‘भंगेरालाई तोप’, गणतन्त्रमाथि खोप

‘भंगेरालाई तोप’, गणतन्त्रमाथि खोप

लाग्दो हो, नेपाली कांग्रेसको आन्दोलन किन मत्थरको बाटोमा गयो ? पत्थरजस्तो कठोर नेताहरु किन नरम देखिन थाले ? रविसँगको वार्तामा किन पूर्णबहादुर हैन ज्ञानेन्द्र कार्की खटाइए ? सहकारीमा मलाई सिध्याएर टेरामक्समा तँलाई पनि बाँकी राख्दिन भन्नलाई ?

केहीले भनेका थिए, ‘सरकारले कांग्रेसलाई गलाइसक्यो, फेरि चिसै पानीले नुहाउलान् जस्तो छ ।’ के बजारमा आइरहेका यस्तै आम अनुमानजस्तै होला त नेपाली राजनीति ? बिल्कुल होइन, कांग्रेस नरम हुनुपर्ने कारण राष्ट्रिय मात्रै छैन, गणतन्त्रका मागकर्ताकै हातबाट गणतन्त्र जानै लागेको सुराकसहित कांग्रेसलाई यसको श्रेय लिने काम नगर्न अन्तर्राष्ट्रिय समुदायबाट सुझाव आएको पाइएको छ । यसपछि कांग्रेस केही सुस्ताएको जस्तो देखिएको हो । यसलाई राजनीतिमा ‘फेस सेभिङ’ पनि भन्ने गरिन्छ ।

एकातिर संसद अवरुद्ध गरेजस्तो देखिने, अर्कोतिर सरकारी काम पनि भटाभट भइरहने परिस्थितिबीच कांग्रेस कमजोर भएको देखिए पनि देशको राजनीति कसरी उलटफेर हुँदैछ र ‘यसको श्रेय तिमीहरु किन बोक्दैछौ’ भनेर अन्तर्राष्ट्रिय समुदायले ‘अलर्ट’ गराएपछि कांग्रेस ऊ धक्कामुक्कीबाट पछि हटेको छ । औपचारिक संसद अवरोधबीच सरकारले नीति तथा कार्यक्रम ल्यायो, पास पनि भइसक्यो । संसदमा प्रधानमन्त्री प्रचण्डले बोलिहाल्नुभयो । अब हुने राजनीतिक घटनाक्रममा ढिलोचाँडो संसद अधिवेशन बन्द नगर्दा अध्यादेशबाट दल विभाजनको सुविधा पाइँदैन । संसदमा सभामुखदेखि अख्तियार, निर्वाचन आयोग र अदालत तथा सरकारमा बलियो पकड भएका केपी शर्मा ओली अब अर्को सरकार नबन्ने गरी अदालतबाटै व्यवस्था गरेर मध्यावधि निर्वाचनको तयारीमा जुट्ने भित्री योजनामा रहेको बुझिन्छ । सहकारीलगायत जनताका मुद्दा उठाउँदा कतै फेरि अर्को खिलराज रेग्मी प्रकट हुने र गणतन्त्र भत्कने दिन नजिक आएको खबर पाएपछि कांग्रेस एकाएक संसदमा रक्षात्मक बनेको बताइन्छ । कांग्रेसको आन्तरिक छलफलमा यस विषयमा घनिभूत विमर्शपछि तत्काल आन्दोलनबाट नहट्ने तर अरु आक्रामक पनि नहुने निश्कर्ष निकालिएको अवस्था छ । 

यता पुराना दल र पहिलेका नेता निकम्मा भन्दै वैकिल्पक शक्ति बनेको दाबी गर्ने रवि र ‘गणतन्त्रको असली पहरेदार हामी हौँ’ भन्ने छवि अर्थात् पुष्पकमल दाहाल (प्रचण्ड) लाई काखी च्यापेर एकसाथ केपी शर्मा ओली अहिले नै ठूलो दलको अध्यक्ष बन्ने र मध्यावधिको मक्सद पूरा गर्ने बाटोमा हुनुहुन्छ । यसका लागि सबैभन्दा चर्को गाली गर्ने रवि लामिछानेलाई जुरुक्क उचालेर ‘भंगेरालाई तोप’ हानिरहेको देखिन्छ । तेस्रो र चौथो पार्टी माओवादी र रास्वपा हुँदै सबैतिर सेटिङ मिलाउने कार्यमा सफलता हात पार्दै रहनुभएका ओली कांग्रेस देखाएर प्रचण्ड र रविलाई गठबन्धन फेरबदल गराउन नसक्ने गरी ‘चेक’ दिइरहनु भएको छ ।

यस्तो अवस्थामा कांग्रेसको लगातार आन्दोलनले संसद विघटन र मध्यावधि घोषणाकै बाटोमा जाने, देशमा सहजै आवधिक चुनाव हुन नसक्ने, अर्को कुनै सरकार तत्काल बन्न नसक्ने र संघीयतालाई थिल्थिलो पारेर ‘खिलराज रेग्मी–भाग दुई’ को दृश्यतर्फ देश अघि बढिरहेको कसै–कसैको आकलन छ । यस्तो त्रासद्पूर्ण दृश्य देखाउँदै ‘कांग्रेसकै कारण लोकतन्त्र टिकेन’ भन्ने नाममा त्यस्तो अपजस र कलंक किन बोक्छौ भन्ने सन्देश पाएपछि ऊ रक्षात्मक बनेको हुनसक्छ । अब नागरिक उन्मुक्ति र नेकपा (एस) पनि फुटाउन मिल्ने केही आन्तरिक तयारीमा एमाले अध्यक्ष ओली लागिरहँदा प्रचण्डलाई ०८४ पछि ‘राष्ट्रपति’को सपना बाँड्ने काम भइरहेको छ । यसमा विमति राख्ने जनार्दन शर्मालाई ‘माओवादी छाडेर किन नगएको’ सम्म भनेर अपमान गरिसकिएको छ । ओलीचाहिँ अहिले रविलाई जोगाएर उनलाई नै सिध्याउने, माओवादीमाथि अपजसको भारी बिसाएर ठूलो पार्टीको अध्यक्ष र प्रधानमन्त्री हुने बाटोमा हुनुहुन्छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू