खासमा देश बनाउने चाहिँ कसले हो ?
केही समयपहिले देश किन बनेन भनेर सार्वजनिक बहस चल्न–चल्न थालेको थियोे तर चल्न सकेन ।
हामीकहाँ यस्तो बहस चल्न पनि सक्दैन । किनभने देश बनाउन बनाउने मान्छे चाहिन्छ, देश बनाउन देश बनाउने राजनीतिक दल चाहिन्छ । हामीकहाँ देश बनाउने मान्छेहरू छैनन् र राजनीतिक दल पनि छैनन् । देश बनाउने मान्छे र देश बनाउने राजनीतिक दल पनि विचारधाराले नै बनाउने हो । विचारधाराबाहेक देश बनाउने अरु कुनै यन्त्र छैन ।
हामी कहाँ देश बनाउने मान्छे, दल र विचारधारा सबै कुराको सर्वथा अभाव छ । तर, यसो भन्दा खासगरी वामपन्थीमा पनि धेरैलाई त होइन केही केहीलाई अलिअलि चोट लाग्न सक्छ । कांग्रेसजस्ता बुर्जुवावादी दललाई त यस्तो भन्दा केही फरक पर्दैन ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ हो तिनका लागि । किनभने वामपन्थी देश बनाउने मात्रै कुरा गर्दैनन् अपितु तिनीहरू सिंगो मानव जातिकै मुक्तिको कुरा गर्छन् । मान्छेको मुक्ति हुने कुरा देश बनाउने भन्ने भन्दा कैयौँ गुणा राम्रो र माथिल्लो स्तरको कुरा हो । मानवजातिको मुक्ति हुन्छ भने त्यो देश बनेकै कारणले मुक्ति हुने हो ।
बहुदलीय शासन व्यवस्था लागू हुनुभन्दा पहिले किन हो कुन्नि अथवा के कारणले हो मानिस देश बनाउने कुरा गर्थे र आफूलाई देश बनाउन सक्ने किसिमले निर्माण पनि गर्थे । त्यतिबेलाका मान्छेले व्यवहार र आचरण तथा राजनीतिक विचारधाराका हिसाबले पनि आफूलाई देश बनाउन नेतृत्व गर्न सक्ने किसिमले तयार पारेका देखिन्थे । त्यो समयमा मान्छेहरूमा सादगीपन अत्यन्तै गहिराइमा थियो । आडम्बर देखिन्थेन । विचारधारामा प्रष्टता थियो र देश बनाउने स्पष्ट भिजन हुन्थ्यो । दुई सय ४० वर्ष लामो शासन व्यवस्थालाई उखेलेर फाल्ने कुरा चानचुने थिएन ।
राजनीति गर्ने मान्छेमा लोकतन्त्र बहाली गरेर देशको विकास गर्ने अर्थात् देश बनाउने जुन हुटहुटी थियो, जुन इमानदारी देखिन्थ्यो र त्यसको निम्ति चाहिने जुन आचरण र चरित्र थियो अनि वैचारिक स्पष्टता देखिन्थ्यो त्यसैको नैतिक बलले नै पञ्चायतलाई फाल्न सफलता मिलेको हो । त्यो बेला चाहे कांग्रेसका मान्छे हुन् अथवा कम्युनिष्ट पार्टीका, सबैलाई आदर्श मान्दा फरक नपर्लाजस्तो हुन्थ्यो । तर, आज त्यस्तो रहेन । हामीले भन्छौँ नि भाइब्रेन्ट पार्टी, भाइब्रेन्ट समाज, भाइब्रेन्ट इकोनोमी र यस्तै–यस्तै अनेकौं भाइब्रेन्ट तत्व, त्यो समाप्त भएको छ, कतै पनि छैन ।
जो हे¥यो कामचोर, जो हे¥यो दलाल–बिचौलिया, जो हेर्यो ठग–ढाँट, यस्तो बनाए समाजलाई । जोसुकैसँग जोसुकै डराउनुपर्ने अवस्था छ । आज एक जना नेता पब्लिक बसबाट यात्रा गर्दैनन् । लामो दूरी जहाजबाट र छोटो दूरीको धनी कार्यकर्ताको अथवा उद्योगी व्यापारीका सवारीसाधनबाट यात्रा गर्छन् । उहिले खासखास अवस्थामा मीठोमसिनो खाइन्थ्यो आज हरेकदिन मीठोमसिनो नभई हुन्न । कुनै कार्यक्रममा बोलाउन तलका कमिटीले दशचोटी सोच्नुपर्ने अवस्था छ ।
प्लेनको भाडाको निम्ति कुन व्यापारीलाई भन्ने, खानाको निम्ति कसको अगाडि सेता दाँत देखाउने, कुन होटललाई अनुरोध गर्ने बासको लागि ? यस्तो छ राजनीतिक माहोल । आजभोलि कसैका काँधमा झोला र झोलाभित्र कागजपत्र, सातु–पानी हुन्नन् । हिजोका केपी, माधव, झलनाथ, वामदेव र आजका तिनीहरूको बीचमा आकाश– जमिनको अन्तर छ ।
आजका तिनीहरू हिजोका तिनीहरू नै हुन् त भनेर सोच्दा भाउन्न हुन्छ, अनुमान नै गर्न सकिन्न । आजका उहाँहरू अर्कै उहाँहरू हुनुहुन्छ । कांग्रेस र अरूहरू त झन् हिजोका जस्ता छँदै छैनन् र हुने कुरा पनि भएन, किनभने ती त जातै जम्दार । कसैको पनि मूलभूत चरित्र हिजोको जस्तो साधारण, उच्चकोटीको विचार भएको जनवादी, समाजवादी, लोकतान्त्रिक किसिमको आज छैन ।
सबैका सबै नवउदारवादी पुँजीवादी चरित्र बोकेर हिँडेका छन् । जनताको आधारभूत अधिकारजस्तो खान पाउने अधिकार, शिक्षाको अधिकार, स्वास्थ्योपचारको अधिकारप्रति कुनै प्रकारको चिन्ता र चासो पाइन्न । जे–जस्तो सुकै गरेर भए पनि पैसा आउनुप¥यो, सत्तामा बसिरहन पाउनुपर्यो, बस् यिनको ध्याउन्न यत्तिमै छ । कुनै भूतपूर्व प्रधानमन्त्री छन् यहाँ जसले सरकारी सुविधा चाहिन्न भनेको होस् ? चार–चार जना त कम्युनिष्ट हुँ भन्नेहरू छन् । देशमा दुई जना राष्ट्रपति छन् भूपू, तिनले पनि सरकारी सुविधा लिन्न भनेर लिन अस्वीकार गरे त ? जवाफ त गरेनन् भन्ने नै आउँछ ।
मेरो विचार के हो भने जबसम्म राजनीतिक विचारधाराअनुसारको चरित्र बोकेको कार्यकर्ता र तिनै कार्यकर्ताको बीचबाट उस्तै चरित्र बोकेको नेतृत्वको विकास गरिँदैन, तदनुसार पार्टीको निर्माण गरिँदैन तबसम्म चाहेर पनि देश बनाउन सकिन्न । अहिलेको चाल, चरित्र र चेहरा देश बनाउने विचारधारा विरोधी छ । यस्तो विचारधाराले देश बनाउने कल्पनासम्म पनि गर्न सकिन्न, यो असम्भव नै छ ।
यो मैले किन भनेको छु भने यो चरित्र र चेहरा जुन छ त्यो चरम व्यक्तिवाद, परिवारवाद र टपरटुइयाँवादमा आधारित छ । जे–जसरी हुन्छ पैसा जम्मा गर्ने र त्यो पनि कोटरी भित्रकाले मात्रै जम्मा गर्ने । पैसा किन जम्मा गर्ने भन्दा चुनावमा खर्च गरेको उठाउन र फेरि चुनावमा खर्च गर्न । हिजो लाउडा काण्ड घटाए, चेज एयरकाण्ड गरे । हल्लाखल्ला भयो, जनताले थाहा पाए ।
जनताको नजरमा धुलो हाल्न छानबिन आयोग बनाइयो, छानबिन गरेजस्तो गरियो र त्यसलाई राफसाफ पारियो । अहिले पनि शरणार्थी काण्ड, सुनकाण्ड, मीटरब्याजी काण्ड, सहकारी ठगीजस्ता अनेकौं काण्ड भएका छन् र तिनको छानबिन आयोग पनि बनाइएका छन् आवश्यकताअनुसार अरु पनि बनाइनेछन् ।
तर, ती आयोग छानबिन गरी कारबाही गर्नका लागि नभएर त्यसमा संलग्नहरूलाई बचाउनको निम्ति बनाइएका हुन् भन्दा फरक नपर्ला । मल्लिक आयोगको रिपोर्ट खै ? दासढुंगा हत्याकाण्डको छानबिन रिपोर्ट खै? त्यसकारण अहिले बनेका आयोग पनि आरोपित मान्छेहरूलाई उन्मुक्ति दिन बनाइएका आयोगहरू हुन् भनेर शंका गर्न सकिन्छ । हालका गृहमन्त्री केकस्ता चरित्रका मान्छे हुन् र उनीमाथि केकस्ता आरोपहरू लागेका छन् भन्ने कुरा नेपालदेखि अमेरिकासम्मका मान्छेहरूलाई थाहा छ ।
चुनावमा कस्ता मान्छेले जित्न सक्छन् भन्ने कुरा त दीपक मनांगे, आफताब आलम, नानीमैयाँ दाहाल, पुहातु चौधरीहरूले जितेको कुराबाट पनि प्रष्ट हुन्छ । सामाजिक, नैतिक र चारित्रिक हिसाबले को कस्तो हो भन्ने आधारबाट ऊ कति बोनाफाइड हो भन्ने कुरा तय गरिन्छ । सत्ता नै सबथोक हो, अन्तिम सत्य नै सत्ता हो भन्नेहरूको हातमा राजनीति गएपछि तिनले आफू सत्तामा टिकिरहन जोसुकैलाई, जस्तोसुकैलाई पनि अँगालो हाल्न दकस मान्दैनन् ।
यही कारण हो सहकारी ठगी काण्ड प्रचण्ड र ओलीलाई केही पनि होइन भन्ने लागेको । तर, दुबैजनाले के कुरा भुलेको देखिन्छ भने सहकारीमा ठगिएकाहरू पसिना चुहाउने वर्गका हुन् र यिनीहरूको हातमा आफ्नो एकभोट मात्रै छैन तिनीहरूसँग गरिखाने ठूलो समूह छ जो अन्यायको खिलाफमा लड्न तयार छ र न्यायको पक्षमा भोट हाल्न आतुर छ ।
देश बनाउने भनेको के हो ? के गगनचुम्बी भवन बनाउने हो देश बनाउने भनेको ? के नदीमा स्टिमर चलाउनु हो देश बनाउने भनेको ? चुच्चे रेलको हवाई सपना देखाउनु हो ? के चुच्चे नक्सा नोटमा छाप्नु हो देश बनाउने भनेको ? के जलविद्युत्का आयोजनाको सम्झौता मात्रै गरिरहने र संसारकै महँगो दरमा बिजुली जनतालाई र संसारकै सस्तोमा बिदेशीलाई बेच्नु हो ? सिग्नेचर पुल बनाउनु हो त देश बनाउने भनेको ? देश बन्यो कि बनेको छैन भनेर नाप्ने मापदण्ड यो होइन । अझै पनि छाउपडी जीवितै छ देशमा, कमजोर महिलामाथि बोक्सीको आरोप आजपर्यन्त लागिरहेकै छ । दलितले डेरा पाउन मुश्किल छ देशको राजधानी काठमाडौंमा ।
दलितले कुवाबाट पानी झिक्न सक्दैन आज पनि गाउँतिर । गरिबका छोराछोरीहरू आज पनि खोला बगरमा गिट्टी कुटिरहेकै छन् । जनता उपचार खर्च जुटाउन सक्ने अवस्थामा छैनन् । पानी नलागेर खेत बाँझै रहन्छ । किसानले समयमा मल नपाउने मात्रै होइन जेनतेन गरेर उब्जाएको फसलको उचित मूल्य पनि पाउने अवस्था छैन । रोजगारी दिने साना तथा मझौला उद्योगजति सबै बन्द छन् । कामका लागि अरब जानेको लर्को दिनदिनै देखिन्छ एयरपोर्टमा । देश बन्नुपर्ने कुरामा दुईमत छैन । तर, देश कसरी बन्छ त ! मुख्य कुरा यो हो ।
देश बनाउने विचारधाराले हो तर विचारधारा निर्माण गर्ने फेरि शिक्षाले हो । त्यसकारण देश बनाउने नै हो भने सबै नागरिकलाई शिक्षामा समान अधिकार प्रदान गर्ने व्यवस्था मिलाउनुपर्छ । दुई, तीनथरीको शिक्षाले देश बनाउने होइन बिगार्ने काम गर्छ । वैज्ञानिक बनाउने, मेकानिक्स् बनाउने, टेक्निसियन बनाउने, शिक्षक बनाउने, आलु खेती गर्न जान्ने, जिलेबी बनाउन जान्ने, धान रोप्न जान्ने, कुखुरा पाल्न जान्ने बनाउने शिक्षा कहिले दिने ? शिक्षाले रोजगारी निर्माण गर्छ, शिक्षाले डाक्टर उत्पादन गर्न सिकाउँछ, अस्पताल खोल्न सिकाउँछ, नर्स बन्न सिकाउँछ ।
तर यस्तो गर्न यो चाल, चरित्र र चेहरा भएको नेतृत्वबाट सम्भव छैन । स्कुलको मालिक शिक्षामन्त्री बन्छ भने उसले कस्तो शिक्षामा ध्यान वा जोडबल गर्ला ? उद्योगपति उद्योग मन्त्री बन्छ भने उसले कसको हितमा काम गर्ला ? विदेशी नागरिकता लिएको मान्छे मन्त्री बन्छ भने उसले कसको पक्षपोषण गर्ला ? यस्ता यावत् कुरा छन् जसले देश बन्न दिँदैन ।
अन्त्यमा, देश बनाउने जिम्मा कसको हो ? यदि राजनीतिक दलको हो भने त्यो दल कस्तो हुनुपर्छ ? त्यस्तो राजनीतिक दल बनाउने कसले हो ? के देश बनाउन सक्ने राजनीतिक दल बनाउन सक्छौँ वा बनाउन सम्भव छ ? मलाई लाग्छ सम्भव छ तर यसको एउटा शर्त छ र त्यो हो के यस्तो दल बनाउन सकिन्छ भन्नेहरू जहाज र कारको यात्रा त्याग्न तयार हुन्छन् ? पार्टीका दस्तावेज, कट्टु, गञ्जी, झाडु र साबुन बोकेर गाउँ छिर्न तयार छन् ? कार्यकर्ताको घरमा झोल र भात खाएर पार्टीको काम गर्न तयार छन् ? जबसम्म विचारधारा र जीवनपद्धतिलाई एकाकार गरेर अघि बढ्ने साँस्कृतिक चेतको निर्माण हुन सक्दैन तबसम्म त्यस्ता कार्यकर्ता बन्दैनन् र नेतृत्व पनि बन्दैन । यस्तो भएपछि पार्टी बन्दैन । पार्टी नबनेपछि देश बन्ने कुरा पनि भएन । अहिले जस्तो बनेको छ देश भोलि पनि यस्तै नै रहने हो । जान्नेलाई रातो चन्दन, नजान्नेलाई काठ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू