प्रधानन्यायाधीश ‘आउट’, बार–बेञ्चमा कित्ताकाट

प्रधानन्यायाधीश ‘आउट’, बार–बेञ्चमा कित्ताकाट

करिब पाँच हजार कानुन व्यवसायी सहभागी नेपाल बार एशोसिएसनको राष्ट्रिय सम्मेलनले नै अघिल्लो साता संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशलाई हटाइनुपर्ने, सेवा प्रवेशमा न्यायाधीशहरूको न्यूनतम उमेर र पदावधि तोक्नुपर्ने प्रस्ताव पारित गरेको छ । 

बार अध्यक्ष गोपालकृष्ण घिमिरेले पोखरामा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि सामन्तको लाञ्छना लगाएपछि दुई निकायका प्रमुखको सम्बन्ध चिसिएको थियो । अहिले प्रस्ताव नै पारित गरेर संवैधानिक परिषद्बाटै प्रधानन्यायाधीशलाई बाहेक गर्न संविधान संशोधन गर्नुपर्ने माग बारले तेस्र्याएको छ । संविधान जारी भएको नौ वर्षमा संविधान संशोधनको विषयलाई औपचारिक एजेण्डा नै बनाई पहिलोपल्ट प्रस्ताव पारित गरिएको हो । 

संविधानको धारा २८४ (१) मा संवैधानिक परिषद्सम्बन्धी व्यवस्थाअन्तर्गत प्रधानन्यायाधीश रहने व्यवस्था छ । बार सम्मेलनले भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेमा बाहेक अन्य संवैधानिक निकायका प्रमुख र पदाधिकारीको सिफारिसमा निजको कुनै भूमिका नरहने गरी संविधान संशोधन गर्नुपर्ने प्रस्ताव पारित गरेको हो । प्रधानन्यायाधीशसमेतको संलग्नतामा भएका विभिन्न महत्वपूर्ण नियुक्तिका विषय सर्वोच्च अदालत पुगेपछि कतिपय अवस्थामा उनले नै छिनोफानो गर्नुपर्ने परिस्थितिसमेत छ । स्वार्थ बाझिने यस्तो असंगतिलाई समाधान गर्न प्रधानन्यायाधीशलाई अलग गरेर संवैधानिक परिषद् बनाइनुपर्ने प्रस्ताव पारित गर्नुपरेको बताइएको छ । 

यति मात्र नभै न्यायाधीशको पदावधि सम्बन्धमा पुनरवलोकन गरी आवश्यक संशोधन गर्न बारले संघीय संसद् र राजनीतिक दलहरूको ध्यानाकर्षणसमेत गराएको छ । अदालतमा नियुक्त सबै तहका न्यायाधीश, न्यायपरिषद्का सदस्य तथा उनीहरूका एक सगोलको परिवारका सदस्यहरूको वार्षिक सम्पत्ति विवरण दाखिल र सार्वजनिक रूपमा प्रकाशन गर्नुनपर्ने बारको अर्को प्रस्ताव छ । सम्पत्ति लुकाएमा वा दाखिल नगरेमा फौजदारी दायित्व सिर्जना हुने र यसैका आधारमा छानबिन हुने गरी कानुनमा किटान व्यवस्था हुनुपर्ने माग कानुन व्यवसायीले गरेका छन् । यस्तो प्रस्तावले न्यायाधीशमा चस्को पसेको छ । 

बारको प्रस्ताव पारित भएमा न्यायपरिषद्मा जाने आफ्ना सदस्य प्रतिनिधि तथा प्रधानमन्त्रीबाट सिफारिस हुने सदस्यले उक्त पदबाट हटेपछि अदालतमा बहस–पैरवी गर्न बन्देज लाग्नेछ । बार सम्मेलनका क्रममा न्यायपरिषद सदस्यबाट हटेपछि बाहिर आएर आफैँले नियुक्त गरेका न्यायाधीशसमक्ष बहस पैरवी गर्ने परिपाटी अन्त्य हुनुपर्ने चर्को आवाज उठेपछि प्रस्ताव पारित गर्न बाध्य हुनुपरेको हो । यसअघि न्यायपालिका पुनःसंरचनाका लागि बारले पूर्णमान शाक्यको संयोजकत्वमा कार्यदल गठन गर्दादेखि नै प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीश यसै पनि सशंकित बनिरहेका थिए । 

यही बेला सम्मेलनबाटै प्रस्ताव पारित भएपछि बार–बेञ्च द्वन्द्व संग्रालिने संकेत मिलेको सर्वोच्च बार एशोसिएसनका एक जना वरिष्ठ अधिवक्ताले बताए । बारको प्रस्ताव कार्यान्वयनमा आउँदा आफ्नो सेवा सुविधामा प्रतिकूल असर पार्ने ठम्याइ न्यायाधीशहरूको छ । बारको प्रस्तावलाई लिएर न्यायाधीशबीच साउती चले पनि यस विषयमा सर्वोच्च अदालत र न्याय परिषदले औपचारिक रूपमा आफ्नो धारणा बाहिर ल्याएका छैनन् । बारप्रति भित्रभित्रै ‘धुवाँ’ भएर बसेको सर्वोच्च अदालत स्रोतको दाबी छ । 

बारले संसदीय सुनुवाइको व्यवस्था हटाउनसमेत माग गरेको छ । संवैधानिक इजलासलाई स्थायी इजलासको रूपमा नियमित सञ्चालन गर्न अरु थप चार जना न्यायाधीश नियुक्त गरी सर्वोच्चमा न्यायाधीशको कूल संख्या २५ जना पुर्‍याउन पनि संसदलाई गुहारिएको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू