानवअधिकार आयोग पनि गएँ । त्यहाँबाट पनि न्याय पाइनँ । प्रमाण नपुग्ने भन्दै आयोग पन्छियो । उसले ‘डिलिट’ गरेर बाँकी रहेका केही म्यासेन्जरका ‘स्क्रिनसट’ बाहेक मसँग केही प्रमाण छैन ।
कानुनी उपचारमा जान्छु भनेपछि उसले मलाई एउटा भ्वाइस म्यासेज पठाएको थियो । जसमा उसले मसँग माफी मागेको छ । जसले मेरो जिन्दगी धरापमा पारिदियो, म उसलाई कसरी माफ गरिदिऊँ ? बिहेको सपना देखाएर ममाथि गरेको अन्यायको सजाय पाउनुपर्छ भन्ने मात्र मेरो भनाइ हो । मैले निवेदन दिएपछि ऊ शान्ति सेनामा गएरसमेत फर्किसक्यो ।
म भने न्यायकै लागि संघर्ष गरिरहेकी छु । ऊविरुद्ध सेनामा बालविवाहको उजुरीसमेत परेको छ । त्यसमा पनि सेनाले उसलाई जोगाएको छ । उसकी श्रीमती २०६१ असार २६ गतेकी हो । बिहे हुँदा भर्खर एसईई दिएकी थिइन् । अहिले उसले मलाई सबैतिर ‘ब्लक’ गरिदिएको छ । बाहिर प्रेम सम्बन्ध हुँदाहुँदै नाबालिकासँग बिहे गर्नेलाई सेनाले संरक्षण गरेको देख्दा आश्चर्यचकित भएकी छु । समस्यामा परेकालाई सहयोग गर्नुपर्ने संगठनले ममाथि गरेको व्यवहार सम्झिँदा यो देशमा हामीजस्तोले न्याय पाउँदैनौँ भन्ने महसुस हुन्छ ।
– रीता घर्तीमगर (नाम परिवर्तन)
टिप्पणीहरू