पत्रकारको हेडक्वार्टरमा यो कस्तो हलचल

पत्रकारको हेडक्वार्टरमा यो कस्तो हलचल
सुन्नुहोस्

नेपाल पत्रकार महासंघले जिल्ला, प्रदेश, केन्द्रको निर्वाचन जेठ २६ गतेलाई तोकेको छ । तर, केन्द्रदेखि जिल्लामा ताला लाग्न थालेपछि चुनाव सर्छ कि भन्ने देखिन थालेको छ ।

महाधिवेशनका लागि उसले जिल्ला जिल्लाबाट सदस्यता आह्वान र नवीकरण अभियान चलाउँदै पत्रकारितामा शुद्धिकरण चलाउने भनेर छाँटकाँट शुरु गरेको थियो । ६ महिनाभन्दा बढी विदेश गएका, पार्टीमा पदाधिकारी रहेका, जनप्रतिनिधि बनेका, राज्यको निकायमा करारसम्मका जागिरे र शिक्षकलाई सदस्यताबाट हटाउने  अभियानमा भाँडभैलो भएर सोमबार नेपाल पत्रकार महासंघको केन्द्रदेखि जिल्लामा देशभर ताला लागेको पाइएको छ । ताला लगाउन अरु समूह, संगठन पनि जोड गरिरहेका छन् । 

यो विषम परिस्थिति निर्माणमा केन्द्रीय नेतृत्व नै जिम्मेवार भनेर जिल्लाका नेताहरूले पनि साधारण सभा गर्न नसकिने बताइरहेका छन् । विज्ञप्ति निकालिरहेका छन् । पछिल्लो घटनाक्रममा नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, पर्सा सचिव महेश दास, उपाध्यक्षमा उठेका लालबाबु शेखहरूको सदस्यता राखेर अरुको काटियो भन्दै नेपाल प्रेस युनियन र समाजवादी प्रेस संगठन नेपालले आपत्ति जनाएका छन् । डोल्पाका सचिव लेख बुढाले जिल्लामा पत्रकार महासंघको चुनाव हुन्छ, केन्द्र र प्रदेशमा डोल्पाको भोट आउँदैन भन्ने चेतावनी दिएका छन् ।

आफ्नो नेतृत्व केन्द्र र प्रदेशमा पनि हुने तर बागमती प्रदेशका पदाधिकारीको नामसमेत काट्ने काम भएको भन्दै युनियनले नियतवश पत्रकारहरूको नाम काटिएको भनी तालाबन्दी गरेको छ । उसले आफ्ना सदस्यहरू कतै तरुण दल, नेविसंघ, महिला संघ र पार्टीमा भएको भए प्रमाण दिन र चौतारी तथा प्रेस सेन्टरका प्रमाण भेटिएकाहरूको पनि नाम हटाउन माग गरेपछि  मुद्दा अरु पेचिलो बनेको छ । प्रेस चौतारी, प्रेस युनियन, प्रेस संगठन, प्रेस सेन्टरका नेतृत्वसँग बसेर भएका सम्झौता पनि कार्यान्वयन नभएको भन्दै चारै संगठनले असन्तुष्टि जनाइरहेका छन् । महासंघको महाधिवेशन समयमा गर्न नेतृत्वले छलफल चलाइरहेको बताइन्छ । 

यता, पत्रकारको मुकाममै ताला लागिरहँदा मिडियाहरू भने धमाधम संकटमा परिरहेका छन् । पछिल्लो समय छापा माध्यम धरासायी बनिरहँदा फस्टाएका अनलाइन मिडियाहरूले पनि संकट भोगिरहेका छन् । बिजमाण्डुको सफलतापछि हौसिएर ओम थापाले शुरु गरेको पहिलोपोष्ट बन्द भएको धेरै भइसकेको छ । ऋषिकेश पोखरेलहरू संलग्न अनलाइनमा ४० कामदार पत्रकार थिए । पछिल्लो समय विश्वदीप पाण्डे पनि अनलाइन चलाउन नसक्ने अवस्थामा पुगेर फेरि माओवादीमा प्रवेश गरेका छन् । काठमाडौँमा नाम चलेका धेरै अनलाइन सुस्ताउन  र पत्रकारहरू विस्थापित हुन थालेका छन् । 

यहीबीच पूर्वराष्ट्रपति विद्या भण्डारीले पनि एउटा अनलाइन व्यवस्थित गर्न थाल्नुभएको पाइएको छ । बारबार नेतृत्व फेरिइरहेको चक्रपथ डटकममा पूर्वराष्ट्रपति जोडिनुभएको चर्चा छ । अनलाइनका अध्यक्ष डेगेन्द्र पाण्डे भण्डारीका भाइ हुन् । अनामनगरस्थित चक्रपथ डटकम मदन भण्डारी कलेजमा लगेर व्यवस्थितसँग सञ्चालन हुन थालेको छ । त्यहाँ प्रधान सम्पादक खोटाङका दीपक पाण्डे र सल्लाहकार सम्पादक बालकुमार नेपाल लगिएका छन् । अनलाइनमा अत्यधिक उपकरण, प्राविधिक थपिएका छन् । एउटा टेलिभिजन नै चलाउन पुग्ने स्टुडियो बनेको छ । कर्मचारी र पत्रकारलाई खाना, खाजासहित आकर्षक तलब दिइएको छ ।

टिप्पणीहरू