भुटानी काण्डका भिआइपी बन्दीलाई दुई श्रीमानले आज के गर्लान् ?

भुटानी काण्डका भिआइपी बन्दीलाई दुई श्रीमानले आज के गर्लान् ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री तथा नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीसहितका प्रतिवादीहरुले 'थुनामुक्त गराई पाउँ' भनी हालेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाई शुरु भएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको ६ नम्बर इजलासमा अहिले सुनुवाई चलिरहेको छ । रायमाझीसहित पूर्व गृहसचिव टेकनारायण पाण्डे,पूर्वसांसद आङटावा शेर्पा,समशेर मियाँ,तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई र बिचौलिया सानु भण्डारीसहितले उच्च अदालतको आदेशविरुद्ध रिट निवेदन दिएका थिए ।

यस मुद्दामा पूर्वगृहमन्त्री तथा कांगेस नेता बालकृष्ण खाँणसहित रायमाझी,टेकनारायण, आङटावा,समशेर मियाँलगायतलाई ठगी,किर्ते,राज्यविरुद्धको र संगठित अपराधको कसूरमा जिल्ला अदालत काठमाडौँले पुर्पक्षका  थुनामा पठाउन आदेश दिएको थियो । उक्त आदेशविरुद्ध अभियुक्तमध्ये २२ जनाले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । 

तर,उच्चले खाँणलगायतलाई धरौटीमा रिहा गरे पनि अन्य प्रतिवादीको हकमा जिल्लाकै आदेश सदर गरेको थियो । एकै मुद्दामा दुईथरी आदेश सुनाउने उच्चको फैसलाविरुद्ध उनीहरु सर्वोच्च पुगेका हुन् । 

यस प्रकरणमा मुख्य प्रतिवादी मानिएका खाँणलाई थुना बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने सुविधा दिएको नजिर समातेर रायमाझीसहित ११ जनाले सर्वोच्चमा निवेदन दिएकोमा टेकनारायण पाण्डेको तर्फबाट बन्दीप्रत्यक्षीकरणको रिट पनि परेको छ ।

टिप्पणीहरू