राजनीति न हो, पस्ने, निस्कने सराबर

राजनीति न हो, पस्ने, निस्कने सराबर
सुन्नुहोस्

पहिलो नगर अधिवेशनमा बेसीशहर नपाबाट नेकपा एमालेको अध्यक्ष बन्न नपाएपछि छ नम्बरका वडाध्यक्ष भोजबहादुर रिमालले एमाले भनेको सामन्ती, शोषकको पार्टी भएकाले आजैको मितिबाट साधारण सदस्यसमेत नरहने गरी परित्याग गरेको भन्दै ०७२ कात्तिक ९ गते विज्ञप्ति जारी गरे ।

एमालेको राम्रो गढ मानिएको बेनपा–६ उनैको कारण एमालेका थुप्रै कार्यकर्ता भड्किए । स्वतन्त्र बने । पछि घण्टीतिर लागे र ०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्रका प्रकाश थापाले अध्यक्ष जिते । त्यो एउटा वडा मात्रै बिग्रँदा एमालेले जित्ने प्रदेशको निर्वाचनसमेत हार्न पुग्यो । एमाले परित्याग गरेको विज्ञप्ति निकाल्दै सामाजिक सञ्जालमार्फत तथानाम गर्ने उनै

भोजबहादुर रिमाललाई उपमहासचिव पृथ्वी सुब्बा गुरुङले च्यापेपछि बेनपा नगर कमिटीको अध्यक्ष बनेका छन् ।सहमति भंग भएपछि गुरुङइतरबाट प्रतिस्पर्धा गरेका कार्यवाहक अध्यक्ष सरोज बराल ८४ मतले पराजित भए । कुनै बेला निकै उग्र कांग्रेसी र तरुण दल लमजुङका सचिव द्वारिका मिश्र लमजुङका पिलर नै थिए । सुन्दरबजार कृषि क्याम्पसमा हुलदंगा हुँदा वामपन्थी विद्यार्थीको टाउको फुटाउन उनको महत्वपूर्ण हात रहन्थ्यो ।

तर, उनै मिश्र अहिले सुन्दरबजार नगरपालिका कमिटीको अध्यक्ष बनेका छन् । कांग्रेसबाट विद्रोह गरी प्रतिनिधि सभा, प्रदेश सभा, मेयर र उपमेयरमा समेत प्रतिस्पर्धा गरेका मिश्र गत स्थानीय निर्वाचनमा उपमेयर हारेपछि एमाले प्रवेश गरेका थिए । जहाँ हुँदा पनि निकै सक्रिय मिश्रले जिल्ला समन्वय प्रमुखसमेत भइसकेका लोकराज पाण्डेलाई फराकिलो मतान्तरले पराजित गरेका छन् । खगराज प्यानलबाट प्रतिस्पर्धी बनेका पाण्डेले जम्मा ४० मत मात्र प्राप्त गरेका थिए । सुन्दरबजार नगरकमिटीको तेस्रो अधिवेशनबाट अध्यक्षमा द्वारिकाप्रसाद मिश्र, उपाध्यक्ष जयराम रेग्मी, सचिव सूर्यकान्त अधिकारी र उपसचिव नवीनकुमार श्रेष्ठ, महिलामा विष्णु श्रेष्ठ विजयी बनेका छन् । 

मध्यनेपालमा खगराज पक्षका भनेर चिनिएका अनेरास्ववियु पूर्व जिल्ला अध्यक्ष सुमन श्रेष्ठलाई पिएस ग्रुपले आफूतिर मिलायो । अधिकारी गुटबाट एक्लै भए पनि प्रतिस्पर्धामा उत्रन खोजेका सुमनले उपमहासचिव गुरुङतिरबाट अध्यक्ष पाइने भएपछि छिमेकी पालिकाका नेताको साथ छाडिदिए । पिएसको खास मान्छे ठानिएका सूर्यबहादुर गुरुङले एकपटक अध्यक्षको चाहना राखे पनि अन्ततः उनी ब्याक भए । 

लमजुङको आठै पालिकाका इञ्चार्ज तथा केन्द्रीय सदस्य पूर्वमाननीय जमिन्द्रमान घलेको पालिका मस्र्याङ्दीमा पनि सहमति हुन सकेन । सिंगै जिल्ला कमिटी, उपमहासचिव, केन्द्रीय सदस्यलगायत लाग्दा पनि खगराज अधिकारी खेमाले आफ्नो बीउ जोगाइछाड्यो । चित्रबहादुर घिमिरे गुरुङ गुटविरुद्ध उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिए । १० मत मात्रै प्राप्त गरेका उनलाई पराजित गर्दै प्रेमबहादुर बस्नेत मस्र्याङ्दी गाउँपालिका कमिटीको अध्यक्ष बने । 

अरू पालिकामा त स्वाभाविक होला तर पिएसको आफ्नै पालिका क्व्होलासोथरमा समेत विवाद मिलाउन नसक्दा चुनाव नै गराउनुपर्‍यो । गत हप्ता मात्रै सम्पन्न सो पालिकाको अधिवेशनमा गंगा घले र गंगालाल गुरुङबीच प्रतिस्पर्धा चल्यो । पिएस समूहको पूरै समर्थन घलेलाई रहे पनि गंगालाल गुरुङले ३१ मत प्राप्त गरे भने घलेले ६४ मत ल्याएर विजयी बने । घलेको अध्यक्षतामा ४१ सदस्य गाउँकमिटी चयन गरिएको छ । 

लमजुङका आठ स्थानीय निकायमध्ये चारमा चुनावी प्रतिस्पर्धा र चारमा सहमति गराएर एमालेले अधिवेशन सकाएको छ ।कुनैबेला एमालेको शिला खोज्नुपर्ने कांग्रेसको पकड क्षेत्र मानिएको दूधपोखरीका थुप्रै कांग्रेसी अहिले एमाले बन्दै छन् । ०८४ मा तलमाथि नभए एमालेले सो पालिका पनि जित्ने रणनीतिसहित घनबहादुर गुरुङको अध्यक्षमा यही वैशाख २१ गते ३१ सदस्य गाउँपालिका कमिटी सर्वसम्मत चयन गरेको छ भने दोर्दी पालिकामा दिलबहादुर गुरुङ, राइनास नगरकमिटीमा बलराम घिमिरेलाई अध्यक्ष छानेको छ । 

– अञ्जनकुमार 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू