मैले मन्त्रालयमा गएर मर्न नपरोस्
डाक्टरलाई भगवान्कै अर्काे रूप मानिन्छ तर ‘कच्चा डाक्टरको मात्रा, यमपुरीको यात्रा’जस्तो बन्दो रहेछ । स्वस्थ हुने अभिलाषा बोकेर पाठेघरको अप्रेसनका लागि कैलालीदेखि प्रसूतिगृहसम्म पुगेँ । तर, त्यहाँका कच्चा डाक्टरको कारण आजीवन अस्वस्थ बन्नुपर्ने अवस्था भोगिरहेकी छु । तिनको हेलचक्र्याइँ र लापरवाहीका कारण हुँदाखाँदाको किड्नी गुम्यो, अपांग बन्नुपर्यो । उपचारमा लाग्दा छोरीको जागिर गुम्यो, लोकसेवा र कोरियन भाषाको एकसाथ तयारी गरिरहेकी छोरीको भविष्य नै अन्योलग्रस्त बन्न पुग्यो ।
ऋणमा डुबेर सिंगो परिवारै डिप्रेसनको शिकार हुने स्थितिमा पुगेका छौँ । म कमलादेवी कैनी, इन्सेकमा काम गरिरहेको एक सामाजिक अभियन्ता । कुखुरा पालन व्यवसायले ६ जनाको परिवार राम्रैसँग चलिरहेको थियो । बेलाबखत तल्लो पेट दुख्ने समस्याले पिरोल्थ्यो । पाठेघरमा ट्युमर पलाएको छ भन्ने थाहा पाएपछि उपचारको खोजीमा त्रिवि शिक्षण अस्पताल पुगेँ । १ वर्षसम्म फलो अप, परीक्षणमा रहँदा पाठेघरमा खासै समस्या छैन, आत्तिनुपर्दैन भन्ने जवाफ आयो । सुनेको थिएँ, स्त्री रोगका लागि थापाथलीस्थित प्रसूति गृह, धेरै राम्रो छ । त्यहाँ विशेषज्ञ डाक्टर छन् । पुगें, थापाथली र त्यहाँ पुग्नु नै दुःखको दिन शुरु भयो । अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारीलाई भेटें ।
भदौ, २०८० मा उनले परीक्षण गराउँदा पाठेघरमा दुईवटा ट्युमर देखियो । उहाँले दुई पटकसम्म हातैले चेक गर्नुभयो । भन्नुभएको थियो, दुईवटा ट्युमर पलाएको छ । ट्युमर पिसाब नलीसँग जोडिएकाले अलि जटिल छ । असोज १६ गते अप्रेसनको डेट दिनुभएपछि सोहीअनुसार तयारी गरेर अस्पताल पुगें । अप्रेसनका लागि १५ असोजमा अस्पताल पुग्दा तीन दिन पछि सारियो । मैले निर्देशक अधिकारीलाई जिज्ञासा राखेँ– ‘डा. सा’ब हुजुरले नै गर्ने हो नि मेरो अप्रेसन ?’ उहाँले जवाफमा ‘हो’ भन्नुभएको थियो तर अप्रेसन गर्नका लागि बेहोस बनाउने समयसम्म उहाँ मेरो अगाडि हुनुहुन्थेन । अप्रेसन डा. तुसार जोशी र निशाले गरे । त्यहीपछि स्वास्थ्यमा समस्या देखिन थाल्यो ।
म उपचारको खोजीमा पो पुगेको हुँ त प्रसूतिगृहमा । हुँदा छँदाको किड्नी फाल्न र मूत्रनली काट्न गएकी हो र त्यहाँ ?
ट्युमर त निकालियो, सँगसँगै पिसाबनली पनि काटेर फालिएछ । अप्रेसनपछि पिसाब राम्रोसँग हुन सकेन । कहिले पेट फुल्ने, सास फेर्न गाह्रो हुने समस्या देखिन थाल्यो । यही समस्या देखिँदा देखिँदै डिस्चार्ज गरियो । त्यसपछि जहाँ, जुन समय पनि थाहै नपाई पिसाब चुहिन थाल्यो । आफन्तहरूलाई भेट्न लाज लाग्ने स्थिति बन्यो । डाइपर लगाएर बस्नुपर्ने भयो । समस्या बल्झिएपछि पुनः अस्पताल पुग्यौं । केमिकल हालेर सिटी स्क्यान गर्नुपर्छ । यस्तो अवस्थामा मिर्गौला फेल पनि हुन सक्छ भन्ने चेतावनी दिइयो ।
यसरी पिसाबनली काटिएपछि डाक्टर अधिकारीकहाँ गुनासो राखे, उहाँले बदमासी गर्नेलाई कारवाही गर्ने कुरा सुन्नुभएन, बरु डाक्टरसँग पंगा नलिन सुझाउनुभयो । अप्रेसन गरेको ठाउँमा टाँका लगाएपछि काटेको घाउ जोडिनुपथ्र्याे तर टाँका नै नक्कली परेछ, खुस्कियो र घाउ पाक्न थाल्यो । पछि वीर अस्पतालको डाक्टरलाई बोलाएर अर्काे अप्रेसन गरियो र पिसाबनलीमा दुईवटा स्टाण्ड राखियो । एक महिना दश दिन अस्पतालमा बस्यौं । यसरी साना ठूला गरेर ६ वटा अप्रेसन ( पहिलो पाठेघरको अप्रेसन, काटिएको पिसाब नली जोड्न अप्रेसन, टाँका नजोडिएर संक्रमण भएपछि अप्रेसन र पिसाब नलीभित्र राखिएको स्ट्यान्ड झिक्न अर्को अप्रेसन) । मेरो उपचारका लागि वीर अस्पतालका डा. रविन बस्नेतले सक्दो प्रयास गर्नुभयो । कहाँको प्रसूति गृहमा उपचारको क्रममा बसाई र भोगाई, कहाँको घरकै सदस्यको जस्तो केयर र माया ममता । पाठेघरको ट्युमर त गयो, सँगै पिसाबनली र एउटा किड्नीसमेत गुमेको छ ।
कच्चा डाक्टरको भर पर्दा अहिलेसम्म १६ लाखभन्दा बढी रकम सकियो । ऋण गरेरै उपचार चलिरहेको छ । तर, मजस्तो मध्यमवर्गीय परिवारका व्यक्तिको लागि यति विध्न धन खर्चिएर पनि न त रोग निको भयो, एकातिर किड्नी गुम्यो, अर्काेतिर पिसाबनली काटियो । हुँदाखाँदाको व्यवसाय धरापमा परेको छ । ऋण लिएर बनाएको दुईवटा कुखुरा व्यवसाय पनि चौपट भयो । अनाडी डाक्टरका बदमासीविरुद्ध मेडिकल काउन्सिलमा पुगेँ । उजुरी दर्ता भएको तीन महिना पुग्न लाग्यो । सुनुवाई प्रक्रिया अगाडि बढ्दैन । ती डाक्टरलाई कारवाही हुनेवाला पनि छैन । केही दिन अघिमात्र मेरो उजुरी के भयो भनेर सोध्न पुगें । अध्यक्षलाई भेटेर ‘मैले न्याय कहिले पाउँछु ?’ भनी जिज्ञासा राख्दा उहाँले जवाफ फर्काउनुभयो– ‘तपाईलाई के अन्याय भएको छ र न्याय पाउनलाई ?’ यस्तै हो मेडिकल काउन्सिलको अध्यक्षको कुर्सीमा बस्नेले दिने जवाफ ? उनैले जवाफ फर्काए, ‘तपाईंलाई कुनै अन्याय भएको छैन । एउटा किड्नीले पनि मान्छे बाँच्छन्, बाँचेका छन् । सरकारी डाक्टरलाई म केही कारबाही गर्न सक्दिनँ ।’ सोही भनाभनको कारण मेरो प्रेसर ह्वात्तै बढ्यो । एक जना मर्दा केही हुँदैन, सय जनालाई बचाउनुपर्छ भन्ने जवाफ दिए अध्यक्षले । त्यहाँबाट पार नलाग्ने भएपछि कहिले टेकु, कहिले नक्सालस्थित प्रहरी कार्यालयको ढोका ढक्ढक्याएँ । उनीहरूले आफ्नो कार्यक्षेत्र होइन भन्दै पन्छिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालय हुँदै सरकारी वकिलको कार्यालयसम्म पुगेँ । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १९ इलाजसम्बन्धी कसुरको दफा २३१ र २३२ प्रतिकूलको कसुर गरेको दाबी गर्दै सरकारी निकाय धाएँ । तर, सोसम्बन्धी विषय आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भनेर सरकारी वकिलको कार्यालय पनि पन्छियो ।
चिकित्सकउपर छानबिन गरी उचित कारबाहीको माग राखेर मेडिकल काउन्सिल, उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वर, महानगरीय प्रहरी परिसर कार्यालय टेकुमा पुग्दा सबै सरकारी निकाय स्वास्थ्य मन्त्रालयलाई देखाएर पन्छिँदै आएका छन् । यता, स्वास्थ्य मन्त्रालय मेडिकल काउन्सिललाई देखाउँछ । आज बल्ल ४१ वर्ष लाग्दै छु, आधा जीवन भोग्नै बाँकी छ । म उपचारको खोजीमा पो पुगेको हुँ त प्रसूतिगृहमा । हुँदा छँदाको किड्नी फाल्न र मूत्रनली काट्न गएकी हो र त्यहाँ ? के मेरो शरीर चिकित्सकका लागि खेलौना हो ? अस्पतालमा रहँदा पशुसरह व्यवहार गरे ।
लामो समयदेखि मानवअधिकार क्षेत्रमा काम गरेकी हुँ । सरकारी निकायबाटै न्याय र निसाफ खोजौं भन्ने चाहना हो । होइन भने मसँग पनि छन्, मान्छे । उतार्न सक्छु आफन्त र मानवअधिकारकर्मी अस्पतालको प्रांगणमा । उत्रन सक्छु तोडफोडमा । क्षतिपूर्ति र गलत गर्ने चिकित्सकलाई कारवाहीको माग राख्दै आएको हुँ तर सरकारी निकायले सुनेन भने विद्रोहको अर्काे स्वरूपमा उत्रन सक्छु । जब ट्युमरको उपचारक्रममा पिसाबनली काटियो, श्रीमान् र छोराहरूले हामी पनि त्यो डाक्टरको त्यसैगरी पिसाबनली काटिदिन्छौँ भनेका थिए । त्यसरी उत्रिन हुँदैन भनेर सम्झाउँदै आएकी छु । यदि कुनै कारवाही भएन, मैले क्षतिपूर्ति र न्याय पाइनँ भने ती डाक्टरको क्याबिनमा नभए स्वास्थ्य मन्त्रालयमै गएर आत्महत्या गर्नेछु, यो मेरो चेतावनी भयो । ताकि ती नक्कली डाक्टरका अगाडि जाँदा कुनै पनि बिरामीले सयौं पटक सोच्न परोस् ।
– कमलादेवी कैनी
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू