असारको मुखमा किन चाहियो आँटिलो हाकिम ?
सामान्यतया आर्थिक वर्षको अन्तिमतिर विकासे कामले गर्दा विकासे मन्त्रालय तथा कार्यालयमा प्रशासनिक चाप थेगिनसक्नु हुन्छ । अझ स्थानीय तहमा त फागुनपछि विकासे कामले भ्याईनभ्याई नै हुन्छ । तर, केही स्थानीय तहमा वैशाखमा आएर प्रमुख प्रशासकीय अधिकृत फेरबदलले गर्दा जनताले दुःख पाएका छन् । यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भने वैशाखमै प्रमुख प्रशासकीय अधिकृतहरू फेरबदलका लागि केही नगरपालिकाका प्रमुखहरू धाइरहे । कोही नगरप्रमुखलाई आँटिलो प्रमुख प्रशासकीय अधिकृत चाहिएको थियो भने कोहीलाई अलि ढुक्कले बसिदिने प्रशासक ।
ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकामा भने त्यही बेला प्रमुख प्रशासकीय अधिकृतको सरुवाले जनताको काम प्रभावित भइरहेको थियो । यस्तो बेला सरुवा किन भएको भन्दा ललितपुर महानगरपालिकाका वीरेन्द्र भारतीलाई रोजेर भरतपुर लगिएको रहेछ । प्रधानमन्त्री पुत्री रेणु दाहाल मेयर भएको भरतपुरमा भारती लगिनुले केही गतिलै काम फत्ते गर्न आँटिलो मान्छे खोजिएको भन्ने अनुमान गरिएको छ ।
भारतीले प्रमुख प्रशासकीय अधिकृत भएर गरेका आँटिला कामहरूको चाङ अख्तियारमा चुलिएको छ । ललितपुरकै गोदावरी नगरपालिकामा मेयर गजेन्द्र महर्जन निकटलाई निकासी कर संकलनमा सोचेजति नाफा नभएका कारण संकलित राजश्वबाट झण्डै डेढ करोड रूपैयाँ फिर्ता गरिदिन हिम्मत गर्ने तिनै भारती हुन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई पनि फोहोरमैला प्रशोधनको विवादित काम अगाडि बढाउन तथा सेती खोँचको ढुंगागिट्टी संकलन तथा निकासी आँट गरेर पार लाइदिने यिनै भारती भएको प्रशासन क्षेत्रमा चर्चा छ । गोदावरी नगरपालिकामै कन्सल्टेन्सी कम्पनीहरूका नाममा भुक्तानी भएका विभिन्न शीर्षकका झण्डै २ करोड रूपैयाँ महालेखा परीषक कार्यालयको प्रतिवेदनले बेरुजुको रूपमा औंल्याएको छ । यस्ता आँटिला हाकिम रेणुले रोजेरै लैजानुको पछाडि भरतपुरमा केही आँटिलो काम गर्नुपरेको हुन सक्छ भन्ने चर्चा छ ।
यस्तै शाखा अधिकृतबाट आदिवासी जनजाति कोटामा सीधै सहसचिव पास गरेकी रेखा दास श्रेष्ठलाई पहिलो पोष्टिङमै ललितपुर महानगरपालिका पठाइएको छ । उनलाई भने मेयरको रोजाइमा भन्दा प्रधानमन्त्री कार्यालयकै व्यवस्थापनमा पठाइएको बुझिन्छ । ललितपुरका मेयर चिरीबाबु महर्जन भने प्रशासकीय अधिकृत यो हटाइदिनुस् भन्न र पठाइदिनुस् भन्न पनि नजाने प्रकृतिका व्यक्ति हुन् । गोदावरी नगरपालिका पनि अख्तियारका मुद्दा र महालेखाका बेरुजुले गर्दा चर्चित छ । मेयर गजेन्द्र महर्जनको त सेड्युलमै अख्तियार जाने वा अख्तियार मिलाइदिन्छु भन्दै आउने दलालहरूलाई रिझाउँदै सरकारी कोष खर्च गर्दै थप विवादित बन्ने अवस्था बनेको छ ।
गोदावरी ९ छम्पीस्थित नेपाल आर्ट भिलेज नामका व्यावसायिक मेगा प्रोजेक्टलाई ठूलो मात्रामा सार्वजनिक जग्गा नगरपरिषद्बाट निर्णय गरेर दिएको भनी अख्तियारमा मुद्दा छ । सार्वजनिक जग्गा नाफा आर्जन गर्ने कम्पनीलाई दिलाएको नाममा परेको मुद्दादेखि सरकारी कोषमा जम्मा भएको राजश्व फिर्ता गराएको र अन्य थुप्रै केस अख्तियारमा रहेका मेयर महर्जनले अख्तियार आर्ट भिलेजका अध्यक्ष राजेन्द्र शाक्यमार्फत नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका नेताहरू समेत परिचालन गरेको बुझिएको छ । अख्तियार मिलाउने नाममा महर्जनले बामपन्थी नेताहरूलाई साथ लिँदै प्रमुख प्रशासकीय अधिकृतमा पनि आँटिला प्रशासक खोजेर ल्याएका छन् । सरुवा भएर आएको ६ महिना नपुगी अच्युतप्रसाद रेग्मीले आँट गरेर केही काम नगरिदिएको गुनासो गर्दै अख्तियारेदेखि नेता मिलाउने आँट भएका प्रमुख प्रशासकीय अधिकृत भनेर मानबहादुर खड्कालाई ल्याएका छन् ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू