‘वाइवाइ’ चाउचाउमाथि धमाधम प्रतिबन्ध

‘वाइवाइ’ चाउचाउमाथि धमाधम प्रतिबन्ध
सुन्नुहोस्

बागलुङको गल्कोट नगरपालिकाले चौधरी ग्रुपको उत्पादन वाइवाइ चाउचाउ किनबेचमा पूर्ण प्रतिबन्ध लगाएको छ । ४ नम्बर वडा कार्यालयले आफ्नो क्षेत्रभित्र वाइवाइ किनबेच गर्न नदिने निर्णय गरेको हो । 

कार्यालयले सूचना जारी गर्दै कसैले वाइवाइ चाउचाउ बेच्न राखेको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ । ‘उपरोक्त सम्बन्धमा चौधरी ग्रुपको वाइवाइ चाउचाउलाई काठमाडौं महानगरपालिकाले परीक्षण गरी उक्त चाउचाउमा क्यान्सरजस्तो आत्माघाती तत्व प्रमाणित भएकाले उक्त चाउचाउ गल्कोट नगरपालिका वडा नम्बर ४ भित्र किनबेच गर्नका लागि पूर्णरुपमा प्रतिबन्ध गरिएको...’, सूचनामा उल्लेख छ । 

यता, चितवनको इच्छाकामना गाउँपालिकाले पनि सो चाउचाउमा प्रतिबन्ध लगाउने तयारी थालेको छ । गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालले खाजामा मकै भट्मास खाने तर वाइवाइ नखाने बताइन् । 

गाउँपालिकाको कार्यालय, विद्यालयलगायतका कार्यालयमा उक्त चाउचाउ निषेध गरिसकेको र अब गाउँपालिकाभित्र पनि पूर्णत: प्रतिबन्ध लगाउने तयारी भैरहेको उनले जानकारी दिइन् ।

विवादास्पद व्यापारी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीको सिजी ग्रुपले उत्पादन गरेको वाइवाइ चाउचाउमा क्यान्सर हुनसक्ने घातक रसायन भेटिएको थियो । काठमाडौं महानगरपालिकाले गत वैशाख १२ गते गुणस्तर परीक्षणका क्रममा एसिड भ्यालु अत्याधिक बढी पाएपछि कम्पनीलाई दुई लाख रुपैयाँ जरिवानासमेत तिराएको थियो ।  

त्यस्तै, वाइवाइको ब्याच नम्बर ६० जीएमआरएस २० एआर वाइएल २३ सीएचआइ २०८० को उत्पादन सबै बजारबाट फिर्ता लिन निर्देशन दिइएको थियो । त्यसपछि चौधरीका जेठा छोरा एवम् सिजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले विश्वभर लोकप्रिय भएको वाइवाइविरुद्ध नेपालमा ‘प्रोपोगाण्डा’ गरिएको बताएका थिए । उनले सामाजिक सञ्जालमार्फत वाइवाइलाई बद्नाम गरिएको भन्दै असन्तुष्टि जनाएका थिए । 

आफ्नो उत्पादनको गुणस्तरमाथि प्रश्न उठेपछि सिजी ग्रुपले ठूला मिडियालाई वाइवाइ चाउचाउको विज्ञापन पनि बाँडेको थियो । चार दशकदेखि उत्पादन भइरहेको वाइवाइको गुणस्तर उत्कृष्ट भएको भन्दै कतिपय सञ्चारगृहले समाचार पनि प्रकाशित गरेको हो ।

टिप्पणीहरू