ए समाज, यसमा मेरो के दोष ?
संसारमा दुई मात्र लिंगी छन्, नर र नारी । यो बीचमा तेस्रोलिंगी पनि हुन्छ भन्ने कुरा मकवानपुरको एउटा दुर्गम गाउँ/समाजलाई त्यस समयमा थाहा हुने कुरै थिएन । साढे चार दशकअघि जन्मिएँ हेटौंडामा । परिवारको जेठो सन्तान । घरकी जेठी छोरी । म पछि छन् २ भाइ र एक बहिनी । प्रारम्भिक शिक्षा हेटौंडाकै सरकारी विद्यालयबाट । बुवा प्रहरी, काका आर्मीको जागिरे । सुरक्षाकर्मी भएकै कारण बुवा अनुशासनमा हिँडाउन खोज्नुहुन्थ्यो तर ममा अलि बढी नै विद्रोही स्वभाव हुर्कंदै थियो । अहिले त छोरीले थाइ कट काटेको, जिन्स पाइन्टमा हिँडेको यो समाज सहँदैन, कुरा काट्छ । चार दशकअघि नै समाजमा अरुका छोराहरू जसरी हिँड्थे, उसैगरी हिँडिदिन्थेँ । त्यो बेला गाउँ/घर/समाजमा पाच्य हुने कुरै थिएन । छोराहरू जसरी स्वतन्त्र हुन्थे म पनि त्यसैगरी हिँड्न चाहन्थेँ । तर, घर/परिवारले तँ छोरी होस्, तैँले फ्रक वा घाँगर लगाउनुपर्छ भनेर बन्देज लगाउन खोज्थ्यो । उहाँहरूको दबाब रहन्थ्यो । उमेरका सिँढीहरू जति चढ्दै जान्थ्यो यस्ता दबाब उति नै झेल्नुपथ्र्याे । तर, कहिले बुझेनन्बु/झ्न खोजेनन् वा सकेनन् । हुन त कसरी बुझ्नु बुवा, आमा वा समाजले मेरो चाहना वा संवेदनालाई ? लैंगिक हिसाबले यो समाजले नर र नारी जाति मात्र भनेर बुझ्दै आएको छ । यो बीचमा अर्काे पनि जाति हुन्छ भनेर बुझ्ने झम्मार किन कोही गरोस् ?
उमेरका सिँढी चढ्दै गएँ । महिलाको यौनांग लिएर जन्मेको थिएँ म तर मन महिलाप्रति नै जान थाल्यो । थाहा थिएन, मेरो सक्कली परिचय, अरुले भन्थे यो केटी भएर केटाजस्तो छे ! जब परिपक्व हुँदै थिएँ, केटाले आकर्षण गर्न सकेनन्, ती मेरालागि आकर्षणका विषय बनेनन् जति केटीप्रति आकर्षित हुन्थेँ । बालापनमा भाँडाकुटी खेल्दा पनि बूढा भएर खेलें, बिहे गरेर दुलही ल्याएँ । खै किन केटीहरूसँग आकर्षित भएँ/हुन्थेँ । समाजले पढेन मेरो प्राकृतिक व्यवहार किन ? बिहे गरेर पराई घर जान मन लागेन । बालबच्चा जन्माएर आमा बन्न मन लागेन । कुनै केटीले मुसुक्क हाँसेको साह्रै राम्री लाग्छ । उसले मिलाएर लाएको रेशमी कुर्ता सलवार, चिटिक्क परेको गाजली आँखाले मोहित पार्छ । उसको नारीसुलभ शारीरिक बनावट, बारुले कम्मर जसरी अरु केटालाई मन पर्छ मलाई पनि मन पर्छ । जाने बुझेदेखि घरपरिवार र समाजसँग यसैमा विद्रोह गरेँ, गरिरहेछु । लडिरहेकै छु समाजसँग । १६ वर्षको उमेरमा एसएलसी पार लगाइयो । घरमा विवाहको कुरा आइरहन्थे तर म बिहे गरेर अरुको घरमा जाने होइन मैले नै बरु ४/५ जना बुहारी भित्र्याउँछु भन्थेँ । एक पटक केटा हेर्न आयो । एकै नजरमा उसले मन परायो तर मैले स्वीकार गरिनँ कारण मलाई पुरुषप्रति कुनै आकर्षण थिएन । विवादका बीच बुबाले ढलोटको अम्खोराले हिर्काउनुभएको छ ।
एसएलसीपछिको फुर्सदको दिन पत्रिका पल्टाइरहेको थिएँ, त्यत्तिकैमा महिलाप्रति महिला आकर्षण र पुरुषप्रति पुरुष आकर्षण भन्ने हेडिङमा विज्ञापन देखँे । त्यही विज्ञापनलाई पछ्याउँदै काठमाडौं भित्रिएँ, त्यो संस्थाको ठेगाना थियो ज्ञानेश्वर, त्यहीं पुगेँ । त्यहाँ महिलाको वेशभूषामा देखिन्थे, आवाज पुरुषको । जम्मा दुई दिन मात्र गएँ उक्त कार्यालयमा । त्यसपछि फर्किएँ हेटौंडा ।
उमेर हुर्कंदो थियो, बुबाआमा घरपरिवार र समाजसँगको विद्रोह जारी थियो । केही समयपछि फेरि भित्रिएँ यही खाल्डोमा । एक जना दिदीसँग बस्ने गरी । म आफू के हुँ ? को हुँ ? परिचय खोज्दै थिएँ । कतै मानसिक रोग पो हो कि भनेर डाक्टरकहाँ पुगेँ, ती भन्थे, केटी मान्छे केटीसँग आकर्षित हुनु भनेको मानसिक रोग हो भन्यो डाक्टरले समेत तर यो प्राकृतिक कुरा रहेछ । कति अज्ञानतामा उपचार गर्छौं हामी । ब्लुडाइमण्ड सोसाइटी संस्थामा रिसेप्सनिष्टको रूपमा केही समय काम गर्दा धेरै कुरा सिक्ने र जान्ने अवसर पाएँ । त्यो संस्थाले पुरुषको अधिकारका लागि काम गथ्र्यो । ब्लु डायमण्ड सोसाइटीमा आबद्ध रहेर काम गर्न थालेपछि बल्ल म आफू को हुँ चिन्न सकेँ अर्थात् म समलिंगी रहेछु भन्ने चाल पाएँ । आज कतिपय घरघरमा झगडा छ, हिंसा छ । यस्तो हिंसाको कारण कतै जोडीमध्ये एक जना समलिंगी भएका कारण त भइरहेको छैन ? यो अध्ययनको विषय होइन ? मान्छेहरूले दुई जात नर र नारी मात्र हुन्छ भनेर बुझेका छन् ।
यहीभित्र लैंगिक तथा यौनिक अल्पसंख्यकभित्र लेस्बियन (महिला समलिंगी), गे (पुरुष समलिंगी), बाइसेक्सुअल (उभयलिंगी), ट्रान्सजेण्डर (पारालिंगी पुरुष/महिला), इन्टरसेक्स (अन्तरलिंगी), क्युइअर (समयोनी सम्पर्क गर्ने), असेक्सुअल (प्रत्यक्ष लिंग वा लैंगिक इन्द्रीय नभएको) आदि समुदाय पर्ने गर्छन् जसलाई छोटकरीमा एलजिबिटीआइक्युए प्लस भनिन्छ । समलिंगी मान्छेको रूपमा खुला समाजमा परिचय स्थापित गर्न धेरै आरोह/अवरोह पार गरेको छु । यो समाजले दिएको तिरस्कार, घृणा र चोट सहेको छु । म जन्मजात स्त्री तर प्राकृतिक रूपमै पुरुष पहिचान बोकेर हिँडिरहेको छु । यसमा मेरो के दोष ? जतिखेर कलेज पढ्दै थिएँ मजस्तै धेरै साथी घरपरिवार र समाजको घरले पहिचान लुकाएर कसैकी श्रीमान् वा श्रीमती बनेर जिन्दगी गुजार्न बाध्य छन् । शहरमा आएपछि आफ्नो परिचय र पहिचान त पाए तर यहाँका सबै मान्छे कहाँ प्रिय छन् र ? केटी मान्छेलाई एक्लै कोठा भाडा नदिने शहरका घरबेटीले समलिंगी भनेर चाल पाउँदा ढोकैबाट छिर्न नदिने गरेको पनि भेटियो, देखियो । विद्यालय तह सकिएपछि काम खोज्ने क्रममा सिलाइबुनाइको तालिम लिन थालें । तर, काममा फिटिक्कै मन गएन । सिलाइबुनाइमा मन गएन तर त्यहाँ काम गर्ने मीरा बज्राचार्यसँग मन साँटिन पुग्यो । उनको र मेरो कथा–व्यथा उस्तै । हामी यतिधेरै नजिकियौँ कि एक बिना अर्काे बाँच्न नसक्ने स्थितिमा पुग्यौं । हाम्रो प्रेमबारे घरपरिवार जानकार नहुने कुरै थिएन । यही प्रेम सम्बन्ध थाहा पाएपछि घर परिवारले दिने तनावबाट हैरान भएका हामी भागेर काठमाडौं आयौं ।
मीरासँगै जीवन बिताउन थालेको पनि दुई दशक व्यतित भइसक्यो । तर, समाजमा अझै पनि हाम्रो सम्बन्धलाई मान्यता दिइएको छैन । हाम्रो जोडीलाई परिवार र समाजले स्वीकार गरेन । एकातिर परिवारको टोकसो त छदै छ अर्काकी छोरी भगाएर ल्याएको भन्दै प्रहरीमा उजुरी दिए । अनेकौं संघर्ष र हण्डर भोगियो । जति दुःख कष्ट भोगियो उति नै स्पातिलो बनियो । दुःख दुःखजस्तो लाग्न छाड्दै थियो कारण साथमा माया गर्ने साथी थियो (थिइन्) । यो महँगो शहरमा एक ज्यानबाट दुई वटा ज्यान भएका थियौँ हामी । न खाना खाने पैसा हुन्थ्यो गोजीमा, न त डेरा भाडा । कहिले एक किलो चामल किन्ने पैसा गोजीमा हुँदैनथ्यो, कहिले बिग्रिएको स्टोभ बनाउने पैसा नभएर भोकै सुत्यौं । यस्ता संघर्षपूर्ण दिन हाम्रालागि प्रिय छन् । शुरु शुरुमा त हामीलाई श्रीमान्–श्रीमती नै ठान्थे घरबेटी । म प्रायः सर्ट पाइन्ट र थाइकटमा हुन्थेँ । घरबेटीले केटा नै ठाने केही महिना । जब पहिचान खुल्यो अनि निकाले । यसरी घरपरिवार र समाजसँगको लडाइँ जारी थियो । जबदेखि म साथीसँग काठमाडौंमा बस्न थालेँ झण्डै सात वर्ष घरपरिवारसँग सम्पर्कविहीन रहेँ । म चाहन्थेँ केही उदाहरणीय काम गरेर परिवारलाई खुशी बनाउनेछु अनि मात्र घर फर्कनेछु । शुरुमा मैले जन्माएको बच्चा आज यस्तोसम्म भयो, यही दिन देख्न रहेछ बरु मरेको भए पनि हुन्थ्यो भन्नुहुन्थ्यो । त्यही कारण म केही काम गरेर देखाउन र घर फर्कन चाहन्थेँ ।
१७ वर्षको उमेरमा हामीबीच प्रेम सम्बन्ध शुरु भयो । त्यसपछि घरपरिवार र समाजबाट बहिष्कारमा पर्नुपर्यो । यही बीचमा समाज, प्रशासनबाट उस्तै सास्ती भोग्यौँ । ०६२ वैशाखमा सम्बन्ध कायम गरिपाऊँ भनी काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थियौँ तर फारम भर्न जाँदा त्यहाँका कर्मचारीले खिल्ली उडाए । त्यसपछि ०६५ चैतमा राहदानी सिफारिसका लागि वडामा निवेदन दिँदा वडासचिवले यस्तो विवाहितलाई सिफारिस गर्न मिल्दैन भन्दै फर्काइदिए । यही बीचमा जन्मियो मितिनी नामक संस्था । हामी दुवै लैंगिक तथा अल्पसंख्यक समुदायको अधिकारनिम्ति काम गरिरहेको संस्था ‘मितिनी नेपाल’का संस्थापक, हाम्रो सम्बन्धलाई कानुनी मान्यता दिलाउन संघर्षरत छौँ । नेपालीमा एउटा उखान नै छ नि, दुःख पाउँदा मितिनी । शुरुमा मितिनी सपोर्ट गु्रप नामबाट काम गर्यौँ । २ पुरुष र ७ जना महिला मात्र मितिनी सपोर्ट ग्रुपमा संलग्न थिए । सन् २०५९ मा शुरु गरेको सपोर्ट गु्रपलाई २०६२ मा मितिनी नेपाल नामक गैरसरकारी संस्थाका रूपमा स्थापना गर्न सफल भइयो । महिला समलिंगीहरूको समान हक अधिकारका साथै सामाजिक जागरण तथा सचेतनामूलक कार्यक्रम गरिरहेको छ यो संस्थाले । यसका अलावा लेस्बियन महिलाका लागि मितिनी नेपालले सीप विकास तथा आयआर्जन तालिमअन्तर्गत आभूषणका सामग्री निर्माण, सिलाइ बुनाइ, ड्राइभिङ, सौन्दर्यकलासम्बन्धी तालिम, कफी तयारी, च्याउखेती तथा मैनबत्ती उत्पादनजस्ता तालिम दिइरहेको छ ।
०७८ को जनगणनाअनुसार, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको जनसंख्या २, ९२८ देखिएको छ, जुन कूल जनसंख्याको ०.०१ प्रतिशत हुन्छ । कूल अन्य लिंगीमध्ये प्रदेशअनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा ३२.७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा २.८ प्रतिशत देखिन्छ । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई १२ औं राष्ट्रिय जनगणना २०७८ को मुख्य प्रश्नावलीमा समुदायका व्यक्तिहरूको विवरण जैविक लिंगको आधारमा पुरुष वा महिलाअन्तर्गत घरपरिवार सूचीकरणमा मात्र गणना गरिएको छ भने समुदायलाई अन्यको रूपमा मुख्य प्रश्नावलीमा समावेश गरिएको थिएन । त्यही कारण यो लिंगीको जनसंख्या कम देखिएको हो । मितिनी नेपाल र महिला विकास मञ्चले नेपाल सरकार, कानुन मन्त्रालय र संघीय संसद्लाई विपक्षी बनाएर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि वैवाहिक समानताको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थियौँ । असार १३ गते तिलप्रसाद श्रेष्ठको एकल इजलासले समलिंगी विवाह गर्ने जोडीले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गरिदिन आवश्यक व्यवस्था गरिदिन अन्तरिम आदेश जारी गरेसँगै नेपालमा समलिंगी विवाहले कानुनी मान्यता पाएको छ ।
विश्वका ३४ वटा देशमा मात्र समलिंगी विवाहलाई कानुनी मान्यता दिएको छ । यस्तो विवाहलाई कानुनी मान्यता दिने नेपाल पछिल्लो मुलुक हो । समलिंगी विवाहले कानुनी मान्यता पाएसँगै जोडी माया गुरुङ र सुरेन्द्र पाण्डेले लमजुङको दोर्दी गाउँपालिकामा औपचारिक रूपमा दर्ता गरे, उनीहरू यस्तो विवाह गर्ने पहिलो नेपाली जोडी हुन् । यसैगरी, कैलालीको कैलारी गाउँपालिका–८ का प्रकाश चौधरी र दाङको तुलसीपुर उपमहानगरपालिका– १ की मनिला न्यौपानेले समलिंगी विवाह गरेका छन्, गत पुसमा । स्याङ्जा वालिङकी अञ्जुदेवी श्रेष्ठ (दिप्ती) र तनहुँको सुप्रिता गुरुङलगायतले समलिंगी विवाह गरेका छन् । महिलाको यौनांग लिएर जन्मे र महिलालाई नै मन पराएर उनैसँग बसेकै कारण झण्डै ज्यानै गुमाउनुपरेको दिन सम्झन्छु । तैपनि खाइएन हार । आफ्नो अस्तित्व रक्षाका लागि परिवार तथा समाजसँग लड्यौँ । ज्यान जोगियो आज समलिंगी विवाहलाई मान्यता दिनुपर्छ भन्दै राज्यसँग लड्यौं र सफलता पनि पाएका छौं । खुशी लागेको छ ।
– लक्ष्मी घलान, अध्यक्ष मितिनी नेपाल
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू