भारत सरकारको के नै भो र भर

भारत सरकारको के नै भो र भर (तस्बिरः हर्कमाया लोक्ताम र उनी अहिले बस्दै आएको घर)

इलाम नगरपालिका—११, बेलासेस्थित आफन्तको घरमा बस्छिन् ८२ वर्षीया हर्कमाया लोक्ताम । उनी भारतीय सुरक्षाकर्मी (भूपू सैनिक) टेकबहादुर लोक्तामकी श्रीमती हुन् । बालबच्चा भएन । श्रीमानकाे २०६५ भदौ ९ गते निधन भयो । बेसहारा उनी झण्डै आफूसमानकी पाकी कान्छी बहिनीसँग बुढ्यौली र अभावले धराशायी जीवन बाँचिरहेकी छन् ।

पेन्सन खाइरहेका श्रीमानकाे २०६५ सालमा मृत्यु भएपछि बेसहारा जस्तै बनेकी छन् । नेपालमा मात्र होइन, भारतमासमेत पेन्सन खाइरहेका श्रीमानकाे मृत्युपछि श्रीमतीहरूले पेन्सन पाउने व्यवस्था छ । तर, श्रीमानकाे मृत्युपछि हर्कमायाले भने पेन्सन पाइनन् । श्रीमानकाे मृत्यु भएको १६ वर्ष भइसक्यो । अहिलेसम्म पेन्सन पाउन सकेकी छैनन् ।

पेन्सनका लागि भारतीय राजदूतावासका पेन्सन वितरण कार्यालयहरूमा कागजात बुझाएको पनि १३ वर्ष भइसक्यो । ऊ बेला हर्कमाया घाँस, दाउरा गर्न सक्ने, सामान्य खेतीपाती गरेर खान सक्ने अवस्थामा थिइन् । तर, अहिले शरीर जीर्ण भइसकेको छ । खान रुच्न छोडेको छ । हिँडडुल गर्नसमेत सक्दिनन् । कान राम्ररी सुन्दिनन् । पेन्सन पाउने आशैआशमा जाने हो कि सास भनेजस्तै भइसकेको छ । पेन्सन पट्टा र नागरिकतामा नाम फरक भएकाले दुई व्यक्ति एकै भएको प्रमाणित भएपछि मात्र पेन्सन दिने भारतीय राजदूतावास पेन्सन वितरण कार्यालयले भन्यो ।

२०६८ सालमै तत्कालीन गाउँ विकास समिति र जिल्ला प्रशासन कार्यालयले नागरिकतामा भएको हर्कमाया लावती र पेन्सन पट्टामा उल्लेख भएको नाम एचमति लिम्बू एकै व्यक्ति भएको सिफारिस कार्यालयमा पेश गरेकी थिइन् । लेखपढ गर्न नजान्ने उनी आफन्तको सहयोगमा धेरै खर्च गरेर कार्यालयहरूमा धाइन् र धरानस्थित दूतावासको पेन्सन वितरण कार्यालयसम्म पुगेर कागजात पेश गरिन् । तर, कार्यालयले कुनै रेस्पोन्स गरेन । न थप कागजात माग्यो न पेन्सन नै दियो ।

श्रीमानकाे मृत्युपछि पेन्सन पाउनबाट वञ्चित विधुवाहरूको विषयमा जनआस्थाले २०७९ चैत २२ गतेको अंकमा ‘भारतीय सरकारको पेन्सन, विधुवाहरूलाई टेन्सन’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशनपछि उनीसँगै समाचारमा उल्लेख भएका व्यक्तिलाई पेन्सन वितरण कार्यालयमा बोलाइएको थियो । कार्यालयमा बोलाएर समाचार दिने कि हामीलाई भन्ने भनेर आफन्तलाई थर्काउने कामसमेत गरिएको थियो । त्यसपछि हर्क मायालाई भने इलामस्थित एसबीआई बैंकमा खाता खोल्न लगाइएको थियो । खाता खोल्न लगाएपछि पेन्सन आउने आशमा रहेकी थिइन् हर्कमाया ।

तर पेन्सन आउला भन्ने समय अर्थात् त्यसको एक वर्षपछि २०८१ वैशाखमा पेन्सन होइन, नाम नमिलेको भन्दै पुनः कागजात पेश गर्न ताकेता मात्र आएको छ । पहिलो पटक सोही प्रकृतिको कागजात पेशेको १३ वर्षपछि मात्र नाम नमिलेको थाहा पाएर भारतीय सरकारले कागजात पेश गर्न पत्राचार गरेको छ । तर, हर्कमाया आफैं जीर्ण शरीर लिएर कागजातका लागि धौडधुप गर्न सक्ने अवस्थामा छैनन् । र, उनको आशसमेत मरेर गएको छ ।

आफन्तसमेतको आशा कम छ । कागजात पेश गरेको १३ वर्षपछि दोहोर्‍याएर कागजात मागेपछि आफन्तलाईसमेत भारतीय सरकारले पेन्सन दिने आशा मरेर गएको छ । अब फेरि कागजात पेशे पनि कति वर्षपछि कारबाही हुने टुंगो नहुने भएकाले कागजात पेश गर्नुको औचित्य नहुने आफन्त बताउँछन् । भारतीय सरकारले विभिन्न बहानामा श्रीमानकाे मृत्युपछि श्रीमतीहरूले पाउने पेन्सन नदिँदा विधुवा श्रीमती र परिवार आशैआशमा निराश बन्नुपर्ने अवस्था छ । 

भारतीय सरकारले कागजातमा सानो सानो त्रुटि देखाएर वर्षौंसम्म झुलाई पेन्सन नै नदिने गरेको परिवारको गुनासो छ । पेन्सनका लागि माग गरिने आवश्यक कागजात स्थानीय तहदेखि जिल्ला प्रशासनले आधिकारिक रूपमा प्रमाणित गरिदिँदासमेत भारतीय सरकारले श्रीमतीहरूलाई विभिन्न बहानामा पेन्सनबाट वञ्चित गर्दै आएको छ । श्रीमानकाे मृत्युपछि पेन्सन पाउनका लागि श्रीमती र परिवारले भारतीय पेन्सन वितरण कार्यालय र दूतावास धाउँदा धाउँदै लाखौं सक्ने गरेका छन् । पेन्सन पाउने आशाले समय र पैसा खर्च गरे पनि पेन्सन नपाउँदा उल्टै पीडामाथि पीडा थपिएको परिवारको गुनासो छ ।

भारतीय सेनाबाट निवृत्त भएर पेन्सन पाउँदा पाउँदै निजको मृत्यु भएमा श्रीमतीले काजक्रिया खर्चसहित जीवनभर  पेन्सन पाउने व्यवस्था छ । तर, श्रीमानकाे मृत्युपछि दर्जनौंले पेन्सन पाएका छैनन् । पेन्सन मात्र होइन काजक्रिया खर्चसमेत पाएका छैनन् । श्रीमानकाे मृत्युपछि पेन्सन नियमित पाउने श्रीमतीहरू थोरै मात्र पाइन्छन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू