छिमेकको चुनावले कसलाई पछार्ला, कसलाई उकास्ला ?

छिमेकको चुनावले कसलाई पछार्ला, कसलाई उकास्ला ?
सुन्नुहोस्

दक्षिणी छिमेकमा संसदीय आम निर्वाचनको अन्तिम चरण  नजिकिँदै जाँदा १० वर्षदेखि सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई इण्डिया गठबन्धनले कडा टक्कर दिने आकलन गर्न थालिएको छ । भाजपाकै नेता राजेश दीक्षित समेतले यस्तो हिसाब निकालेका हुन् । ग्यास तथा पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानसँगै मिलेर पार्टीको जिम्मेवारी वहन निर्वाह गर्दै आइरहेका उनी यसअघि समाजवादी पार्टीका अध्यक्ष मुलायमसिंह यादव केन्द्रीय मन्त्री हुँदा सल्लाहकार र पार्टीको महासचिव थिए । 

भाजपाले अन्य दलका नेतालाई प्रताडित गरेको र अघिल्ला चुनावजस्तो यसपालि प्रभावकारी नारा नभएकाले अपेक्षित रूपमा एकल बहुमतको सरकार बनाउन नसकिने आकलन दीक्षितको छ । उनका अनुसार भाजपाको महत्वाकांक्षी अपेक्षा रहेको ५४३ मध्ये ८० सिटवाला उत्तर प्रदेशमै हालत खस्किएको छ । चुनावी अभियानको शुरु र मध्यावधिमा माहौल बने पनि मतदान नजिकिँदै गर्दा अवस्था खस्केको छ । इण्डिया गठबन्धनबाट लड्न तयार बहुजन समाजवादी पार्टी (बसपा)की नेतृ तथा पूर्वमन्त्री मायावतीका भतिजलाई चुनावी मैदानबाट फिर्ता हुन बाध्य पारिएपछि नकारात्मक असर पुगेको उनको ठम्याइ छ । मायावतीको व्यक्तिगत कमजोरीलाई ढाल बनाएर गृहमन्त्री तथा भाजपा नेता अमित साहले दवावमा राखेको महसुस गरेपछि बहुजन समाजका पक्षधरले कुनै पनि अवस्थामा भाजपालाई भोट नहाल्ने बरु इण्डियन गठबन्धनलाई जिताउने अभियानलाई तीव्रता दिएका छन् । मायावतीलाई बसपाबाट को–कोे उठाउने भन्नेसम्मको दवाव केन्द्रीय गृहमन्त्रीले दिएको बताइन्छ । मायावती मुख्यमन्त्री हँुँदाका भ्रष्टाचारको फाइल बोकेर धम्क्याएको कारण इण्डिया गठबन्धनबाट अलग्गै भई मायावतीले उम्मेदवारी दिन नसकेको र गठबन्धनको पक्षमा पनि खुलेर भोट माग्न नसकेको, बरु भाजपाले भनेबमोजिम कमजोर उम्मेदवार उठाउने, दह्रा उम्मेदवारहरूलाई फिर्ता लिन लगाउनेसम्मका काम भएको बुझेपछि बसपा कार्यकर्ता तथा नेताहरू उल्टिएको बताइन्छ । उक्त प्रदेशमा बसपासमर्थित कथित दलितहरूको १२ प्रतिशतसम्म मत रहेको बताइन्छ । यो मत बसपा र मायावतीको जता ढल्किन्छ त्यतै जान सक्छ । 

उत्तर प्रदेशमा भाजपा कमजोर हुनेबित्तिक्कै त्यसलाई पुर्ताल गर्न सक्ने अर्को कुनै राज्य वा निर्वाचन क्षेत्र छैन । महाराष्ट्रमा पनि भाजपा कमजोर देखिएको छ जबकि उसले त्यहाँबाट अघिल्लो चुनावमा अन्य पार्टीलाई क्लिनस्वीप गरेको थियो । भाजपासँग गठबन्धनमा रहेको सिन्दे समूह पनि पत्तासाफ हुन लागेको बताइन्छ । त्यहाँबाट उद्धव ठाकरे र शरद पवारहरूले नै बाजी मार्न सक्छन् भन्ने आंकलन गरिएको छ । ठाकरेलाई मुस्लिम समूहले साथ दिइरहेको छ भने शरद पवारको अवस्था कांग्रेसको भन्दा पनि राम्रो भएको बुझिन्छ । भाजपालाई उत्तरप्रदेश र महाराष्ट्रमा मात्रै करिब ५०–६० भन्दा बढी सिट हानी हुने अवस्था छ । दीक्षितले उत्तरप्रदेशमा भाजपा र इण्डिया गठबन्धनको अहिलेको अवस्था ५०–५० प्रतिशतको हाराहारीमा देखिएको बताए । उत्तरप्रदेशमा इण्डिया गठबन्धनले ३५ देखि ४० सिटमा विजय हासिल गर्ने अवस्था सिर्जना भएको बताइन्छ । महाराष्ट्रमा पनि ४९ सिटमध्ये २५ देखि ३० सिटमा इण्डिया गठबन्धनले विजय गर्ने प्रक्षेपण गरिएको छ । बिहारमा समेत भाजपाको सोचेजस्तो अवस्था देखिएन भन्न थालिएको छ ।

यी तीन वटा राज्यबाट अघिल्लो चुनावमा भाजपाले ३०३ सिट पाएको थियो भने अहिले इण्डिया गठबन्धनले २०– २० सिट जित्दा पनि भाजपा अर्थात् मोदीको सरकार बन्न गाह्रो हुनसक्छ । क्षतिपूर्ति गर्ने क्षेत्र भनेका दक्षिण भारतका राज्यहरू हुन् । तामिलनाडुबाट पुर्ताल हुने सम्भावना कम छ । आन्ध्र प्रदेशमा थोरबहुत आसलाग्दो अवस्था छ । केरलामा त भाजपाको उपस्थिति शून्यकै हालतमा देखिन्छ । पश्चिम बंगालमा पनि तृणमूल कांग्रेसकै बढी सिट आउने सम्भावना छ । भारतीय निर्वाचनलाई नजिकबाट नियाल्दै गरेका एक जना विश्लेषकका अनुसार भाजपाले यसपटक चार सय सिट कटाउने घोषणा गरेको भए पनि इण्डियन गठबन्धनका घटकहरूले २८० देखि २८५  सिटसम्म जित्ने अपेक्षा राखेका छन् । राजधानी दिल्लीको ७ सिटमध्ये ३ सिटमा आम आदमी पार्टी, १–सिट भाजपा र कांग्रेसले जित्ने आकलन गरिएको छ । जबकि यसभन्दा अघि भाजपाले क्लिनस्वीप गरेको थियो । इण्डियन गठबन्धनले हिन्दी भाषी क्षेत्रमा भाजपालाई ५०–६० सिटमा धक्का दिन सकियो भने केन्द्रीय सरकार बनाउन सकिन्छ भन्ने विश्वास राखेको बताइन्छ । भाजपाको यो अवस्थाका पछि २०१४ को निर्वाचनमा हिन्दूत्वको नारा र गुजरात मोडल, सन् २०१९ मा सर्जिकल स्ट्राइकर अहिले राममन्दिरको एजेण्डाले काम गरेको थियो ।

राम मन्दिर निर्माण गरिएको अयोध्याबाट टिभी सिरियल रामायणमा रामको भूमिकामा देखिएका अरूण गोविललाई उठाइएको छ । उनी  पनि हार्ने खतरा छ । चर्चित अभिनेत्री हेमामालिनी पनि हार्ने अवस्था सिर्जना भएको बताइन्छ । केन्द्रीय मन्त्री स्मृति जुबिन इरानी अमेठी रायबरेली क्षेत्रबाट हार्ने लगभग पक्कापक्की भएको बुझिएको छ । त्यहाँस्थित राजीवगान्धी अस्पताललाई राजनीतिक पूर्वाग्रहका कारण बन्द गराएपछि उनको आलोचना हुनुका साथै जनमत विरुद्धमा देखिएको छ । भनिन्छ, इरानी ५० देखि १ लाख मतको फरकमा पछि पर्ने अवस्था छ । दुई चरणमा चुनाव सम्पन्न गरिने भएपछि भाजपाको नकारात्मक मतमा वृद्धि भएको दावी स्रोतले गरेको छ । पूर्वोत्तर भागका अधिकांश सिटहरूमा पनि भाजपाको अवस्था निकै नाजुक रहेको बताइन्छ । यी क्षेत्रमा रहेको २७ सिटमध्ये इण्डिया गठबन्धनले १४। १५सिटमा विजय हासिल गर्न सक्ने आकलन छ । भारतमा ५ सय ४३ लोकसभा सिटको लागि सात चरणमा चुनाव सम्पन्न गर्ने तालिकाअनुसार जुन ४ तारिखसम्ममा सबै नतिजा सार्वजनिक गरिने छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू