मिसन ८४ होइन, उमेर चौरासी

मिसन ८४ होइन, उमेर चौरासी

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई अब कांग्रेसले यत्तिकै छोड्लाजस्तो छैन । किनभने लामिछानेले कांग्रेसले अफर गरेको प्रधानमन्त्री पद जो अस्वीकार गरेको थियो । कांग्रेसले अफर गरेको पद अस्वीकार गर्ने ? यत्रो हिम्मत ? अब उहाँ त्यसकै फल भोग्दै हुनुहुन्छ । 

यो हाम्रो भनाइ होइन । यो रास्वपाकै नेताहरूको भनाइ हो । कांग्रेसले उहाँलाई के अफर गरेको थियो, त्यो त हामीलाई के थाहा हुनु र ! हामीलाई थाहा हुने भनेको त्यही बाहिरबाट देखिने कुरा मात्रै न हो । हामीलाई थाहा भएको त यति मात्रै हो, कांग्रेसले रवि लामिछानेलाई लखेटिरहेको छ, लखेटिरहेको छ । अस्तिसम्म त लागेको थियो, कांग्रेसले यो लामिछानेलाई मिसन चौरासीसम्म लखेट्नेछ । तर अहिले यसो हेर्दा लाग्छ, कांग्रेसले उहाँलाई मिसन चौरासीसम्म मात्र होइन उमेर चौरासीसम्मै लखेट्न सक्छ । कांग्रेसको यो लखेटाइ मिसन चौरासीभन्दा पनि उमेर चौरासीतिर लक्ष्यित छ ।

अहिले कांग्रेसको एउटै मात्र कार्य छ, रवि लामिछानेलाई संसदमा बोल्न नदिने । त्यसो त रवि लामिछाने संसदमा बोलिरहनुपर्ने मान्छे होइन । चाहेमा उहाँले टेलिभिजनमा सीधै बोल्न सक्नुहुन्छ । उहाँ टेलिभिजनमा बोल्ने मान्छे हुनुहुन्छ । तर, यतिबेला उहाँको टेलिभिजन बन्द छ । यता टेलिभिजन बन्द छ, उता संसद बन्द छ । अब बोल्ने कसरी ? बाह्र भाइले उहाँको बोलीलाई ठाउँ देलान् भन्न सक्ने अवस्था छैन । भूमिगत रूपमा चलाएको ‘सिधाकुरा’ पनि यति बेला अदालतको चपेटामा परेको छ । बोलिरहनुपर्ने मान्छेलाई बोल्न नपाएपछि लोकतन्त्रै हरण भएजस्तो लाग्दो हो !

टिप्पणीहरू