कृष्णकुमारीबाट सबैले सिक्नुपर्ने कथा

कृष्णकुमारीबाट सबैले सिक्नुपर्ने कथा

निरन्तर बहावले ठुल्ठूला चट्टानसमेत खिइन्छन् । निरन्तर लगाव, कर्मप्रतिको झुकाव, सकारात्मक चिन्तन लिएर अघि बढ्ने हो भने जीवनमा एकपछि अर्काे सफलता मिल्दै जान्छ । यसकै उदाहरण हुन् कृष्णकुमारी श्रेष्ठ । गत शुक्रवार मात्र उपसचिव तहका ५ कर्मचारी सहसचिवमा उक्लिएमध्ये उनी पनि थिइन् ।

प्रशासन सेवातर्फ खुलाबाट कृष्णकुमारी श्रेष्ठ र कृष्ण पौडेल, महिला कोटामा कविता रेग्मी, मधेसी कोटाबाट श्रीराम ठाकुर नियुक्तिका लागि सिफारिस हुँदा न्याय सेवा, कानुन समूहबाट लीलाधर सुवेदी परेका छन् । लोकसेवा आयोगले यस वर्ष सहसचिव खुलातर्फ २ पदमा मात्रै माग गरेको थियो । लिखिततर्फ १ हजार २५ जना सहभागी थिए । ती सबैलाई पछि पार्दै कृष्णकुमारीले रेकर्ड बनाएकी हुन् । उनी नेपालको प्रशासनिक इतिहासमा पहिलो पटक खुलातर्फबाट सहसचिवमा नाम निकाल्न सफल महिलाको रूपमा दर्ज भएकी छन् । यो दुनियाँ नै जित्नेहरूको हो, जित्नेहरूकै लेखिन्छ इतिहास । हार्नेहरू त कहाँ छुट्छन् कहाँ ? कसैले हिसाब राख्दैन तिनको, कसैले भाउ दिँदैनन्, कसैले खोज्दैनन् हार्नेहरूलाई । तर, जीवनका परीक्षामा सफल हुनका लागि पटक–पटक पाैँठेजोरी खेल्नै पर्छ असफलतासँग । 

पाल्पा जिल्लाको एउटा मध्यमवर्गीय परिवारमा जन्मिएकी उनी १६ सन्तानमध्येकी कान्छी । दुई वटा आमा, दुवैतर्फबाट ८/८ सन्तान । ठूलीआमातर्फका ६ छोरी २ छोरा र आफ्नो आमातर्फका ५ छोरी, तीन छोरामध्ये कान्छी हुन् । खाने मुख धेरै, आम्दानीको श्रोत सीमित । बुबाआमाले खाई नखाई हुर्काए, पढाए । अभाव र तनावको पहाडले किचिएर हुर्किएकी हुन् कृष्णकुमारी । गाउँमै रहेको पाल्पा, रामपुर ८ स्थित गंगा माविबाट एसएलसी तहसम्म अध्ययन पूरा गरिन् । पढाइमा कहिल्यै दोश्रो भइनन् । माटोसँगै मितेर साइनो गाँसेका बुवाआमा । अन्न बाली र तरकारी खेतीमा रमाउँदै आएका छन् ।

हार्नेहरू त कहाँ छुट्छन् कहाँ ? कसैले हिसाब राख्दैन तिनकाे, कसैले भाउ दिँदैनन्, कसैले खाेज्दैनन् ।

एसएलसी लगत्तै गाउँकै प्राविमा शिक्षिकाको जागिर खाँदै अध्ययनलाई अगाडि बढाइन् । रामपुर शहीद बहुमुखी क्याम्पसबाट आइएदेखि ब्याचलरसम्म पार गरिन् । धेरैको रहर हुन्छ निजामती सेवामा प्रवेश गर्ने । तर, यो अवसर सबैका लागि जुर्दैन । निष्ठापूर्वक सेवा र कठिन परिश्रम गर्दै गएको खण्डमा पद र प्रतिष्ठा खोज्दै जानु पनि पर्दैन भन्ने ज्वलन्त उदाहरण हुन् कृष्णकुमारी । गाउँकै गाविस सचिवहरू देख्दा उनको मनको कुनामा पनि निजामती सेवामा प्रवेश गर्न पाए हुने भन्ने लाग्थ्यो । स्नातक तह पार लगाएपछि भित्रिइन्, राजधानी । त्रिविमा मानविकी संकायतर्फ पढ्न थालिन् । ०६५ सालमा खरिदारको परीक्षा दिइन् । मेलोमेसो केही थाहा थिएन, अनुत्तीर्ण भइन् । यसरी कुनै समय खरिदारमा अनुत्तीर्ण भएकी उनले अहिले १ हजार २४ प्रतिस्पर्धीलाई पछि पार्दै खुलातर्फबाटै सहसचिवमा पहिलो नम्बरमा नाम निकालेर रेकर्ड कायम गरेकी छन् । 

खरिदारको परीक्षामा हात लागेको असफलताले ठूलो पाठ सिकायो । अध्ययनको शैली र गति परिवर्तन गरिन् । आफूलाई निखार्दै लगिन् । अध्ययनको दायरा बढाइन् । खरिदारको परीक्षामा असफल भएकी उनी पाँच वर्षपछि एकै पटक अधिकृतमा नाम निकाल्न सफल भइन् । मास्टर्स डिग्री त्रिविमा अध्ययन गरिन् । अंग्रेजी मानविकी । ०६८/६९ मा नेम इन्स्टिच्युटमा लोकसेवा तयारी गर्दै थिइन् । उनलाई त्यहाँ पढाउनेमध्येका एक पूर्वप्रशासक प्रतीक ढकाललाई लाग्थ्यो– यी नानीले कहिल्यै पनि महिला र जनजातिको कोटा पर्खिरहनुपर्ने छैन । खुलाबाटै माथि पुग्नेछिन् । यिनको लेखाइ सफा, शुद्ध र कुरो पुगेको मात्र होइन, अरूको भन्दा भिन्नै दृष्टिकोण भएको पनि हुन्छ । नभन्दै सहसचिव तहको परीक्षामा उनले आफूलाई अब्बल सावित गरिदिइन् ।

०७० साल भदौ १९ गते सरकारी सेवामा पाइला राखेकी हुन् कृष्णकुमारीले । १६ सन्तानमा सरकारी सिन्दूर लगाउने सौभाग्य पाएकी उनी मात्र हुन् । तर, उनको अनुहारको खुशीको रंग हेर्ने पिता अहिले साथमा छैनन् । ०५८ जेठ १२ मा पिताले धर्ती छाडे । सोचेजस्तो सहज ढंगबाट कहाँ तय भएको हो र जीवनको बाटो ? सरकारी जागिर खान्छु भन्नका लागि अँगेनामा आमाले पकाएर ठिक्क पारिदिएको तरकारी, भातजस्तो कहाँ थियो र ? त्यसका लागि जरुरी थियो कडा मिहिनेत र अध्ययन । पहिलो पोस्टिङ सञ्चार मन्त्रालयमातहतको जिल्ला हुलाक कार्यालय धादिङमा भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय ट्रमा सेन्टरमा केही समय काम गरिन् । अब एक खुड्किलो उक्लिनु थियो अर्थात् उपसचिव हुने हुटहुटी पसिसकेको थियो । लगाव र निष्ठाकै कारण उनी सरकारी सेवामा पाइला राखेको पाँच वर्षमै उपसचिव तहमा उक्लन सफल भइन् । उपसचिवमा उक्लिएसँगै केही समय स्थानीय तह र मन्त्रालयमा कार्यअनुभव बटुलिन् ।

०७५ साल असार २७ गते उपसचिवमा उक्लिएपछि गोरखा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा १८ महिना, २७ महिना रक्षा मन्त्रालय हुँदै हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको योजना तथा वैदेशिक सहायता शाखा सम्हाल्दै आएकी थिइन् । त्यही समय काम र पढाइलाई सँगसँगै अघि बढाइन् । पढ्नमा सदैव अब्बल कृष्णकुमारी भन्छिन्, कहिलेकाहीँ पढ्दापढ्दै यतिसम्म पढिएछ कि संविधानका कतिपय धारा, उपधारा आँखा चिम्लेर कण्ठस्थ पारिएछ, जुन कहिल्यै पनि बिर्संदैन । निजामती सेवामा पाइला राखेको १० वर्षमै सहसचिवमा उक्लिन सफल भइसकेकी छन् । उनलाई आफू टपर नै हुन्छु भन्ने लागेको थिएन तर पढाइप्रति धेरै नै लगाव थियो, त्यसैले सफल हुन सकिन् ।

निजामती किताबखानाको तथ्यांकअनुसार अहिले ८५ हजार ५ सय १२ जना कर्मचारी कार्यरत रहेमध्ये महिलाले २८ दशमलव २३ प्रतिशत हिस्सा ओगटेका छन् । निजामती सेवामा ५८ जना सहसचिव र ३ सय ६५ उपसचिव महिला छन् । शाखा अधिकृत, नायब सुब्बा र खरिदारमा पनि महिलाको उपस्थिति उल्लेख्य छ । निजामतीमा पछिल्लो समय महिला प्रशासकहरूले एकपछि अर्काे रेकर्ड ब्रेक गरिरहेका छन् । त्यसैमा थपिएकी छन्, कृष्णकुमारी श्रेष्ठ । कुनै बेला निजामती क्षेत्रमा महिला कर्मचारी पाउन मुस्किल पथ्र्याे । निजामती सेवामा ६१ हजार चार सय २६ पुरुष कर्मचारीले काम गर्दा महिलातर्फ २४ हजार ९४ छन् ।

जसमा ८ सचिव महिला कार्यरत छन् । राधिका अर्याल, उपराष्ट्रपतिको कार्यालय, प्रम कार्यालय (कानुन) हेर्ने लीलादेवी गड्तौला, सरिता दवाडी    जलस्रोत तथा सिँचाइ, सेवा लम्साल, परराष्ट्र, विन्दु विष्ट उप–महालेखापरीक्षक, नेपाल ट्रष्टमा प्रमिलादेवी बज्राचार्य र लक्ष्मीकुमारी बस्नेतगण्डकी प्रदेशको प्रमुख सचिव । यीमध्ये पनि कान्छी सचिवका रूपमा सरिता दवाडी र परराष्ट्र सेवामा पहिलो महिला सचिवका रूपमा सेवा लम्सालले कीर्तिमानी कायम गरेका छन् । त्यही भीडमा कीर्तिमान थपेकी हुन् कृष्णकुमारीले । कृष्णका श्रीमान् जगत्बहादुर बानियाँ सेनामा सुबेदार छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू